|

जे होस्‌ नेकपा (एमाले) का साथीभाइहरू कोशिस गरिरहनुभएको छ। साथीभाइ भनेकोमा दुःख नमान्नु होला। कमरेड भनेको साथी नै हो।

सबैभन्दा पहिले समाजवादको सपना देख्ने वि.पी. कोइरालाले पनि सन् १९३७ तिर साथीहरू भन्नु पर्ने ठाउँमा 'कमरेड्स' नै भन्नु भएको थियो। अब शेरबहादुरले नेपाली कांग्रेसका सभापति वि.पी. कोइरालाको ‘लिगेसी’ लाई निरन्तरता दिनुहुने हो कि दलाल नोकरशाही पुँजीपति वर्गको सेवा गर्ने हो-हेर्न बाँकी छ।

नेपालको राजनीति पनि ‘दैव जानुन्‌’ भन्ने खालको छ। भन्नलाई नेपालका दुई प्रमुख पार्टीहरू समाजवादी नै भन्छन् आफूलाई। कम्युनिस्ट पार्टीको साम्यवाद पनि समाजवादपछि नै आउने हो। शास्त्रीय सन्दर्भमा जे भने पनि समाजवाद (बीपी को कांग्रेसको अन्तिम लक्ष्य) हो भने नेकपा (एमाले) को अन्तिम लक्ष्य समाजवाद पछि आउने साम्यवाद हो। अर्थात् समाजवादसम्म त दुबै पार्टी सहकार्य गर्न सक्छन्।

समाजवादी सोच राख्ने पार्टीहरूबारे टिप्पणी लेखिरहँदा मैले आफ्नै पार्टीको बारेमा सोच्न पुगेँ। समग्रमा मार्क्सवाद लोकतन्त्र र समानताको दर्शन हो। हाम्रो समाज सामन्तवादी हो। हामी आफैँ पनि सामन्तवादका किला काँटीले बाँधिएका छौँ। त्यसैले हामी समाजवादमा पुग्नु भनेको त कोरा कल्पना मात्र हो।

तर, हाम्रो पुस्तापछिको पाँचौं पुस्ताले समाजवादको फल खान पाउला कि भन्ने मलाई लागेको छ। अमेरिकाले २०० वर्ष लगाएर निकालेको विकासको डल्लो चीनले २० वर्षमै भेट्टायो भन्ने सुनिन्छ कताकति। तर, हामी चिनियाँ नागरिक होइनौँ।

स्वीट्जरल्यान्डको एकजना  साथीले भनेको कुरा पनि मैले लेखिसकेको छु, उनले मलाई भनेका थिए, ‘हामीले जसरी नै मेहनत गर्ने भयौँ भने २०० वर्षमा समाजवादको ढोकासम्म पुगौँला।’ यथाहालतमा हिँडियो भने ५०० वर्षसम्ममा सपनाको ढोकामा पुग्न सकिएला कि भन्ने सोच राखेर बिदा भएको थिएँ म।

समाजवादको झण्डा हल्लियो होला, ठूला-ठूला झन्जावातहरूले भुईंसम्मै झारे पनि होलान्‌। तर, समाजवादको झण्डा कतै छोपिएन, कतै हराएन।

नेपालमा संघीयता आएको छ र त्यो साँच्चिकै संघीयता होला भन्ने मलाई पनि लाग्यो शुरूमा। किनभने जनताको पैसा जनतालाई नै फिर्ता भनेर मनमोहन अधिकारीको सरकारले 'आफ्नो गाउँ आफैँ भनेर चिह्नित' उक्त सालको बजेटले गाउँ निर्माण देखेको थिएँ मैले। हामीले पठाएको पैसाले तीन गुणा बढी काम गरेको देखेँ मैले। तर, परिणाम त्यस्तो सन्तोषजनक भइरहेको छैन।

अरू मन्त्रालयको कुरो साथीहरूले नै लेख्नुहोला कुनै दिन। म आफ्नो कुरा मात्र गर्न चाहन्छु। झापाको बिर्तामोडमा दूरसञ्‍चारको २००० लाइनको एक्सचेन्ज स्थापना गर्न हामीलाई ११० दिन लागेको थियो।

