प्रत्यक्षदर्शी भन्छन्–एसएसबीले रुखबाट डोरी निकाल्दा धामी नदीमा खसे

|

काठमाडौं : दार्चुलामा तुइनबाट खसेर एक युवक महाकाली नदीमा बेपत्ता भएको घटनामा भारतले आफ्ना सुरक्षाकर्मीको संलग्नता अस्वीकार गरेको छ।

शनिबार दार्चुलाका प्रमुख जिल्ला अधिकारीलाई पत्र लेख्दै पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपले उक्त घटनामा सीमा सुरक्षा बल (एसएसबी)को संलग्नता अस्वीकार गरेका हुन्।

ब्यास गाउँपालिका–२ स्थित मालघाटबाट ३३ वर्षीय जयसिंह धामी शुक्रबार बिहान महाकालीमा खसेर बेपत्ता भएका थिए। एसएसबीले तुइन काटेपछि धामी नदीमा खसेको आफन्तले बताएका छन्।

भारतले भने तुइन काट्दा मान्छे खसेको भन्ने हल्ला एकदमै गलत भएको बताएको छ। दार्चुलाकी सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्स्ना भट्ट जोशीले भारत पक्षले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र पठाएको पुष्टि गरिन्।

उनले पिथौरागढका जिल्ला अधिकारीले एसएसबीको टोली घटनास्थल पुग्नुभन्दा अघि नै दुर्घटना भएको जानकारी गराएको बताइन्। भारत नदीमा बेपत्ता युवा खोज्न टिम गठन गरेको पनि नेपाललाई जानकारी गराएको छ।

धामीका आफन्तले भने एसएसबीले तुइन काटेकै कारणले उनी नदीमा खसेको भन्दै भारतीय प्रहरी चौकी र नेपाली प्रहरी चौकीमा उजुरी दिएका छन्। धामीका आफन्तले एसएसबीविरुद्ध तुइन नजिकको क्षेत्रमा रहेको भारतको पिथौरागढ जिल्ला धार्चुला तहशिलको पागला प्रहरी थानामा उजुरी दिएका हुन्। घटनाबारे सत्यतथ्य बुझेर मुचुल्का तयार गर्न स्थानीय जोगासिंह धामी र बहादुर सिंह धामीले धार्चुलाको पागला प्रहरीमा उजुरी दिएका हुन्।

उनीहरुले घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्न भारत र नेपालका प्रशासनलाई अनुरोधसमेत गरेका छन्। उनीहरुले दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीलाई ज्ञापनपत्रसमेत बुझाएका छन्।

सरकारले घटनाको सत्यतथ्य छानबिनका लागि गृहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। घटनाबारे छानबिन गर्न दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले  पिथौरागढका जिल्ला अधिकारी आनन्द स्वरुपलाई पत्राचार गरेका थिए। 

के हो बास्तविकता ?

धामीसहित सात जना शुक्रबार दार्चुला सदरमुकाम खलंगा जान मालघाट पुगेका थिए। उनीहरु मालघाटबाट तुइनमार्फत् महाकाली नदी तरेर खलंगा बजारसम्म जान लागेका थिए। वृद्धभत्ता ल्याउन सदरमुकाम जान हिँडेका मनिरामसिंह धामी, गौरसिंह धामी र आमाको भत्ता लिन गएका अमरसिंह मालघाट पुगेका थिए। विदेश जाने तयारीमा रहेका जयसिंह धामी, विक्रम रंकली र अमता धामी पनि तुइनमा पुगेका थिए। 

मालघाटमा तुइन सञ्चालन गर्दै आएका कल्याण धामीका अनुसार उनीसँगै स्थानीय बहादुरसिंह धामी पनि थिए।

‘एकएक गरी उनीहरू तुइन तर्न सुरु गरे। भत्ता लिन जाने तीन जना महाकाली तरिसकेका थिए। काठमाडौं जान हिँडेका दुई जना वारि नै थिए।’ तुइन सञ्चालक कल्याण धामीले भने, ‘जयसिंह धामी डेढ मिनेट जति तुइन तानेर पारी पुग्नै लागेका थिए। त्यही बेला एसएसबीका जवान हतियारसहित पुगे। उनीहरूले रूखमा बाँधेको तार खोले। तार फुत्केर आयो। तारसँग लड्पटिएर जयसिंह महाकालीमा खसे।’  

धामीले अगाडि भने, ‘जयसिंहलाई महाकालीको छेउबाट बगेको मैले देखेँ ‘उनलाई पौडी खेल्न आएन। तलसम्म बगेको देख्यौं। पौडी खेल भनेर सिटी मार्‍यौं। २० मिटर तल पुगेपछि उनी डुबे।’ 

सात वर्ष नेपाली सेनामा काम गरेका जयसिंह विदेश जाने तयारीमा थिए। भिसा आएको भन्ने खबर आएपछि उनी काठमाडौं हिँडेका थिए। ‘केही दिनअघि भिसा आएको काठमाडौंबाट खबर आएको थियो’ नरेन्द्र धामीले भने, ‘दाइ त्यही कामको लागि काठमाडौं जाने भनेर हिँडेका थिए।’

बर्खामा राप्ला माल गाउँका स्थानीयहरु भारतीय भूमि हुँदै दार्चुला सदरमुकाम खलंगा जाने गर्छन्। नेपाली भूमिबाट खलंगा पुग्न बर्खामा असम्भव हुन्छ।

 


 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.