|

भक्तपुर : भाद्र शुक्ल पक्ष चतुर्थीको अवसरमा शुक्रबार नेवार समुदायले धुमधामकासाथ चथाः पर्व मनाउँदैछन्। भगवान गणेशको जन्म दिन समेत मानिएको यस दिनलाई गणेश चतुर्थी पनि भनिन्छ।

यस दिन गणेश र चन्द्रमाको पूजा गर्नाले जीवनमा चोर दोष नलाग्ने जनविश्वास छ। त्यसैले नेवार समुदायले गणेश र चन्द्रमाको पूजा गरी धुमधामका साथ चथाः पर्व मनाउने गरेको जानकारहरु बताउँछन्।

यस दिन बेलुका चथाः गणेश र चन्द्रमाको विधिवत पूजा गरिन्छ। पूजा गर्दा विशेषगरी कमलको पातमा चथाः गणेशको तस्बिर राखेर नैवेद्य, काँक्रो, अनार, अम्बा, केरा, सुन्तला, भिजाएको काँचो केराउ, कमलको फूल, पंचपकवान, नयाँ अदुवाको बोट, मकै, भटमास, गहुँ, बदाम, मुगी, केराउ, चना, बकुल्ला समेत आठ प्रकारका भुटेको गेडागुडी चढाइन्छ। साथमा ध्यूमा भुटेको आरुको वियाँ, दुवो, कालो तिलको लड्डु र मुला चढाउँछन्। 

त्यसपछि आकाशतिर हेरेर चन्द्रमाको पूजा गरिन्छ। पूजा सकेपछि घरका सबैजना बसेर चथाः गणेशलाई चढाइएको पंचपकाव, फलफूल र भुटेका गेडागुडी प्रसादको रुपमा खाने चलन रहेको छ। प्रसाद खाइसकेपछि दहिको सगुनसहितको भोज खाइन्छ।

यस दिन चथाः गणेशको पूजा गरे खुशी मिल्ने, मनोकांक्षा पूरा हुनुका साथै सपरिवार बसेर दशैं राम्रोसँग मनाउन पाउने मान्यता छ। चन्द्रमालाई विधिपूर्वक पूजा गरे जीवनमा अनाहकमा चोर दोष नलाग्ने जनविश्वास  रहेको छ। 

यस दिन नेवार समुदायले     चन्द्रमाको पूजा गर्ने दुईवटा परम्परा छ। एक थरी समुदाय चन्द्रमाको दर्शन गर्न नहुने मान्यताका साथ घरको सबै झ्याल ढोकामा समेत पर्दा वा कपडा राखेर चन्द्रमाको प्रकाश समेत घरभित्र छिर्न नसक्ने गरी लुकेर पूजा गर्ने गर्दछन्। अर्को समुदाय, घरको आँगनमा घरका सबै सदस्य जम्मा भएर चन्द्रमाको प्रतीक्षामा बस्ने र चन्द्रमा देखा परेपछि मात्र गणेश र चन्द्रमाको पूजा गरी प्रसाद खाएर घरभित्र जाने प्रचलन रहेको छ।

राति चन्द्रमाको पूजा गर्नुको अर्थ कुनै पनि व्यक्तिको रुपरङ्ग अस्थायी र गौण हुने तथा उसका राम्रो पक्ष भनेको उसको काम हो भन्ने सन्देश समेत दिने गरेको संस्कृतिविद् तथा इतिहासविद् प्रा.डा. पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।

पौराणिक लोककथन अनुसार सत्ययुगमा एक दिन स्वर्गमा देवसभा भएको समयमा चन्द्रमाले गणेशलाई हात्तीका टाउके मुख भएको भनी ठूलो हेला र अपमान गरेछ। गणेशले सहन नसकेर रिसाएर चन्द्रमालाई तिम्रो मुख हेर्ने जो कोहीलाई चोर दोष लागोस् भनेर श्राप दिएछन्। गणेशको सोही श्रापको प्रभावले त्यस दिनदेखि चन्द्रमाको मुख हेर्ने सबैलाई चोर दोष लाग्न थाल्यो। त्यसपछि देवीदेवताहरु समेतले चन्द्रमाको मुख हेर्न छाडिदिए।

यसले गर्दा चन्द्रमाको ठूलो बेइज्जत भयो र चन्द्रमा बाहिर आउन, हिँड्डुल गर्न समेत नसक्ने अवस्थामा पुग्यो। त्यसपछि चन्द्रमा महादेवको शरणमा गयो र उनै महादेवको सहयोगले गणेशलाई दुवो, लड्डु र मुला चढाई क्षमायाचना गरे। चन्द्रमाको क्षमायाचनाबाट प्रभावित भएर गणेशले अबदेखि भाद्र शुक्ल चौथीको एक दिनबाहेक अरु दिनमा चन्द्रमाको मुख हेरे चोर दोष नलाग्ने वरदान दिए। साथै गणेशले चतुर्थीको दिन राति विधिपूर्वक चन्द्रमाको पूजा गरे उक्त दिनमा चन्द्रमा दर्शन गरेपनि चोर दोष नलाग्ने वरदान समेत दिएकाले गणेश चतुर्थीको दिन राति चन्द्रमाको पूजा गर्ने परम्परा बसेको लोककथन छ।

चथाः पर्वलाई भक्तपुरका नेवार समुदायले दशैं भित्र्याउने पर्वको रुपमा समेत लिने गरेको छ। दशैंको प्रारम्भ पर्वको रुपमा लिने भएकाले नेवार समुदायले आजको दिन विशेष गरी घरघरमा मासु भित्र्याउने चलन पनि छ। नेवार समुदायमा चथाः पर्व राम्रो भए दशैं पनि राम्रो हुने लोक मान्यता र विश्वास रहेको पाइन्छ। आजकै दिन भक्तपुरका किसानहरुले आ–आफ्ना अदुवा खेतीको पूजा गरी नयाँ अदुवा निकाल्ने प्रचलन समेत रहेको छ। 

आजकै दिन ईन्द्रजात्राका लागि भक्तपुरबाट काठमाडौंको वसन्तपुरसम्म लिंगो लैजाने परम्परा रहेको छ। इन्द्रजात्राको अवसरमा बसन्तपुरमा ठड्याउने लिंगो भक्तपुरको चित्तापोलस्थित लिंगेवनबाट लाने परम्परा छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.