|

काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले डडेलधुराको वडा अधिवेशन पुनः गराउन माग गरेको छ।

बिहीबार पार्टी कार्यालय सानेपामा पुगेको पौडेल पक्षले निर्वाचन समितिलाई भेटेर पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेलधुराको वडा अधिवेशन पुनः गर्नुपर्ने माग राखेको हो।

पत्रकारसँगको संक्षिप्त कुराकानीमा वरिष्ठ नेता पौडेलले डडेलधुरासहित देशका विभिन्न ठाउँमा समस्या आइरहेकोले त्यसको समाधान न्यायोचित ढंगले हुनुपर्ने बताए। उनले सभापति देउवालाई तत्काल बैठक बोलाएर विवाद टुंग्याउन भने पनि सुनुवाइ नगरेको आरोप लगाए।

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले डडेल्धुरामा पुनः चुनाव नहुने बताए। उनले हजारौँ संख्यामा सुरक्षाकर्मी परिचालन गरेर डेमोक्रेसी बिपरित चुनाव गराइएको तर पुनः चुनाव हुने सम्भावना आफूले नदेखेको बताए।

उनले भने,‘डडेल्धुरामा जुन काण्ड भयो, त्यसको बारेमा हामीले सोध्यौँ, त्यहाँ हजारौँ पुलिस अफिसर गए, त्यो प्रजातन्त्रको पक्षमा भएन, भन्ने कुरा राख्दा उहाँहरूले पनि मान्नुभयो, ठीक भएन भन्नुभयो,अब फेरि चुनाव हुनसक्ने सम्भावना म देख्दिन।’

नेता डा. शेखर कोइरालाले डडेल्धुरामा भएको घटना ७५ वर्षे नेपाली कांग्रेसको इतिहासमै नभएको बताए। उनले जिल्लाको वडा अधिवेशनमा जिल्ला सभापति र जिल्लाका दुई तिहाइ सदस्य बिना अधिवेशन गरिनु दुर्भाग्य भएको बताए।

पौडेल समूहले क्रियाशील सदस्यको विवादसम्बन्धी समस्या समाधान नगरी देउवाले डडेल्धुरामा वडा अधिवेशन गराएको भन्दै आपत्ति जनाउँदै आएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.