|

काठमाडाैं : आगामी अक्टोबरमा तय भएको साफ फुटबल प्रतियोगिता आयोजनाका लागि नेपाललाई औपचारिक प्रस्ताव गर्न साफले आग्रह गरेको छ।

प्रतियोगिताको १३ औ संस्करणको समय तय भए पनि आयोजकबाट बंगलादेश पछि हटेपछि साफ आयोजना गर्ने देशको टुंगो लागेको छैन। दक्षिण एसियाको सर्वोच्च फुटबल प्रतियोगिताको टुंगो लाग्न नसक्दा नेपालले प्रस्ताव पाएको हो।

साफको बैठकमा बंगलादेशले आयोजना गर्न नसक्ने औपचारिक जानकारी दिएको थियो। आयोजनाका लागि शुक्रबार भएको बैठकमा नेपालसँगै माल्दिभ्स र भारतले दाबी प्रस्तुत गरेका थिए।

आइतबार भने नेपालले साफबाट आयोजना गर्न औपचारिक प्रस्ताव पाएको हो। एन्फा महासचिव इन्द्रमान तुलाधरले अब नेपालले साफ आयोजनाका लागि औपचारिक प्रस्ताव गर्ने बताए।

भने, 'हामीले साफ आयोजना गर्न सक्छौं भनेर औपचारिक रुपमा जानकारी यसअघि पनि गराइरहेका थियौं। अहिले साफले विस्तृत विवरणसहित प्रस्ताव गर्न भनेको छ। सोहीअनुसार विवरण प्रस्ताव गरेर थप प्रक्रिया बढाउँछौं,' उनले यो महिनाको अन्तसम्ममा प्रस्ताव पठाउने बताए। तुलाधरले थपे, 'हामीले खर्च र आयोजनाको सम्पूर्ण विवरणसहित आयोजनाको प्रस्ताव केही दिनमै पठाउँदै छौं। सम्भवत हामीले अवसर पाउँछौं होला।'

नेपालले  विस्तृत विवरण पठाएपछि साफले नै प्रतियोगिता आयोजना हुने स्थानको तय गर्ने छ। नेपालले पनि साफका लागि पर्याप्त सहयोग गर्ने प्रतिबद्धता जनाएकाले र नेपाल सक्षम भएको र बलियो दाबेदार भएको महासचिव तुलाधरले बताए।

यो पटक प्रतियोगितामा भने ५ टोलीको मात्र सहभागिता रहने सम्भावना छ। पाकिस्तान फिफाको प्रतिबन्धमा रहेका कारण सहभागिता जनाउने छैन भने भुटानले कोरोना संक्रमणका कारण देशबाहिर जान प्रतिबन्ध गरेको छ। आयोजना दाबी गरेका नेपाल, माल्दिभ्स र भारतसँगै श्रीलंका र बंगलादेशले प्रतियोगितामा सहभागिता जनाउने सम्भावना बलियो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.