|

योग दिवस होस् वा नहोस् योग आम मानिसबीच लोकप्रिय र जीवनोपयोगी रहँदै आएको छ। अझ आधुनिक विकासको उपभोग गरेर मानिस थाक्दै गएपछि योगप्रति बेस्सरी आकर्षित हुन थालेको छ।

वास्तवमा योग के हो?  स्व-स्वयं र स्थित-रहनु, आफ्नै स्वास्थ्य र स्वभावमा रहनु योग हो। वास्तवमा योग हाम्रो व्यवहारको परिणाम हो। कोरोना महामारीमा सबैभन्दा सचेत हामी आफ्नो स्वास्थ्यप्रति भयौं।

महामारीमा मात्र होइन‚ जीवनभरिको स्वास्थ्यप्रतिको सचेतना योगमार्फत हुनु पर्दछ। किनकि, यो आपत परेका बेला देवता पुकारे जस्तो मात्र हुनुहुन्न।

हातखुट्टा तन्काउनु, स्वास-प्रश्वासको प्रक्रियामार्फत शारिरिक व्यायाम गर्नु मात्र योग होइन। योग हाम्रो उद्गमदेखिकै स्वभाव हो। यससँग अपरिचित हुनु जीवनको दुर्भाग्य हो। योग मानिसको जीवनशैलीमध्येको एउटा महत्त्वपूर्ण माध्यम हो। तथापि यसको मर्म र व्यावहारिक अवलम्बन सबैले गरेको पाइँदैन।

योग हाम्रो जीवन पूर्णता साथ जिउन आवश्यक पर्ने जीवन पद्धति र पूर्ण जीवनशैली अनि आनन्दित जीवन जिउने कला हो। योगलाई मानिसहरुले शारीरिक स्वास्थ्य र तन्दुरुस्तीका माध्यम बनाएका हुन सक्छन्।

तर‚ योग शारीरिक समस्याहरूको समाधान मात्र नभएर जीवनका सम्पूर्ण समस्याहरूको समाधान हो। त्यसैले त भनिएको छ-

“भवतापेंन तप्तानाम योगो हि परमौषधम’’

अर्थात् सांसारिक दुःख कष्टहरूको एक मात्र औषधि योग हो।

संस्कृतको युज शब्दबाट योग अर्थात् जोड+हुदै वर्तमानमा अंग्रेजी प्रभावमा उच्चारण गर्न थालिएको योगा शब्दले र शारीरिक व्यायामको हिसाबले शरीर र मनलाई स्वस्थ राख्ने माध्यम योगको वर्णन गरिन्छ। अचेल अभ्यासमा ल्याइने योगलाई यति मात्र भनेर परिभाषित गरिनु र परम्परा चलाइनु चाहिँ अव्यावहारिक हुन जान्छ।

हुनत योगको पहिलो चरण शारीरिक व्यायामबाट सुरु हुन्छ। योग र यसका यसका आशनहरू, प्राणायाम, ऊर्जा जागरणले हाम्रो शरीर स्वस्थ राख्न मद्दत गर्दछ। तर यसको अन्तिम लक्ष्य अन्तर्मुखी हुनु, आफ्नो आत्म परिचयसँग नजिक हुनु हो। आत्मा के हो? जुन चिज जीवित छ त्यो आत्मा हो। त्यसैले स्वास्थ्य जीवित राख्न, स्वस्थ रहन योगका आयामलाई जीवनमा प्रयोगमा नल्याई सुखै छैन।

शरीर र मनभन्दा पनि परको चेतना जागृत गराउनु योग हो। योग अर्थात् जोड-शरीरलाई स्वास्थ्यसँग जोड्नु, मनुष्यलाई संसारबाट अध्यात्मतिर जोड्नु, मनबाट आत्मासँग जोड्नु हो।

योग भएन भने वियोग हुन्छ अर्थात् मनुष्य बहिर्मुखी हुन्छ। आफ्नो स्वास्थ्यप्रति समेत हेलचेक्र्याइँ गर्न थाल्छ। संसारमै भड्किन्छ र प्रेम अनि आत्माको मिलनसँग परिचित नै हुनबाट बञ्चित हुन पुग्छ। वियोग हुँदा हामीले जोडेको घर-बार, प्रेम, सम्पत्ति, मित्र-जन छुट्छन्। अस्तित्वबाट प्राप्त शरीर, शरीरसँगै जोडिएको आत्मा र त्यो परम चैतन्य हुँदै परमको अनुभूतिको लागि योग अवश्य जरुरी छ।

