|

काठमाडौं : भारतको झारखण्ड र उत्तरप्रदेशका मानसिक अवस्था कमजोर भएका दुई महिला हराएको एक जुग नै अर्थात १२ वर्ष भइसकेको थियो। एउटी महिला सन् २००९ देखि हराइरहेकी थिइन् भने अर्की सन् २०१३ देखि।

 दुवै महिला हराएर नेपाल आइपुगेका थिए। नेपाल आएका उनीहरूलाई नेपाल प्रहरीले काठमाडौंको आश्रममा राखेको भारतीय सञ्चारमाध्यम दैनिक भाष्करले जनाएको छ। उसले नेपालमा उनीहरूलाई १२ वर्षसम्म सुरक्षा मात्र दिएको नभएर मानसिक रोगको उपचारसमेत गरिदिएको उल्लेख गरेको छ।

मानसिक रोग निको भएपछि उनीहरूले आश्रममा आफ्नो घरबारे केही जानकारी दिए। त्यसपछि काठमाडौंस्थित भारतीय दूतावासबाट सुरु भएको प्रक्रिया हरियाणा अपराध शाखाका सहायक सब–इन्सपेक्टरसम्म पुग्यो। अन्तत: उनीहरू दुवै जना सेप्टेम्बर ४ मा घर फर्किए।

यस मामिलामा मुख्य भूमिका निर्वाह गर्ने दुवै जनाका परिवारका सदस्य र सब-इन्स्पेक्टरले भास्करलाई उनीहरू हराएदेखि नेपालको सुरक्षित बसाइ र उपचारसम्मका सबै बेलिविस्तार लगाएका छन्।

पहिलो कथा बरेली जिल्लाको रुधौली गाविस निवासी सुनिताको हो। उनका छोरा अच्युका अनुसार...

मेरी आमा सुनितादेवी ६० वर्षकी हुनुभयो। उहाँको मानसिक अवस्था राम्रो नभएकाले अक्सर यताउता हिँडिरहनुहुन्थ्यो। चिनेजानेकाहरूले परिवारलाई आमाको बारेमा बताउँथे र हामी घर लिएर आउँथ्यौं।

एक पटक उहाँ गाउँबाट पैदलै बरेली जानु भएको रहेछ। त्यहाँबाट पनि हामीले घर फिर्ता ल्याएका थियौं। तर, सन् २०१३ पछि आमा हराउनुभयो। उहाँ कहाँ जानुभयो कति खोजी गर्दा पनि हामीले थाहा पाउन सकेनौं।

त्यसपछि हामीले उहाँलाई खोज्न यथासक्य कोसिस गयौं तर कतै पनि भेट्टाउन सकेनौं। आमासँग फेरि भेट होला भन्ने आस हामीले मारिसकेका थियौं। भारतबाट नेपालमा कसरी पुग्नुभयो, हामीलाई केही अन्दाज छैन।

यसै वर्ष मे २१ मा मलाई अचानक हरियाणा अपराध शाखाबाट फोन आयो। एक जनाले आफ्नो परिचय सहायक सब–इन्सपेक्टर राजेश कुमारको रूपमा दिनुभयो। उहाँले मसँग भन्नुभयो, 'तपाईंकी आमा काठमाडौँको एक आश्रममा भेटिनु भएको छ। आश्रमले हामीसँग उहाँको पहिचानका लागि आधार कार्ड र अरू कागजपत्र मागेको छ।'

त्यसपछि सहायक सब–इन्सपेक्टर कुमारले नै हामीलाई आमासँग भिडियो कल गर्ने व्यवस्था मिलाइदिनु भयो। त्यसपछि आमा बाँचेकै हुनुहुँदो रहेछ भनेर हामीले थाहा पायौं। उहाँसँग भिडियो कल गर्न पाउँदा हाम्रा आँखाबाट हर्षका आँसु तप्प खसे।

आमालाई सेप्टेम्बर ३ मा उडानबाट काठमाडौंबाट दिल्ली ल्याइएको रहेछ। सहायक सब–इन्सपेक्टर कुमारजीले हामीसँग आमा लिन दिल्ली आउनुपर्छ भन्नुभएको थियो। मैले भनेँ, 'म कहिल्यै दिल्ली गएको छैन। त्यहाँसम्म जाने भाडा पनि छैन।'

