|

पर्वत : गत आर्थिक वर्षमा प्रदेशमा उत्कृष्ट ठहरिएको पर्वत अस्पतालले यस वर्ष पनि अघिल्लो वर्षको नतिजालाई  दोहोर्‍याउँदै फेरि प्रदेशमै उत्कृष्ट बनेको छ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशबाट हरेक वर्ष हुँदै आएको न्यूनतम सेवा मापदण्ड मूल्यांकनमा ११ जिल्लामध्ये सबैभन्दा बढी अंक पर्वत अस्पतालले पाएको छ। विभिन्न सूचकका आधारमा गत आर्थिक वर्षमा गण्डकी प्रदेशमा नै उत्कृष्ट बनेको पर्वत अस्पताल यस वर्ष पनि प्रदेशमै उत्कृष्ट ठहरिएको हो।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीका अनुसार सुशासन तथा व्यवस्थापन, उपचार सेवा र व्यवस्थापन तथा अस्पताल सहयोग सेवा गरी मुख्य तीन विषयमा मूल्यांकन हुने गरेको छ।

ती तीन विषयमा केन्द्रित रहेर छ सय ४७ ओटा सूचकहरू राखेर त्यसमा अंक प्रदान गर्ने गरिन्छ। अघिल्लो वर्ष ७८ प्रतिशत अंकको साथमा प्रथम भएको पर्वत अस्पताल यस वर्ष ६५ प्रतिशत अंकको साथमा पहिलो बनेको हो।

‘मूल्यांकनका छ सय ४७ ओटा सूचकमा अस्पतालका विभिन्न कुराको मूल्यांकन हुन्छ। हामीले नयाँ क्यान्टिन निर्माणको लागि पुरानो क्यान्टिन भवन भत्कायौँ जसका कारण केही असुविधा भएकोले गत वर्षभन्दा कम अंक आएको छ’, पहाडीले भने, ‘अस्पताल व्यवस्थापन समिति, स्वास्थ्यकर्मी र कर्मचारी सबै एकबद्ध भएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन लागि परेका छौँ। सबैको सामूहिक बलबाट नै अस्पतालले अघिल्लो वर्षको नतिजा फेरि पनि पाएको हो।’

अस्पतालको सुदृढीकरणका लागि तय गरिएका योजनाहरूमा प्रदेश सरकार, जनप्रतिनिधि तथा अन्य सङ्घ संस्थाहरूको सहयोग र अस्पतालको सिङ्गो टिमको सक्रिय खटाइएका कारण आएको नतिजाले अस्पतालको सेवा र सुविधालाई झनै प्रभावकारी बनाउन प्रेरणा मिलेको उनको भनाइ छ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. ढुण्डिराज पौडेलले गत आर्थिक वर्षमा निर्धारण गरिएका सूचकहरूमा केही परिवर्तन गरिनु, निर्माणका कारण अस्पतालका पुराना भवन भत्काइनु तथा फोहोर मैला व्यवस्थापनको कामका लागि स्थान अभावका कारण अझ सोचे जस्तो काम गर्न नपाएका कारण अघिल्लो वर्षको तुलनामा यस वर्ष अंक प्राप्त भएको हो।

‘हामीले निर्धारण गरेका केही सूचकहरूमा परिवर्तन भयो, अस्पतालका पुराना भवनहरू भत्काइएको छ। ठाउँ अभावका कारण अस्पतालको फोहोर मैला व्यवस्थापनमा सोचेको जस्तो काम गर्न नसकिरहेको अवस्था छ’ उनले भने, ‘तर अब ती कुराहरूको पनि समाधान गर्दै हामी अगाडि बढ्ने छौँ। यहाँबाट प्रदान हुने सेवा र सुविधामा थप मिहिनेत गरेर अर्को वर्ष पनि यही नतिजालाई उच्च अंकको साथमा कायम गर्ने प्रयास हामीबाट हुन्छ।’

पर्वत अस्पतालले यस वर्ष पनि विगतका सेवाहरूलाई निरन्तरता दिँदै कोरोना संक्रमितहरुको उपचारका लागि ३५ बेडको आइसोलेसन सञ्चालन गरिरहेको छ। यस्तै मिर्गौलाको निःशुल्क डायलासिस सेवा पनि प्रदान गरिरहेको छ। अस्पतालमै रहेको अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनलाई अस्पतालका हरेक शय्यामा विस्तार गरिएको छ।

मेडिकल सुपरिटेन्डेन्ट डा. पौडेलका अनुसार चालु आर्थिक वर्षमा ७३ जना गर्भवतीसहित कुल एक सय ५१ जनाको सामान्य तथा केही जटिल खालका शल्यक्रियाहरू गरिएका छन्।

विशेषज्ञ चिकित्सकमार्फत बिरामीको दैनिक चेकजाँच गर्ने, आयव्ययलाई सफ्टवेयर पद्धतिमा राख्ने, विभिन्न सरकारी, गैरसरकारी संघ संस्था तथा विदेशमा रहेका पर्वतेलीहरूको सहयोगमा अत्याधुनिक उपकरणहरूको प्रबन्ध गर्ने काम भइसकेका छन्। अस्पतालको लागि निर्माण गरिएको नयाँ भवनमा ५० शय्या क्षमता रहने र विशेषज्ञ चिकित्सकहरू थपिँदा अस्पतालको सेवा झनै प्रभावकारी बन्ने उनको भनाइ छ।

यस वर्ष ६२ प्रतिशत अंकको साथमा स्याङ्जा अस्पताल दोस्रो स्थानमा आएको छ भने ६१ प्रतिशत अंकको साथमा दमौली अस्पताल तेस्रो स्थानमा रहेको छ। अघिल्लो आर्थिक वर्ष दमौली अस्पताल दोस्रो स्थानमा रहेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.