|

राज्य भनिने आर्थिक–सामाजिक–सांस्कृतिक सम्बद्धताको पद्धतिले बाँधिएको कुनै खास भूक्षेत्रको सिङ्गो जनसमुदायलाई शान्ति र प्रगतिपूर्वक अनवरत सुरक्षित र सन्तुष्ट सञ्‍चालन गर्न अपनाइने नीति नै राजनीति हो। यही अटार्य सामुदायिक उपस्थिति र अनिवार्य सञ्‍चालनको आवश्यकताकै कारण एरिस्टोटलले मान्छेलाई राजनीतिक प्राणी भनेको हुनुपर्छ।

वस्तुत: यस्तो सामूहिकताबाट एउटा साझा जनअस्तित्व, शक्तियुक्त कार्यनीति र प्रकृयाको जन्म हुन्छ। जसको शक्तिपक्ष सत्ता र नीति तथा व्यवहारपक्ष राजनीति कहलाउँछ। केन्द्रदेखि तृण तहसम्मका सबै नीति र कार्यविधि यसै मातहत हुनेहुँदा कति मान्छे यसलाई राजानीति (नीतिहरूको राजा) पनि ठान्दछन्।

यस्तो राजनीति राज्यको मुख्य प्रयोजन वा उद्देश्य (भौगोलिक, ऐतिहासिक, आर्थिक, सामाजिक, सुरक्षा आदि)अनुसार कुनै खास मूल्यमा केन्द्रित हुन्छ। यसलाई मूल्यको राजनीति (भेलूबेस्ड पोलिटिक्स) पनि भनिन्छ। यसै आधारमा त संयुक्त राज्‍य अमेरिकाको राजनीतिलाई शक्तितन्त्र वा शक्तिको राजनीति (पोलिटिक्स अफ पावर वा पावर पोलिटिक्स) भनिन्छ। 

माओवादी र सरकारी सेनाद्वारा मारिएका, गौर हत्याकाण्ड, सांसद थुनछेक, किनबेचलगायत यतिखेर अदालतलाई गुहारेरसमेत पार्टी फुटाउने–गाँस्नेलगायत सत्ता खोसाखोस गरिरहेका राजनीतिक गतिविधि देखिएकै छ। यस सँगसँगै हुने गरेका अनेक नामका सगरमाथीय आर्थिक भ्रष्टाचार र घोटालाका काण्डैकाण्डले भरिएको  हाम्रो राजनीतिलाई के नाम दिने?

विश्वको महाशक्ति अमेरिकाको राजनीतिक मूल्य शक्ति प्राप्ति, वृद्धि, कायमी र विश्वभरि विस्तार हो। किन पनि भने सबै दृष्टिले सम्पन्न अमेरिकाली आन्तरिक जीवन संसदीय पद्धतीको सुदीर्घ स्थापित सुदृढ संयन्त्रबाट निर्बाध, निर्द्वन्द्व चलिरहन्छ।

त्यसैले उसको चिन्ता वा चासो विश्वमा आफ्नो राजनीतिक प्रभुत्व–प्रतिष्ठा र त्यसअन्तर्गत राजनीतिक, आर्थिक स्वार्थको अकुण्ठित वर्चस्व एवं विस्तार मात्र हो।

जसलाई प्रसिद्ध राजनीतिक विश्लेषक नोमचोम्स्की, अरुन्धती रोय, अल्यान जेम्स आदिले ‘शक्तिको राजनीति’ नामकरण गरेका छन्। यही नीतिअन्तर्गत विश्वका विभिन्न मुलुकमा प्रजातन्त्र र विकासका नाममा अमेरिकाको आर्थिक सहयोगदेखि विशेषज्ञ र सैनिक हस्तक्षेपसम्म हुने गरेको सर्वविदित छ।

सम्भवत: यस्तै गतिविधिका कारण मित्रता, सहयोग, विकास, धर्म, समाज सेवा इत्यादिका माध्यमबाट निहित स्वार्थपूर्ति गर्ने जुनसुकै चालबाजीलाई पनि अचेल थेगोसरह राजनीति भन्ने गरिएको हो।

 अर्का सुपरिचित प्यालेस्टिनी लेखक एडवर्ड सइदले चैँ आफ्नो एउटा कृतिको नामै ‘विस्थापनको राजनीति’ (पोलिटिक्स अफ डिस्पोजिसन)राखेका छन्। यसमा इजरायल र उसका समर्थक राज्यहरू, खासगरी अमेरिकाले जेरुसलेम र वेस्टब्याङ्कबाट प्यालेस्टिनीहरुलाई विस्थापित गराउन सैनिक आक्रमणसहित गर्ने गरेको  दमन र जालसाजीजन्य तानाबानाको विस्तृत विश्लेषण गरिएको छ।

विलियम डियर निर्देशित ‘प्रेमको राजनीति’ (पोलिटिक्स अफ लभ) नामक रोमान्टिक फिल्म(सन् २०११)पछि भने समान विकास र विश्वशान्तिका निमित्त आधुनिक राजनीतिको मूलभूत उद्देश्य अनेक विविधतायुक्त मानव समुदायबीच मुक्त प्रेम र भाइचाराको स्थायी बहाली हुनुपर्छ भन्ने झिनो भए पनि नयाँ स्वर उदाएको छ।    

