|

नेपालमा सबैभन्दा ठूलो सरकार हो। जनताबाट उठेको अथवा जनताको नाममा ऋण लिएर उठाइएको कर खाने राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीहरू र समाजमा गनिने मानिनेहरू ठूला मान्छे हुन्।

सरकारलाई कर तिर्ने किसान, मजदुर तथा अन्य नागरिक, सरकारको पहिलो नम्बरका सेवाग्राही हुन् भन्ने सत्य नेपालमा कहिल्यै बोध हुन सकेन। दलाल पुँजीवादको दौरा समातेर हिँडेको अहिलेको नेपाल सरकारले उसैको हितरक्षा गर्ने काम बाहेक अरू केही गर्न सकेन भनेर लेख्नु कुनै अत्युक्ति नहोला।

नेपाली नेताहरू, वरिष्ठ नोकरशाहहरू सिक्नका लागि विदेश जान्छन्। तर, केही नसिकी आउँछन्। सिक्नका लागि नेपाल नै पर्याप्त छ भन्ने सत्य यिनीहरू कसैलाई थाहा छैन।

लुम्बिनी प्रदेशमा एउटा पशु फर्म छ। नेपाली साथीहरूले नै खोल्नुभएको। ती साथीहरूसँग अमेरिकामा पर्याप्त अवसर पाउने योग्यता पनि छ। ‘पसिना नबगाइ कसैले आउनुहोस्‌, ज्यूनार गर्नुहोस्‌ भनेर नभन्ने भएपछि हामीले अर्काको देशमा बसेर पसिना बगाउनुभन्दा स्वदेशमै बगाउनुपर्छ भन्ने सत्यबोध भएपछि अमेरिका र जर्मनी दुबै मुलुकमा बस्न मन नलागेर फर्किएर आएको’ भनी शशी पौडेलले मलाई भन्नुभएको थियो।

म उहाँलाई भूँइमान्छे भन्छु। पछिल्लो दिनमा बेलायत र अमेरिकाबाट फर्किने लहर चल्नुमा शायद उहाँहरूको अनुभवले पनि मान्छेलाई सघाएको होस्।

एक नम्बर प्रदेशको खोटाङ जिल्लामा एउटा माध्यमिक विद्यालय छ। ‘शुभम’ हो त्यसको नाम। मदन राई, त्यसको संचालक हुनुहुन्छ। उहाँका भनाइहरू प्रायः सही हुन्छन्। प्रायः होइन, सही नै हुन्छन्।

नेपाली नेताहरू, वरिष्ठ नोकरशाहहरू सिक्नका लागि विदेश जान्छन्। तर, केही नसिकी आउँछन्। सिक्नका लागि नेपाल नै पर्याप्त छ भन्ने सत्य यिनीहरू कसैलाई थाहा छैन।

बाबुराम भट्टराईसँग जोडिएको एउटा पार्टीमा लाग्नुभएको रहेछ। बाबुराम भट्टराई पार्टी। भनेको बाबुरामजी जता जानुहुन्छ, उहाँको उहाँको यात्रा पनि त्यतैतिर सोझिँदो रहेछ। यसो भनेर मैले उहाँको अपमान गर्न खोजेको होइन, बरु जुन पार्टीमा लागेपनि उहाँको शिक्षा प्रणाली अहिले जस्तो छ-सधैँ त्यस्तै रहिरहोस् भन्ने मेरो शुभकामना छ। यसबारेमा पहिले अलिक लामै लेखिसकेको छु।

मन्त्रीबाट बाहिरिएपछि म र उहाँ घनिष्ट फेसबुके साथी भएका छौँ। म जस्तै उहाँ पनि गणतन्त्रवादी हुनुहुन्छ। ‘समाज भाँड्ने भनेका राजा, पुरोहित र जाति प्रथा हुन्’ भनेर उहाँले लेख्नुभएका पोस्टहरू तपाईंहरूले पढ्नुभएकै हुनुपर्छ। ‘अलि छाडा’ भन्छन् विपक्षीहरू उहाँलाई।

तर, उहाँले चलाएको जस्ता स्कूलहरू सबै प्रदेशमा एकएक भए भने नेपालको अनुहार फेरिन्छ भन्छु म। मैले उहाँसँग सोधेँ पनि, कुनै मन्त्रीलाई बोलाउनु भएन। उहाँले भन्नुभयो, ‘हेलिकोप्टर खर्च स्कूलले नै ब्यहोर्नुपर्छ भनेपछि मेरो मन मर्‍यो,’ भन्नु भयो उहाँले। मैले केही भन्न सकिन।

माटोलाई मलिलो पार्ने गोबरमा मान्छेबाट निष्कृत दिशापिसाबलाई उहाँको विद्यालयका विद्यार्थीले त्यस्तो घृणित पदार्थ मान्दैनन्। उहाँ स्वयम्‌ पनि मान्नुहुन्न। मान्छेबाट विसर्जित मल हो भन्ने उहाँको निष्कर्ष सही छ।

मदन राईका विद्यार्थीहरू बिहानको नित्यकर्मसम्म स्वतन्त्र हुन्छन्। त्यसपछि कसैको गाई बाख्रासँग, कसैको सुँगुरसँग, कसैको भात भान्सासँग जोडिएको हुन्छ, उनीहरूको काम। खुट्टा घुमाएर कोही बस्न पाउँदैन। यो कामको पालो महिना-महिना दिनमा फेरिन्छ। अब भन्नुस् त, हामीले चाहेको शिक्षा प्रणाली यही होइन त !

