|

काठमाडाैं : नेकपा(एमाले)का नेता मणि थापाले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीबाट उपयोग भएको नभई वृहत्तर कम्युनिष्ट आन्दोलनको निर्माणका लागि साथ दिएको बताएका छन्। 

नेता थापाले सोमबार न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै आफूहरु प्रधानमन्त्री तथा नेकपा(एमाले)का अध्यक्ष ओलीबाट उपयोग नभएको जिकिर गरे। उनले आफूहरु बृहत्तर कम्युनिष्ट आन्दोलनको पक्षमा रहेको र त्यही प्रक्रियालाई पूरा गर्नका लागि ओलीको साथमा रहेको स्पष्ट पारे। 

ओली र प्रचण्डले शुरु गरेको कम्युनिष्ट आन्दोलन निर्माणकै प्रक्रियामा रहेकाले आफुहरुले कुनै राजनीतिक रुपमा गल्ती नगरेको उनले बताए।

उनले भने-‘प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई पछिल्लो चरणमा जो समर्थन गर्यौँ। त्यो समर्थनको आधार भनेको नेकपा निर्माणको आधार हो। हामी नेकपा निर्माण गर्न चाहन्छौँ र बृहत्तर कम्युनिष्ट आन्दोलन हामी बनाउन चाहन्छौँ जुन प्रक्रिया केपी ओली र प्रचण्डले शुरु गर्नुभयो।

त्यो प्रक्रियालाई पुरा गर्न चाहन्छौँ। त्यो प्रक्रियालाई पुरा गर्ने बाटोबाट हामी हिँडिरहेकाले राजनीतिक रुपमा केही गल्ती गरेका छैनौँ। हामी उपयोग भएको होइन।’ 

नेता थापाले नेकपा (एमाले)को एकतालाई आफूले जायज र न्यायिक ठान्ने बताए। एकताको लागि प्रधानमन्त्री ओलीले वातावरण बनाउनुपर्ने र माधव समुह पनि एकतामा आउनुपर्ने उनले बताए। 

एमाले एकताले आफुहरुलाई फरक नपर्ने बताउँदै झनै ठुलो डिबेट कम्युनिष्ट आन्दोलन अगाडी बड्ने र डिबेटमा भाग लिन आफुहरु तयार रहेको पनि उनले बताए।

उनले भने-‘पूर्वएमाले एक ठाउँमा आउने कुरालाई हामीले जायज र न्यायिक ठान्छौँ। उहाँहरु आउनुपर्छ। त्यसका निम्ति ओलीले राम्रो वातावरण बनाउनुपर्छ र माधव नेपाल समुहले पनि बदलिँदो परिस्थितिलाई बुझेर आफुलाई ध्रुवीकरणको पक्षमा ल्याउनुपर्छ र अरु कम्युनिष्ट घटकहरु पनि एक ठाउँमा आउनुपर्छ भन्ने मुल सिद्धान्तको जगमा हामीले काम गरिरहेको हुनाले उहाँहरु आउँदैमा केही फरक हुँदैन। ठुलो डिवेटबाट फेरी कम्युनिष्ट आन्दोलन खगाडी बढ्छ। त्यो ग्रेट डिबेटमा हामी भाग लिन तयार छौँ ।’

नेता थापाले आफुहरु पुरानो पार्टीमा फर्किने सम्भावना नरहेको पनि प्रष्ट पारे । पुरानो पार्टी तोडेर नयाँ कम्युनिष्ट पार्टी बनाउनका लागि आइसकेकाले अब पुरानो नभइ नयाँ ध्रुवीकरण आवश्यक रहेको उनले उल्लेख गरे। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.