|

काठमाडाैं : पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महत्वपूर्ण छलफल तथा भेटघाट पार्टी केन्द्रीय कार्यालय थापाथलीबाट गर्न थालेका छन्। 

अध्यक्ष ओलीले पार्टीको छलफल तथा भेटघाटहरू पार्टीको थापाथलीस्थित केन्द्रीय कार्यालयबाट सुरु गरेका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताए।

​बिहीबार ओलीले केन्द्रीय कार्यालयमा आएर पार्टी नेता तथा कार्यकर्तासँग भेटघाट गरेका थिए। प्रधानमन्त्री रहँदा उनले प्रधानमन्त्री निवास बालुवाटारबाटै पार्टीका सम्पूर्ण बैठक गर्दै आएका थिए।

अब पार्टीका सम्पूर्ण बैठक तथा भेटघाट पार्टी केन्द्रीय कार्यालयबाटै हुने कार्यालय सचिव तामाङले जानकारी दिए। अध्यक्ष ओलीको स्वास्थ्यमा कुनै पनि समस्या नरहेको र उनी सक्रिय रुपमा कार्यालयमा उपस्थित हुनसक्ने अवस्था रहेको उनको भनाइ छ।

कार्यालयको व्यवस्थापनलाई पनि व्यवस्थित गरिएको उनले बताए। भने, ‘पार्टी केन्द्रीय कार्यालयमा अलि व्यवस्थित गरेर उहाँहरूलाई अर्को कुनै अप्ठ्यारो नहोस्, भीडभाड नहोस् भन्ने कुरालाई ध्यानमा राखेर कार्यकक्षहरूको व्यवस्था भएको छ। उहाँको भेटघाट गर्ने रुमको व्यवस्था छ। हामीले व्यवस्थित ढंगले नै भेट्ने र अरु पार्टीका कामहरू गर्ने वातावरण केन्द्रीय कार्यालयमा तयार भएको छ।’

सचिव तामाङले पार्टीको बैठक तथा कार्यक्रमहरू भर्चुअल माध्यमबाट गर्ने व्यवस्था मिलाइएको पनि जानकारी दिए। पार्टी अध्यक्ष ओलीको अत्यावश्यक बैठकहरू भौतिक उपस्थितिबिना भर्चुअल माध्यमबाट पनि गर्न सकिने गरी पार्टी कार्यालयमा भर्चुअल रुम तयार गरेको जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.