|

सुर्खेत : कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायका लागि एकीकृत नीति ल्याउने तयारी गरेको छ। 

जंगलमा फिरन्ते जीवन बिताउने यो समुदायको संस्कृति र परम्परालाई जगेर्ना र सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले नीति बनाउने तयारी गरेको हो। 

सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढाक्षत्रीले लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएको बताए। ‘एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखियो,’ सामाजिक विकास मन्त्री बुढाक्षत्रीले भने, ‘साउनदेखि नीति अनुसार काम हुन्छ।’ 

उनले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताए। बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षा प्रबन्ध, छाना, नाना र खानाको व्यवस्थापनलगायत विषय नीतिभित्र समेटिन्छन्,’ उनले भने, राउटेका आफ्नै मूल्य, मान्यता र संस्कृतिको संरक्षण गर्दै उनीहरूको सामाजिकीकरणमा मन्त्रालयले काम गर्नेछ।

पछिल्लो समय राउटे समुदायका दुई युवतीमाथि बाह्य समुदायका व्यक्तिहरूले गरेको बलात्कार घटनाले बस्तीको सुरक्षा र बाह्य व्यक्तिको प्रवेश निषेध आवश्यक रहेको महसुस भएको उनले बताए।

मन्त्री बुढाक्षत्रीले राउटे समुदायको संख्या घट्दै गएकोप्रति चिन्ता व्यक्त गरे। उनले बालबालिकामा रहेको कुपोषण न्यूनीकरण गर्न र उनीहरूको खानपानमा ध्यान दिन सरोकारवाला निकायहरूलाई निर्देशन दिए।

त्यस्तै सामाजिक विकास मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरूको संरक्षण आवश्यक रहेको बताए। ‘नेपालको एकमात्रै फिरन्ते समुदायको संरक्षण राज्यको दायित्व हो,’ उनले भने, ‘परम्परागत संस्कृति, संस्कार र मान्यतालाई आत्मसाथ गर्दै राउटेसम्बन्धी नीति तयार गरिरहेका छौं।’ राउटे नीतिमा समेट्नुपर्ने विषयबारे उनीहरूसँग छलफल पनि गरिने उनले बताए।

त्यस्तै प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले राउटे समुदायका युवतीमाथि भएको घटनापछि बस्ती सिल गरिएपछि धेरै विकृतिको अन्त्य भएको बताए।  उनले भने, ‘प्रशासनले अहिले बस्ती प्रवेशमा रोक लगाएको छ, राहत वितरणलाई एकद्वार प्रणाली लागू गरिएको छ।’

युट्युव, फेसबुक, टिकटकलगायत बनाउन जान्नेहरूका कारण पनि राउटे समुदायको संस्कृति, परम्परा र मान्यतामाथि खेलबाड भइरहेको उनले बताए।

यता गुराँस गाउँपालिकाका उपाध्यक्ष दीपा विसीले कर्णाली प्रदेश सरकारले राउटेको अभिभावकत्व लिनुपर्ने बताइन्। उनले गाउँपालिकाले अस्थायी नागरिकको परिचयपत्र दिएको बताउँदै अब राउटे समुदायलाई प्रक्रिया पुर्‍याएर नागरिकता वितरण गरिनुपर्ने आवश्यकता औंल्याइन्।

जंगलमा फिरन्ते जीवन बिताउने यो समुदाय अहिले सुर्खेतको गुर्भाकोट नगरपालिकामा बसोबास गरिरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.