|

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले प्रमुख भन्सार विन्दुहरुमा यथाशीघ्र भेइकल स्क्यानर जडान गर्न निर्देशन दिएका छन्।

भन्सार विभागले आयोजना गरेको दुई दिने भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री शर्माले भेइकल स्क्यानर जडानको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएका हुन्। भेइकल स्क्यानर जडान भएपछि भन्सार विन्दुमा आउजाउ गर्ने सवारी साधनमा लोड भएका मालवस्तु ‘म्यानुअल्ली’ चेकजाँच गर्नुपर्दैन। उनले मालवस्तुको वर्गीकरण र मूल्याङ्कनमा इमान्दारी कायम गरी राजस्‍व संकलन वृद्धि गर्न कर्मचारीहरुलाई आग्रह गरे।

कार्यक्रममा अर्थसचिव मधु कुमार मरासिनीले भन्सार प्रशासनले तीन ‘स’ को अवधारणामा काम गर्न आग्रह गरे। सुधार, सहजीकरण र सुशासनको अवधारणालाई आत्मसात गरी काम गर्नुपर्नेमा जोड दिए। उनले सरुवाको लागि कुनै पनि  दल, नेता वा संगठनको फोन लगाउने कार्य तत्काल बन्द गर्न निर्देशन दिए। सरुवाको लागि फोन गराई दबाब सृजना गर्ने कर्मचारीहरुको माग सुनुवाई नहुने स्पष्ट पारे।

‘त्यसरी फोन सोर्सफोर्स लगाउने कर्मचारीले आफ्नो इन्टिग्रेटीमा कम्प्रोमाईज गरिसकेको हुन्छ, इन्टिग्रेटी गुमाइसकेका कर्मचारीले कस्तो काम गर्छन् त्यो आफैँ बुझ्नुहुन्छ’ अर्थमन्त्री शर्माले भने।

राजस्‍व सचिव कृष्णहरि पुष्करले सेवाग्राहीले कर्मचारीको इमान्दारीमाथि कुनै पनि प्रकारका प्रश्न उठाउन नसक्ने गरी काम गर्न निर्देशन दिए। भन्सार विभागका महानिर्देशक नारायणप्रसाद सापकोटाले लक्षअनुसारको राजस्‍व संकलन गरिने प्रतिवद्धता व्यक्त गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.