अझै गहिराइमा पुगेर कुरा गर्दा त्यो परमको चैतन्य स्वरूपको अनुभूति गर्ने र स्वयंमा स्थित हुने र स्वयंको स्वभावमा जिउनु नै मनुष्यको स्वभाव हो। यही नै योगको मर्म हो।

शुद्ध विज्ञान योग

ओशोले योगगुरु पतञ्जलिको सम्मान गर्दै भन्नु हुन्छ- ‘भौतिक विज्ञानले बाहिरको अनुभव सिद्ध गर्दछ भने योग अर्को शुद्ध विज्ञान हो। जसले भित्रको अनुभूतिलाई प्रस्फुटन गरिदिन्छ। अर्थात् भित्रको खोजको कला नै योग हो।’ ओशो अरु प्रस्ट पार्नुहुन्छ- ‘मनको समाप्ति योग हो।’

योग कुनै शास्त्र होइन, न त मानिसले गर्ने कुनै विधि नै हो, योग त मानिसको आचरण हो। योग भूत र भविष्यको जानकारी पनि होइन योग त केवल मानिसभित्रको वास्तविकता थाहा पाउने कला हो।

योग बाहिरी अनुभवभन्दा परको अमृत रसको अनुभूति हो। जून घटित भएमा मानिस सुख र दुःखबाट पार पाउन सक्दछ। योग वशिष्ठममा वर्णन गरिएको-

क्षणमानन्दितामेति क्षणमेति विषादितां, क्षणं सौम्यत्वमायाति सर्वस्मिन्नटवन्मनः

ओशोले अरु प्रष्ट पार्नुभएको छ- मानिस क्षणमा सुखी छ त क्षणमै दुःखी बन्छ। क्षणमै सम्पन्न ठान्छ त क्षणमै गरिब ठान्छ। किनकि, दुःख मनमा लाग्छ, मनमा आउँछ, गुनासो मनबाट आउँछ। त्यो मनदेखि पार पाउने योग भने ध्यान हो।

योगको अन्तिम चरण ध्यानलाई मानिसले बिर्सेको छ। त्यसैले त ओशोले सधैं मनुष्य जातिलाई सम्झाउँदै आउनुभएको छ- योग सम्पूर्ण विज्ञान हो। यसले विश्वास गर्न होइन बोध गर्न सिकाउँछ।

यसले सत्य र असत्यको कुरा गर्दैन केवल हाम्रो हेराई, हाम्रो दृष्टिबारे ईशारा गर्दछ र हामीभित्रको अपार सम्भावनाहरूतर्फ लिएर जान्छ। हाम्रो दृष्टि सकारात्मक हुनासाथ हामीले गरेका कर्म सकारात्मक हुन्छन र परिणाम पनि सकारात्मक नै।

अष्टांगिक योगका मर्म र परिणाम

योगका प्रणेता महर्षि पतञ्जलीले योगका आठ सोपानलाई मानिसको जीवनमा अपनाउन प्रेरित गर्नुभयो। तर, यसलाई हामीले सही तरिकाले जीवनमा अपनाएका छौं कि छैनौँ हेरौं।

यम

व्यवहारप्रति जागृत हुनु। हामी जोर बा दि बुद्ध हौँ। संसारमा आफ्नो पुरुषार्थ गरी सफल बन्नु र भित्र आफ्नो खुसी र शान्ति मिल्ने कर्म गरी व्यवहारमा सन्तुलन ल्याउनु यम हो।

पाँच यम- अहिंसा, सत्य, अस्तेय, ब्रम्हचर्य र अपरिग्रहलाई कसरी बुझेका छौं? अहिंसाको अर्थ मन, वचन र कर्ममा अरूलाई हानी नहोस् भनी सचेत रहनु हो। सत्यको अर्थ प्रामाणिकता अर्थात् पाखण्डी नहुनु। अनावश्यक झुठ नबोल्नु। शारीरिक, मानसिक, भावनात्मक, सामाजिक, आर्थिक र अध्यात्मिक सबै क्षेत्रमा पाखण्डी र अहंकारपूर्ण व्यवहार त्यागेर प्रामाणिकता पूर्ण व्यवहार गर्ने।

