|

हेटौंडा : नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको राजीनामा फिर्ता गर्न माग गर्दै हेटौंडामा विरोध प्रदर्शन भएको छ। 

मकवानपुरका फुटबल क्लवहरूले संयुक्त रुपमा अल्मुताइरीको राजीनामा फिर्ता हुनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले अल्मुताइरीलाई मानसिक दबाब दिएर राजीनामा दिन बाध्य पारेको भन्दै मानसिक दबाबमुक्त पारेर राजीनामा फिर्ता हुनुपर्ने माग गरेका छन्।

सत्यतथ्य छानबिन गरेर दोषीलाई कारबाही गर्नुपर्ने, ए डिभिजन लिग तोकिएकै समयमा हुनुपर्ने, फुटबलमा भएको राजनीति रोक्नुपर्ने र अखिल नेपाल फुटबल संघ एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङले राजीनामा दिनुपर्ने भन्दै उनीहरूले नारा लगाएका थिए।

यसअघि सोमबार नै जिल्लाका फुटबल क्लबहरूले मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीका लामामार्फत एन्फालाई विज्ञप्ति समेत बुझाएका छन्। नेपालको फुटबलको विकास र प्रगतिमा ठूलो आशा देखाएका अल्मुताइरीलाई राजीनामा दिन बाध्य पारिएको भन्दै उनको राजीनामा फिर्ता गरी दोषीलाई कारबाही गर्न विज्ञप्तिमा माग गरिएको छ।

अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष नेम्बाङका कारण राजीनामा दिन लागेको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए। यद्यपि हालसम्म उनले आधिकारिक रुपमा राजीनामा भने दिएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.