जे होस्, हरेक देशको आफ्नो आवश्यकता र उद्देश्यानुसारको राजनीति हुनु स्वाभाविक यथार्थ हो। राज्यको आन्तरिक एकता सुदृढ नभएको र खण्डीकरणको खतरा भएका अवस्थामा राज्यले आफ्नो मुख्य ध्यान र नीति एकता र अखण्डताको निमित्त लगाउनुपर्ने हुन्छ। त्यो एकताको राजनीति (पोलिटिक्स अफ यनिटी)हुन्छ।

विदेशी हस्तक्षेप वा आक्रमणको खतरा रहेका अवस्थामा देशको मुख्य ध्यान र शक्ति सुरक्षामा केन्द्रित रहन्छ। जसलाई सुरक्षाको राजनीति (पोलिटिक्स अफ डिफेन्स) भनिन्छ। पिछडिएका देशको राजनीति राज्यको सर्वाङ्गिण विकासमा केन्द्रित हुने हुँदा त्यसलाई विकासको राजनीति (पोलिटिक्स अफ डिभेलपमन्ट) भनिन्छ।

तर, देशको राजनीतिक मूल प्रवाहमा समयानुसार प्रतिशोधसमेत विस्थापन, वन्चन, निषेध, अपवित्र गठबन्धन, झुट्टा आरोपप्रत्यारोप, प्रायोजित न्यायिकगैरन्यायिक सजाय, कब्जा, चरित्र र ज्यान हत्यासम्मका (कतिपय सन्दर्भमा राष्ट्रियहितकै मूल्यमा विदेशी शक्ति गुहारेरसमेत) चरम प्रतिद्वन्दिता हुने गरेको भए त्यसलाई के राजनीति भन्ने? प्रतिशोधको राजनीति (पोलिटिक्स अफ रिटालिएसन)?

 कुनै बेला चैँ मिलेर गरिएका जालसाँजी लुकाउने, एकार्कामा दलाली गर्ने, प्यादाहरूलाई मात्र दु:ख दिएर सांकेतिक प्रतिशोध–प्रतिद्वन्द्विता गर्ने। कहिलेकाहीँ कार्यवाही गरेजस्तो गर्ने। जनआवाज मत्थरिनेबित्तिकै अंकमाल गर्ने। राष्ट्रिय हितलाई ताकमा राखेर सत्तामा हुँदा वा नहुँदा पद, निहित फाइदा, बदलाजन्य कार्यवाही आदिमा बार्गेनिङ गरेर महिनौँ गोप्य वा खुलै झगडा गर्ने।

देशमा होहल्ला–गोलमाल–त्रास–प्रोपगण्डा–समस्या पैदा गराएर अन्योल कायम राख्ने, तथा चरम भ्रष्टाचार गरेरै बिताउने खालको राजनीतिलाई के राजनीति भन्ने? अवसरवादी राजनीति (पोलिटिक्स अफ अपर्चुनिज्म) कि भेटेसम्म लुट्ने राजनीति (पोलिटिक्स अफ र्‍याकेट एण्ड रब)?

हाम्रो देशले यही राजनीति देखेको, भोगेको र सिकेको छ। यसैको परिणामस्वरूप यो देशका लडाकु, पौरखी, शान्तिपूर्ण र इमानदार भनेर विश्वभर परिचित जनता करीब प्रारम्भदेखि नै स्वदेशदेखि बङ्गाल, आसामलगायत भारत, बर्मा, भोटाङ हुँदै फिजी र अब त विश्वभरि नै सिपाही, मजदुर, भरिया भएर तीन डी अर्थात् फोहोर, अप्ठ्यारो र खतरनाक (डर्टी, डिफिकल्ट एन्ड डेन्जरस) काम गर्दै न्यूनतम सुविधामा अपमान र यातनापूर्ण जीवन बाँच्न बाध्य भएका छन्।

भन्नोस् पशुपति शर्माको लुट् कान्छा लुट्भन्दा उपयुक्त के नाम दिने यस्तो राजनीतिलाई,  (कम्बाइन एन्ड कन्जुम)? अर्थात् मिलीभगतबाहेक के हो यस राजनीतिको मूल्य?

