|

काठमाडाैं : सिन्धुपाल्चोकका बाढीग्रस्त मेलम्ची नगरपालिकासँगै पाँचपोखरी थाङपाल र हेलम्बु गाउँपालिकालाई काठमाडौँ महानगरपालिकाले राहत तथा उद्धारका लागि ३ करोड आर्थिक सहयोग हस्तान्तरण गरेको छ। 

आज काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य, प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीसहितको टोली मेलम्ची पुगेका छन्।

काठमाडौँ महानगरपालिकाको तर्फबाट काठमाडौँ महानगरसँग भगिनी सम्बन्ध स्थापित मेलम्ची नगरपालिकालाई दुई करोड र बाँकी दुई पालिकालाई ५०/५० लाख आर्थिक सहयोग गर्ने घोषणा गरेको थियो।

रकम हस्तान्तरणसँगै शाक्यसहितको टोलीले सिन्धुपाल्चोकका मेलम्ची र इन्द्रावती नदीमा आएको बाढीपछि क्षतिग्रस्त स्थलको अवलोकनसमेत गरेको छ। 

बाढीग्रस्त क्षेत्रको अवलोकन गर्ने र सहयोग रकम पनि हस्तान्तरण गर्ने योजनासहित मेलम्ची आइपुगेका शाक्यले सहयोग रकम हस्तान्तरणपछि सम्बोधन गर्दै बाढीग्रस्त सिन्धुबासीका लागि थोरै भए पनि उक्त रकमले सहयोग पुग्ने अपेक्षा लिएको बताए।

‘मेलम्ची, हेलम्बु र पाँचपोखरी थाङपालसँग काठमाडौँ महानगरपालिकाको सम्बन्ध जोडिएको छ,’ शाक्यले भने, ‘यहाँको नदीको पानीबाट काठमाडौँबासी प्यास मेटाउन आतुर छन्। त्यसैले पनि यहाँका पालिकासँग हाम्रो अतुलनीय सम्बन्ध छ। यो सहयोग रकम ठूलो होइन। तर, यहाँका बासिन्दाको पीडामा थोरै भए पनि यसले मल्हमको काम गर्छ भन्ने हामीले अपेक्षा गरेका छौँ।'

 शाक्यले यहाँको क्षतिको हिसाबमा महानगरपालिकाले गरेको सहयोग निकै सानो भएको पनि बताए। ‘मेलम्चीसँग हाम्रो भगिनी सम्वन्ध स्थापित भएको छ। भगिनी सम्बन्धलाई अझ प्रगाढ बनाउनु पनि छ। त्यसैले भगिनी सम्‍बन्ध स्थापित भएको पालिकाका बासिन्दालाई परेको दुःखमा साथ दिनु हाम्रो कर्तव्य हो,' उनले भने, ‘त्यसैले म आफैँ यहाँका बासिन्दाको दुःखमा थोरै भए पनि साथ दिन सकियोस् भन्ने हेतुले यो सहयोग रकम लिएर आएको हुँ।'

उनले भौतिक क्षति पुनर्निर्माण गर्न सकिने भए पनि मानवीय क्षतिको परिपूर्ति हुन नसक्ने भन्दै विपद्का बेला सकेसम्म मानवीय क्षतिलाई हुन नदिने गरी उद्धार कार्यमा जुट्नु पर्ने पनि बताए। उनले आगामी दिनमा पनि सहकार्यको हात अघि बढाउन तयार रहेको बताए।

स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले भने, ‘मेलम्चीबासीलाई पीडा पर्दा काठमाडौँ महानगरपालिकाका प्रमुखसहितको टिम मल्हम लगाउनु आउनुभएको छ। मेलम्ची र सिङ्गो यो क्षेत्रका जनताको तर्फबाट यहाँहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु। उनले थपे, ‘यो दुःखका बेला गरेको सहयोगले हामीलाई थप ऊर्जा प्राप्त भएको छ।’  उनले बाढीग्रस्त क्षेत्रको  समस्या समधानका लागि योजना बनाउन आग्रह गर्दै आवश्यक सहयोग गर्न तयार रहेको बताए।

मेलम्ची नगरपालिकाका प्रमुख डम्बर बहादुर अर्यालले सहयोगका लागि काठमाडौँ महानगरपालिकालाई धन्यवाद दिए। ‘यो सहयोगले क्षति व्यवस्थापनका लागि ऊर्जा प्राप्त भएको छ।

मेलम्ची नगरपालिका काठमाडौँ महानगरसँग भगिनी सम्वन्ध स्थापित नगर हो। उक्त नगरलाई यस अघि पनि नगर–नगर साझेदारी कार्यक्रमअन्तरगत महानगरपालिकाले मेलम्ची नगरपालिका वडा नं १० मेलम्ची बजार नजिक इन्द्रावती नदीको किनारमा जोडिएको स्थलमा पानीको फोहरा, हेलिप्याड, पर्यटक विश्रामस्थल, बालबालिका खेलकुद कक्ष सहितको रमणीय तथा पर्यटकीय मेलम्ची सिटी पार्क निर्माणका लागि १ करोड ५० लाख रकम अनुदान दिने सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.