|

पर्वत : नेकपा एमालेका सचिव तथा प्रचार विभागका प्रमुख योगेश भट्टराईले एमालेबाट बाहिरिएका माधव नेपाल ‘होम सिक’ भएपछि आफूले छोडेर गएको घरमा फर्किने बताएका छन्।
 

प्रेस चौतारी नेपाल, कास्कीले शुक्रबार बिहान पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले नेकपा (एकीकृत समाजवादी)मा गएका सबै नेताहरूले अब बिस्तारै सपनामा पनि एमाले नै देख्ने र एमालेमा रहँदा भएका सबै पलहरू स्मरण गरिरहने उल्लेख गरे।

‘माधवजीले आगामी दिनमा अब सपना देख्नुहुन्छ। सपनामा एमालेसँगै बसेको, सँगै खाएको, सँगै हिँडेको, यो एमाले भन्ने कुरालाई मज्जाले काखमा राखेको र मनोरञ्जन गरेको नै देख्नु हुन्छ,’ उनले भने, ‘यसको मतलब अब माधव नेपाललाई होम सिक हुन्छ, होम सिक भएपछि मान्छे घर फर्किन्छ। अब नेपाल र उहाँका तमाम साथीहरूले दिनदिनै सपनामा त्यही देख्नु हुन्छ।’ 

होम सिक (घरको यादमा विचलित भएको वा विक्षिप्त बनेको अवस्था) भएको व्यक्ति घरमा फर्किएपछि उसको सिकनेस निको हुने भएका कारण नेता नेपालसहितका अन्य नेताहरू पनि एमालेमै फर्किने भट्टराईको दाबी छ। एकीकृत समाजवादीमा गएकाहरूलाई एमालेमै फर्किनुबाहेकको विकल्प नरहेको बताउँदै उनले  विभाजनको असफल प्रयत्नतिर नजान अपिल गरे। अहिलेको फुटले कम्युनिस्ट आन्दोलनलाई विभाजन गर्ने बाहेक त्यसले अरू कुनै फाइदा नदिने बताउँदै सचिव भट्टराईले पार्टी फुट्न हुन्न भन्ने पक्षधरका नेताका कारण एमालेमा पाँच प्रतिशत मात्रै क्षति भएको दाबी गरे।

अर्को प्रसङ्गमा बोल्दै सचिव भट्टराईले फेरि पनि एमालेकै सरकार बन्ने दाबी समेत गरेका छन्। वर्तमान सरकार असफल भइसकेको र बजेट होल्डका कारण आर्थिक र वित्तीय अनुशासनविहीन अवस्थामा मुलुक रहेकोमा दुःख व्यक्त गरे। सरकार निर्माण भएको ६५ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुले नै सरकारको असफलता र असक्षमता पुष्टि गरेको उनको दाबी छ। उनले सत्ता गठबन्धनमा रहेका दलको एमसिसिबारे आधिकारिक धारण बाहिर ल्याउन समेत माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.