|

काठमाडौं : नेपाली कांग्रेसका सांसद दिव्यमणि राजभण्डारीले संसद् र संसदीय समितिहरूले प्रभावकारी काम गर्न नसकेको भन्दै सांसदहरूको भूमिकामाथि नै प्रश्न उठाएका छन्। 

प्रतिनिधिसभा पुनर्स्थापनाका लागि ठूलो संघर्ष गरे पनि संसद पुनर्स्थापनापछि बिजनेस दिन नसकेर संसद पनि नचल्ने र समितिहरूमा पनि विचाराधीन विधेयकमाथि छलफल हुन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। 

आजको प्रतिनिधिसभा बैठकमा उनले अहिले हप्ता दश दिनको अन्तरमा मात्रै संसद बैठक बसिरहेको भन्दै नियमित बैठक बस्नुपर्नेमा जोड दिए। ‘विधेयकहरूमा छलफल हुन सकेको छैन,’ उनले भने, ‘संसदलाई बिजनेस दिन सक्दैनौं, काम दिन सक्दैनौं भने किन पुनर्स्थापना गरेको ?’

अहिले संसदीय समितिहरूमा विभिन्न समस्याहरू देखिएको भन्दै उनले त्यसको कारण भागबण्डामा सांसद सहभागी हुनु र संसदको निर्णयबिना मन्त्री भइसकेका सांसदहरू पनि समितिको बैठकमा सहभागी हुनु रहेको बताए। 

त्यस्तै विवादित व्यक्तिहरूलाई समितिमा पठाउन नहुने उनको सुझाव छ। 

अहिले र यसअघि पनि व्यवसायको पृष्ठभूमि रहेका व्यक्तिहरू सरकारमा सामेल हुँदा विभिन्न खालका टिप्पणी हुने गरेको भन्दै यसबारे कानुन बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। प्रचलित कानुनले व्यवसायीहरू सांसद र मन्त्री बन्न नरोकेकाले यसबारे संसदले पुनर्विचार गर्नुपर्ने उनको तर्क छ।  

सांसद राजभण्डारीले उपसभामुखको निर्वाचन यथाशीघ्र बढाउन पनि माग गरेका छन्। लामो समयदेखि उपसभामुख पद रिक्त रहेकाले आफू प्रतिपक्षमा हुँदा पनि उक्त माग गर्दै आएको भन्दै छिटै उपसभामुखको निर्वाचन गर्न माग गरेका हुन्। 

उनले संसदमा प्रधानमन्त्रीले सम्बोधन गर्दा प्रमुख प्रतिपक्षी नेताको अनिवार्य उपस्थित हुनुपर्ने भए पनि यो अधिवेशनमा त्यस्तो अभ्यास नदेखिएको भन्दै प्रतिपक्षी दलको ध्यानाकर्षणसमेत गराए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.