|

काठमाडौं : घरेलु टोली वेष्ट इण्डिजसँगको एकदिवसीय सिरिज अष्ट्रेलियाले जितेको छ।

आज बिहान सम्पन्न तेस्रो तथा निर्णायक खेलमा वेष्ट इण्डिजलाई ६ विकेटले हराउँदै अष्ट्रेलियाले २–१ ले सिरिज जितेको हो।

वेष्ट इण्डिजले दिएको १ सय ५३ रनको सामान्य लक्ष्य अष्ट्रेलियाले ३० दशमलव ३ ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो। अष्ट्रेलियाका लागि म्याथ्यू वेडले उत्कृष्ट ब्याटिङ गरे। उनले ५२ बलमा ५ चौका र २ छक्कासहित अविजित ५१ रनको योगदान दिए। यस्तै, कप्तान एलेक्स क्यारीले ३५, मिचेल मार्शले २९, एस्टन अगरले नटआउट १९, जोश फिलिपेले १० रन बनाए।​

बलिङमा हेडन वाल्स, अल्जारी जोसेफ, अकिल होसेन र सेल्ड्रन कोट्रेलले समान एक–एक विकेट लिए। त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको वेष्ट इण्डिजले ४५ दशमलव १ ओभरमा सबै विकेट गुमाएर १ सय ५२ रन बनाउन बनाएको थियो।

उसका लागि इभन लुईसले अर्धशतकीय पारी खेले। उनले ६६ बलमा ५ चौका र ३ छक्काको मद्दतमा अविजित ५५ रन बनाए। त्यस्तै, डारेन ब्रावोले १८, अल्जारी जोसेफले १५, साई होपले १४ र कप्तान किरण पोलार्डले ११ रन बनाए। बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन्।

बलिङमा मिचेल स्टार्कले उत्कृष्ट प्रदर्शन गरे। उनले ९ दशमलव १ ओभरमा ४३ रन दिएर ३ विकेट लिए। त्यस्तै, एडम जम्पा, जोश हेजलउड र एस्टन अगरले २–२ तथा एस्टन टर्नरले एक विकेट हात पारे।

पहिलो खेलमा अष्ट्रेलियाले वेष्ट इण्डिजलाई डीएल नियमका आधारमा १ सय ३३ रनले पराजित गरेको थियो भने दोस्रो म्याचमा वेष्ट इण्डिज अष्ट्रेलियालाई ४ विकेटले हराएको थियो।

यससँगै पाहुना टोली अष्ट्रेलियाले टी–२० सिरिजमा ब्यहोरेको हारको बदला लिएको छ। अष्ट्रेलिया टी–२० सिरिज ४–१ गुमाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.