पृथ्वीनारायण शाहले स्वयं निकालेपछि जयप्रकाशको फौजमा गएको जयन्त रानालाई पछि आफूले जितेपछि छाला काढेर मारे। उनी बितेपछि बहादुर शाह र राजेन्द्रलक्ष्मीले मौका पर्नासाथ एकार्कालाई थुनाथुन गरे।

यस क्रममा केही भारदार पनि मारिए। रणबहादुर शाहले आफू साबालक हुनासाथ आफ्नै नायबी गरिरहेका काका बहादुर शाहलाई यातनापूर्वक मराए। उनले काजी कीर्तिमान सिंह बस्नेत, दामोदर पाँडे आदिलगायत साँढे मरेको र पछि कान्तमती मरेको झोँकमा कति मानिस मराए, हिसाब छैन।

रणबहादुरलाई दाजु शेरबहादुर शाहले मारे, शेरबहादुरलाई बालनरसिंह कुँवरले मारे। यो अवसर छोपेर भीमसेन थापाले पाँच दर्जनभन्दा बढी भारदारको हत्या गराए। पछि बूढा भीमसेन थापालाई रणजङ्ग पाँडेहरूको झोसपोलमा कैद गरेर झुट्टो अफवाहका कारण असफल आत्महत्याद्वारा अति कष्टपूर्वक मर्न विवस पारियो।

यस्तो न प्रजातन्त्रवादी, न समाजवादी, न मार्क्सवादी, न राष्ट्रवादी केवल सम्पत्ति लक्षित सिद्धान्तहीन शक्तिका निमित्त निरन्तरित अवसरवादी प्रतिस्पर्धात्मक मिलिभगतको राजनीतिलाई के नाम दिने?

राज्यलक्ष्मी र गगनसिंहको योजनाअन्तर्गत माथवर सिंह थापालाई जङ्गबहादुरद्वारा मराइयो। बदला, दाउपेच र हत्याको राजनीति देखिरहेका र यसै सिलसिलामा आफ्नै फुपेरो दाजुसमेत मारिएको र आफैंले मामा माथवरसिंहलाई मार्नु परेकोमा आक्रोशित जङ्गबहादुरले गगनसिंहलाई मारेर कोतपर्वको हत्याकाण्डद्वारा सत्ता नै कब्जा गरे।

उनको ३ सरकारको शासन छउन्जेल लखन थापालगायत भण्डारखाल पर्वमा  अरू केहीको हत्या भयो भने उनी बित्नासाथ रणेद्दीपलगायत जगतजंग आदिको खेदीखेदी हत्या भयो र शासन जङ्गबाट शमशेरमा सर्‍यो। यसमा पनि खड्ग र केहीपछि देव शमशेर निष्कासित भए।

शहीदपर्व हुँदै सातसालपछिका सत्रसाल पर्व, अत भनेर छिन्ताङमा, सुखानीमा र अन्यत्र मारिएका, प्रजातन्त्रको पुन:स्थापनापछि मदन–आश्रितको रहस्यमय मृत्यु, नारायणहिटी हत्याकाण्ड, चुनावमा षडयन्त्रपूर्वक हराइएका छन्।

माओवादी र सरकारी सेनाद्वारा मारिएका, गौर हत्याकाण्ड, सांसद थुनछेक, किनबेचलगायत यतिखेर अदालतलाई गुहारेरसमेत पार्टी फुटाउने–गाँस्नेलगायत सत्ता खोसाखोस गरिरहेका राजनीतिक गतिविधि देखिएकै छ। यस सँगसँगै हुने गरेका अनेक नामका सगरमाथीय आर्थिक भ्रष्टाचार र घोटालाका काण्डैकाण्डले भरिएको  हाम्रो राजनीतिलाई के नाम दिने?

००७ सालपछिको मात्रै कुरा गर्दा पनि सात दशक लामो घोटाला, षड्यन्त्र, प्रतिशोध, हत्या, प्रतिद्वन्द्वबीच घस्रिरहेको नेपाली राजनीति अन्तत: कहाँ पुग्यो भन्नु?

गणतन्त्र, कथित माओवादी जनयुद्धको अन्त्य र शान्ति स्थापना, नयाँ संविधान, संघीयतासहितको स्थानीय निर्वाचनपछि विशेष तामझामसहित राष्ट्रिय समृद्धिको नारा दिएर जोरपाइलटले चलाएको दुईतिहाइको जेट दुई वर्ष ढलपल हुँदै एकवर्षभन्दा लामो सदनदेखि सडकसम्मको दन्तबझानपछि विपक्षीलाई सत्ता बुझाएर थेचारिएको छ।

राजनीतिक संस्कार र राष्ट्रिय विकासका नयाँ कीर्तिमान होइन हुन खोजेका पनि लथालिङ्ग भएका छन्। समृद्धि र आत्मनिर्भरताका गफ प्रतिव्यक्ति ६५ हजार ऋणमा चुर्लुम्म डुबेको छ। आज एकतिहाइ जनता अधमरो अवस्थामा छन्। पारिवारिक विखण्डनको मूल्यमा एकतिहाइ विदेशी सेवामा छन् र तिनको कमाइमा बाँकी एक तिहाइका ९० प्रतिशतको चाकरीमा १० प्रतिशत रातो तुलमाथि उही पौंठेजोरीमा व्यस्त छन्। 

यस्तो न प्रजातन्त्रवादी, न समाजवादी, न मार्क्सवादी, न राष्ट्रवादी केवल सम्पत्ति लक्षित सिद्धान्तहीन शक्तिका निमित्त निरन्तरित अवसरवादी प्रतिस्पर्धात्मक मिलिभगतको राजनीतिलाई के नाम दिने?

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.