कालिगण्डकी र चिलिमे त्यसै समयका उत्पादन हुन्। कालीगण्डकीमा शैलजा दिदीको पनि योगदान पनि कम छैन। म पछि उहाँ जलश्रोत मन्त्री हुनुभएको थियो र उहाँपछि फेरि पनि म नै जलश्रोतमा गएको थिएँ।

गर्दा के हुँदैन र? नौ महिनाको छोटो समयमा हामीले नेपाल टेलिभिजनलाई बागलुङदेखि दार्जिलिङसम्म तानेरै लग्यौँ। सुदूरपश्चिमलाई नेपालसँग जोड्न नेपालगञ्‍जमा हामीले एउटा क्षेत्रीय प्रसारणको स्थापना पनि गर्‍यौँ।

त्यतिबेला स्याटेलाइट टेलिभिजनको आरम्भ नै भएको थिएन। धनगढीमा पनि एउटा अर्को क्षेत्रीय प्रसारणको योजना बनाउँदा नबनाउँदै सर्वोच्च अदालतले ‘गो आउट’ भनेपछि ९ महिनामै हामी सरकारबाट बाहिरिनुपरेको थियो।

सरकार राम्ररी चलाउन व्यक्तिसँग पार्टीको सिद्धान्त, कार्यक्रम र व्यक्तिको व्यवहार हुनुपर्छ। निष्ठा वैयक्तिक कुरा। किनभने-निष्ठा नाप्ने तराजु अहिलेसम्म बनिसकेको छैन र त्यो कहिल्यै बन्ने पनि छैन। मान्छे आफैँले निष्ठाको तराजु बनाउनुपर्छ।

आधा दर्जन जनवादहरू होलान्‌ नेपालमा। ती सबै स्टालिनको सर्वहारा वर्गको अधिनायकत्वका सन्तान हुन्।

जनताको बहुदलीय जनवाद पनि एउटा छ नेपालमा। कार्लमार्क्सले भनेको ‘समाजवादको बाटो भनेको लोकतन्त्र हो’ भन्ने सत्यलाई टिप्ने हो भने नेपाल लगायत मार्क्सवादीहरू सबैले लोकतान्त्रिक बाटो अबलम्वन गर्नुपर्छ।

सेना बनाउने र बन्दुक बोक्ने पार्टी मार्क्सवादी हुनै सक्दैन। सेना र बन्दुकको अन्तिम लक्ष्य भनेको निरंकुशता र स्वेच्छाचारी बाटो हो। यो अन्तिम सत्य नेपालका ‘समाजवादको नारा बाकेका’ दुबै पार्टीका धेरै नेताहरूले अहिलेसम्म बुझेका छैनन्। यो मैलै कुनै पार्टी प्रति लक्षित गरेको होइन।

हामीले समयक्रममा सबैले बन्दुक बोकेकै हौँ। ०१८ सालमा नेपाली कांग्रेसले पनि बन्दुक उठाएकै हो। ०२८/२९ मा झापालीले ‘वर्गशत्रु खतम’ भनेर बन्दुके बाटो अवलम्बन गरेकै हो। माओवादी केन्द्र पनि अहिलेसम्म पनि ‘१० वर्षे जनयुद्ध’ भनेर गीत गाइरहेकै छ।

त्यसैले हामी चोखो छौँ भनेर कुनै एक पार्टीले अर्को पार्टीलाई भन्न मिल्दैन। समयक्रममा हामी सबैले गल्ती गर्‍यौँ, गल्ती सुधार्‍यौँ। यसैले आज हामी छौँ, गल्ती गर्दै र सुधार्दै यहाँसम्म आइपुगेका हौँ। अरू पनि पार्टी त खुलेकै थिए नि नेपालमा। एउटा युगान्तकारी काम गरेर तिनीहरूले आफूलाई इतिहासमा बचाएका हुन्।

समाजवादको झण्डा हल्लियो होला, ठूला-ठूला झन्जावातहरूले भुईंसम्मै झारे पनि होलान्‌। तर, समाजवादको झण्डा कतै छोपिएन, कतै हराएन।

अहिले एमाले पार्टीको एकता जोगाउन उनीहरूले जे गरे र जति गरिरहेका छन्क-म्तिमा पनि समाजवादको झण्डा बोक्ने सबै युवाले त्यसलाई पछ्याउनैपर्छ। तबमात्रै तरुण दल र नेपाल विद्यार्थी संघले पनि विश्वेश्वर प्रसाद कोइरालाको सपना पूरा गर्न सक्नेछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.