|

इटहरी : उपमहानगरपालिकाले सिलाइकटाइ सिप सिकेका २० महिलालाई सिलाइ मेसिन प्रदान गरेको छ।

उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले महिलाहरूलाई सिलाइ मेसिन हस्तान्तरण गरिन्। इटहरी उपमहानगर–५ बाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमका ७ वटा गरी २० वटा सिलाइ मेसिन वितरण गरिएको हो।

सम्वृद्धि हेल्भेटास परियोजना अन्तर्गत ६५ दिने टेलरिङ तालिमको समापनमा मेसिन हस्तान्तरण गरिएको हो। तालिम हेल्भेटासको प्राविधिक सहयोगमा मल्टि स्किल एन्ड इन्भारोमेन्ट प्रालिले इटहरीमा सञ्चालन गरेको थियो।

महिलालाई सिप सिकाएर मेसिनसमेत प्रदान गरेर गरिखाने बनाउने लक्ष्य राखिएको उपमेयर लक्ष्मी गौतमले बताइन्। उनले सिकेको सिप प्रयोग गरेर ६ महिनामा रोजगार बन्न आग्रह गरिन्।

वडा–५ का वडाध्यक्ष कल्याणबहादुर कार्कीले सिप सिकेका महिलाले उत्पादन गरेका कपडाको बजारीकरणमा सघाउने वचन दिए। सम्वृद्धि हेल्भेटास परियोजनाका टिमलिडर बालमुकुन्द न्यौपानेले हातमा सिप भएको मान्छे कहिल्यै भोको बस्नु नपर्ने बताए।

आयोजक मल्टिस्किलका प्रशिक्षक निर्मला मैनाली र सुमित्रा विश्वकर्माले तालिम दिएका थिए। समापनमा विकास खनाल,वडा सदस्य टीका बस्नेत र प्रशिक्षार्थी सुभद्रा ढुंगेलले पनि अभिव्यक्ति दिएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.