तर, कुमारजीले भन्नुभयो, 'चिन्ता नगर्नुहोस्, तपाईंको साथमा एक जना प्रहरी पनि हुने छन्।' त्यसपछि म हाम्रो प्रहरी चौकीबाट एक जना प्रहरीसँग दिल्ली गएँ र आमालाई लिएर घर फर्किएँ।

आफूलाई आश्रममा लगेको आमाले प्रहरीसँग बताउनु भएको थियो। आमालाई आश्रममा उपचार गरिएको थियो। उपचारपश्चात् मानसिक स्थिति सामान्य भएपछि आश्रमका व्यक्तिलाई आमाले आफ्नाबारेमा बताउनु भएको थियो।

त्यसपछि उनीहरूले आमालाई परिवारको जिम्मा लगाउन भारतीय दूतावाससँग सम्पर्क गरेका थिए। नेपालको आश्रममा हुँदा सुनिताको नाम लीलावती थियो। सबैले उनलाई लीलावती भनेर बोलाउँथे।

दोस्रो कथा झारखण्डको लोहारडागा ग्राम पञ्चायत बस्ने एताब्रियाको हो। उनका भिनाजु विजयका अनुसार...

सुनिताजस्तै झारखण्डको लोहारडागा ग्राम पञ्चायतको मस्मोना गाउँकी एताब्रिया उराव पनि १२ वर्षदेखि बेपत्ता थिइन्। एताब्रिया ३२ वर्षकी भइन् । उनी विवाहित हुन्।

एताब्रियाको मस्तिष्क अलिक कमजोर छ। उनी १२ वर्षअघि आफ्ना बुवासँग इँटाभट्टामा काम गर्न गएकी थिइन्। उनी त्यहींबाट हराइन्। उनी कसरी नेपाल पुगिन् भन्ने कुरा हामीले अझै पत्तो पाउन सकेका छैनौं।

उनी अहिले कसैले नेपालमा छाडेर हिँडेको बताउँछिन्। नेपाल प्रहरीले उनीहरू दुवै जनालाई काठमाडौंको मंगला–सहाना आश्रममा लगेको थियो।

हामीलाई हरियाणा अपराध शाखाका उप–महानिरीक्षक राजेश सिंहको फोन आएको थियो। हामीले सबै कागजात रुजु गरेर परिचयपत्र प्रमाणित गरेपछि उनलाई घर लिएर गयौं।

१२ वर्षपछि उनी गाउँ फर्कंदा उनलाई भेट्न गाउँलेको ताँती लागेको थियो। उनी घर फर्केकी छन् भनेर हामी अझै विश्वास गर्न सकिरहेका छैनौं।

उनीहरूलाई नेपालको आश्रममा फेला पार्न सफल भएका सहायक सब–इन्सपेक्टर राजेश कुमारका अनुसार…..

मैले हाम्रो डिजिपी कार्यालयबाट २०७१ साउन ५ गते पत्र लिएको थिएँ। यो पत्र नयाँ दिल्लीस्थित नेपाली दूतावासबाट आएको थियो। भारतबाट आएका २ महिला वर्षौंदेखि नेपालको आश्रममा बसिरहेको पत्रमा बताइएको थियो।

म राज्यको अपराध शाखाको महिला बेचबिखन शाखामा काम गर्छु। हामीले सन् २०१६ यता ५ सय ५० जना हराएका मानिस भेट्टाएर परिवारलाई सुम्पिइसकेका छौं। म बेपत्ता व्यक्तिको खोजीमा सधैं व्यस्त रहन्थें ।

दूतावासको पत्रमा दुई महिलाको नाम, उमेर र जिल्ला उल्लेख गरिएको थियो । मैले त्यसका आधारमा हराएकाको सूचना खोज्न थालें। उनीहरूको एक-अर्काको लिंकअनुसार उनीहरूको परिवारको खोजी गर्न थालें। परिवारसँग उनीहरूको भिडियो कलपछि कानुनी प्रक्रिया पूरा गरेर सेप्टेम्बर ४ मा हामी सुनिता र एताब्रियालाई उनीहरूको परिवारलाई सुम्पिन सफल भयौं।

कुमारका अनुसार दुवै महिला फेला पार्न यति धेरै समय लाग्ने दुई कारण थिए। पहिलो, दुवै जनाको मानसिक स्वास्थ्य कमजोर हुनु र दोस्रो, दुवैका परिवारले उनीहरूलाई खोज्ने प्रयास नगर्नु।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.