हाम्रा सन्तानले १२ कक्षा पढेर स्कूल छोड्दा उसको हातमा केही सीप होस्। अहिले त १२ कक्षा पढेको विद्यार्थीले शुद्ध नेपाली पनि लेख्न सक्दैन।

फिनल्याण्डको भ्रमणमा जाँदा मैले यस्तो शिक्षाको महत्व बुझेको थिएँ। हामी सात र आठ कक्षाका विद्यार्थीले बनाएको ब्रेकफास्ट (बिहानको खाजा) १२ बजे, ११/१२ कक्षाका विद्यार्थीले बनाएको दिउँसोका खाना र सात बजेतिर १३/१४ कक्षाका विद्यार्थीले दिएको डिनर (साँझको खाना) खाएका थियौँ। मैले पनि नेपालमा त्यस्तो गर्न सकिन्थ्यो कि भनेर सोचेको थिएँ। सोच्दासोच्दै मन्त्रीको म्याद सकियो।

मेरो बहिगर्मनपछि त्यो पद्धति कसैको चासोको विषय पनि भएन।

हाम्रो शिक्षा प्रणालीले हामीलाई कुनै प्रतिफल दिन सकेको छैन। अहिलेको भन्दा बरु हाम्रै पालाको राम्रो थियो। इतिहास, भूगोल, अंग्रेजीको ‘प्रोज कलेक्सन’, ‘पोइट्री कलेक्सन’, ‘नेहरूज लेटर’ जस्ता ज्ञानबर्द्दक पुस्तकलाई नयाँ शिक्षा योजनाले सबै खाइदियो। कलेज क्याम्पस भयो। स्कूल विद्यालय बने। शिक्षामा क्याम्पस र विद्यालय सामाजिक परिवर्तनका बाहक भए। जनताका लागि नयाँ शिक्षा हात लाग्यो शुन्य।

निजी स्कूलहरूबारे मैले यसपालि केही लेखिनँ। तर, लेख्नुपर्छ त्यसबारे पनि। सामुदायिक विद्यालयमै खोटाङको ‘शुभम’ काम गर्न सके लखिहाल्नु पनि नपर्ला कि।

इतिहास, भूगोल, अंग्रेजीको ‘प्रोज कलेक्सन’, ‘पोइट्री कलेक्सन’, ‘नेहरूज लेटर’ जस्ता ज्ञानबर्द्दक पुस्तकलाई नयाँ शिक्षा योजनाले सबै खाइदियो। कलेज क्याम्पस भयो। स्कूल विद्यालय बने। शिक्षामा क्याम्पस र विद्यालय सामाजिक परिवर्तनका बाहक भए। जनताका लागि नयाँ शिक्षा हात लाग्यो शुन्य।

जे होस्, अहिलेको शिक्षाले नेपाललाई के दिएको छ? विदेश पढाउनेका सन्तान पढिसकेर उतैका गोराहरूको सेवा गरेर बसेका छन्। हामी अहिले पनि यूरोपेली र अमेरिकीहरूकै सेवा गरिरहेका छौँ।

हामी मरितरि नेपालमा आधारभूत शिक्षा दिन्छौँ। स्नातकभन्दा माथि पढाउन नसक्ने भएमा छात्रवृत्ति खोजी गर्न लाउँछौ। डाक्टर, इन्जिनियर बनिसकेपछि त्यतै सेवा गरेर बस भन्छौँ। सन्तानहरूलाई पढाउन हामीलाई नेपालमा गरेको लगानीको प्रतिफल पनि चाहिँदैन। जसरी भए पनि उतै बस भन्ने हामी नै हौँ।

त्यो दिन नआओस भनेर मदन राईको ‘शुभम’ को गीत गाएको हुँ। विद्यार्थीहरू छात्रावासमा बस्छन्, बिहान बेलुका सबै सँगै काम गर्नुपर्छ। जातपातको खोजी पनि हुँदैन। सामाजिक परिवर्तनमा एक पाइलो अघि बढिन्छ। अथवा, यस्ता स्कूलहरूमा जातपात मान्नेहरूले नपढाए पनि हुन्छ। आफैँ पढेर काम गर्ने शिक्षा मन नपराउनेको जिम्मा सरकारले लिन पनि सक्दैन।

हामी जति गफाडी कोही छैन। गर्नुपर्ने काम गर्नु छैन। छोराछोरीले ‘ममी! पापा!’ भनेर बोलाउन थालेपछि मक्ख पर्छौँ। कृषिप्रधान देशका जनता भनिएका हामी माटो चिन्दैनौँ। हाम्रै ‘योग’ लाई ओठ लेपारेर ‘योगा’ भन्न हामीलाई सभ्यताको बोली लाग्छ। ‘स्तूप’लाई ‘स्तूपा’ भन्छौँ।

कम्तिमा पनि शुभमका विद्यार्थीले हामीजस्तो निकम्मा भएर बस्नु त पर्दैन। उनीहरूले पापा, ममी नभनेपनि हामी उनीहरूका बाबुआमा त भइरहनेछौँ।

म चिया बनाएर कसैलाई खुवाउन सक्दिनँ, किनभने मलाई चिनी र चिया कति हाल्नु पर्छ भन्ने थाहै छैन। तर, म सबैलाई पाउरोटी खुवाउन सक्छु। किनभने त्यो बजारमा जताततै किन्न पाइन्छ। हामी यस्तै शिक्षा सीप र ज्ञान दिन्छौँ। अनि आत्मनिर्भरताको कुरा गरेर कहिल्यै थाक्दैनौँ।

तर, बनिने एउटा उपाय छ। सरकारले पनि सिक्न सक्छ। समाजले पनि सोच्न सक्छ। व्यक्तिले पनि तत्कालीन लोभ त्याग्न सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.