|

सुर्खेत : कर्णाली प्रदेशमा आत्महत्याका घटना बढ्दै गएका छन्। पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णाली प्रदेशभर एक हजार तीनसय ७३ जनाले आत्महत्या गरेका छन्।

तथ्यांक अनुसार आर्थिक वर्ष २०७३/०७४ मा मात्रै दुईसय २३ जनाले आत्महत्या गरेका छन्। त्यस्तै ०७४/०७५ मा दुईसय ५५ जना, २०७५/०७६ मा दुईसय ५० जना, ०७६/०७७ मा तीनसय ८२ जना र २०७७/०७८ मा तीनसय ७२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।

ति मध्ये दुईसय ८५ जनाले झुन्डिएर आत्महत्या गरेका छन्। त्यस्तै, ७० जनाले विष पिएर, एक जनाले हातहतियार प्रयोग गरेर र ६ जनाले पानीमा हामफालेर आत्महत्या गरेका हुन्। उमेर समूहका हिसाबले पछिल्लो समय बालबालिकाहरूले पनि आत्महत्या रोज्न थालेका छन्।

पछिल्लो पाँच वर्षको अवधिमा मात्रै कर्णालीका एकसय ३३ जना बालबालिकाले आत्महत्या गरेका छन्।

जसमध्ये ०७३ सालमा १२ जना, ०७४ मा ९ जना, ०७५ मा ३५ जना, ०७६ मा ३० जना र ०७७ मा ४७ जना जना छन्। आत्महत्याको मुख्य कारण मानसिक समस्या रहेको प्रहरीको तथ्यांकले देखाएको छ।

प्रहरीको तथ्यांक अनुसार ९० प्रतिशत नागरिकले मानसिक समस्याका कारण आत्महत्या गर्ने गरेको कर्णाली प्रदेश प्रहरी कार्यालयका डीएसपी गणेश बमले जानकारी दिए।

कर्णालीमा घरेलु हिंसा, महिला हिंसा, सामाजिक सञ्जालको दुरुपयोग र दीर्घरोगका कारण अधिकांश व्यक्तिले आत्महत्याका घटना वृद्धि भएको बताए।

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले सामुहिक प्रयासबाट मात्रै आत्महत्याका घटनालाई न्यूनिकरण गर्न सकिने बताए। कुलत, घरेलु हिंसा, आर्थिक समस्या र कोरोना महामारीका कारण पछिल्लो दुई वर्षमा आत्महत्याका घटना वृद्धि भएको बताए।

मन्त्री बुढाक्षेत्रीले आत्महत्याका घटना न्यूनिकरणका लागि प्रदेश सरकारले चिकित्सको व्यवस्थापन, सामाजिक मनोपरामर्श र विभिन्न निकायसँग सहकार्य गर्दै मन्त्रालय पनि अगाडी बढेको बताए।

कर्णाली प्रदेशभर हाल तीन जना मात्रै मनोपरामर्श चिकित्सक रहेको छन्। त्यस्तै, प्रदेश स्वास्थ सेवा निर्देशनालयका निर्देशक डाक्टर रविन खड्काले बदलिँदो जीवनशैली र तनाव व्यवस्थापन गर्न नसक्दा ९० प्रतिशत आत्महत्याका घटना वृद्धि हुँदै गएको बताए। बदलिँदो जीवनशैली, बढ्दो शहरीकरण र तीव्र इच्छा शक्तिका कारण पनि मानसिक समस्या बढ्दै गएको बताए।

यसैबीच आत्महत्याका घटनालाई न्यूनिकरणका लागि सामाजिक विकास मन्त्रालयले साढे तीन सय बढी नागरिकलाई मनोपरामर्श तालिम दिएको छ। अघिल्लो आर्थिक वर्षमा रुकुमपश्चिम, सल्यान, जाजरकोट र दैलेखका १ सय ४० जना व्यक्तिलाई मनोसामाजिक परामर्श र क्लिनिकल अभिमुखिकरण दिइएको हो।

त्यस्तै, जाजरकोट, सुर्खेत र सल्यानका एकसय २० जना नागरिकलाई कोरोनासँग सम्बन्धित प्राथमिक मनोवैज्ञानिक सहयोग तथा तनाव व्यवस्थापन तालिम दिइएको छ।

सुर्खेत, दैलेख, जाजरकोट र सल्यानमा १७ जना नागरिकलाई मानसिक स्वास्थ्य तालिम दिइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य सेवा महाशाखाका प्रमुख वृषबहादुर शाहीले जनाए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.