सत्यम् ब्रुयात्, प्रियम् ब्रुयात्, न ब्रुयात् सत्यम् अप्रियम्। सत्य बोल प्रिय बोल तर अप्रिय हुन्छ भने सत्य भएपनि नबोल।

अस्तेय- चोरी नगर्नु, शोषण नगर्नु, भ्रष्टाचार नगर्नु अस्तेय हो।

ब्रह्मचर्य- कामको होइन रामको चिन्तन गर्नु अर्थात् अपेक्षाबाट मुक्त भएर जागृत, सचेत र संयम बन्नु ब्रह्मचर्य हो। ’ब्रह्मणि रमते चित्तं यस्य’ को मर्म ब्रह्मचर्य हो। अपरिग्रह -अधिकारको भावनालाई त्याग्न सक्नु अपरिग्रह हो। ज्यादा लोभ नगर्नु, आवश्यकताभन्दा बढी कुनै पनि वस्तु सञ्चय नगर्नु। आफूले आर्जन गरेको कम्तीमा दश प्रतिशत दिनदुःखी लाई दान गर्नु अपरिग्रहको स्वभाव हो।

जीवनलाई अभिनयको रूपमा जीवन्तता दिने खुबी यम हो। साक्षी पूर्ण रही अकर्ता भावमा जिउन सक्नु यम हो। अब याद गरौँ योगको पहिलो सोपान हाम्रो व्यवहारमा प्रयोगमा आएको छ कि छैन?

नियम

आफ्नो आचरण अर्थात् स्वभावप्रति जागृत रहनु नियम हो। आत्मिक अनुशासन कायम राखी जुनसुकै क्षेत्रमा आफ्नो भूमिका, कर्तव्य र दायित्वप्रति सचेत रहनु नियमभित्र पर्दछ। पाँच नियम अन्तर्गत-शौच, सन्तोष, तप, स्वाध्याय र ईश्वर प्राणी धान पर्दछन्।

शौच-शारीरिक एवं मानसिक पवित्रता। त्यसैले शारीरिक स्वस्थ्य राख्ने खानपान, सरसफाई र मानसिक स्वास्थ्य कायम राख्ने सोचविचार एवं बाहिरी घटना र क्रियाकलापबाट बँच्नु शौच अन्तर्गत पर्दछ।

सामाजिक सञ्जाल, सञ्चारमाध्यम, टिभी लगायतका अनेक माध्यमबाट आउने सामग्री हामीलाई मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने खालका छन् कि छैनन् त्यो विचार पुर्‍याउनु शौचअन्तर्गत नै पर्दछ।

सन्तोष- आफूसँग जे छ त्यसको सम्मान गर्नु सन्तोष हो। अहिले र यहीँ, वर्तमानमा अस्तित्वको कृपाले जे प्राप्त भएको छ। त्यसमा रमाउने कला जान्नु सन्तोष हो। लोभ लालचबाट बचेर, आफ्नो इच्छा पूर्तिको लागि मिहिनेत गर्नु तर परिणाम जे आउँछ त्यसमा सन्तुष्ट रहनु नै सन्तोष हो।

तप- संकल्पवान बन्नु तप हो। जीवनमा जे सकारात्मक इच्छा र सोच छन्। तिनलाई पूरा गर्न संकल्पका साथ लग्नु तप हो।

स्वाध्याय- स्वयंको जीवनको अध्ययन गर्नु, आफ्नो जीवनशैली र व्यवहारको आफैं अध्ययन मनन गर्नु स्वाध्याय हो। बाहिरको सांसारिक सफलता र आन्तरिक शान्ति एवं आनन्द कसरी मिल्छ त्यसप्रतिको चिन्तन स्वाध्याय हो।

सामान्यतया सांसारिक सफलता र सम्मानका लागि भागदौड गर्दागर्दै स्व-सम्मान, आत्मसम्मान र स्व-परिचयबाट व्यक्ति टाढा पुगेको हुन्छ। स्वाध्याय योगको एउटा अंग हो।

ईश्वर प्राणिधान- जो निराकार छ, अजन्म छ, अदृश्य र अप्रकट अस्तित्त्वको रुपमा छ जसले सबैको कल्याण गरेको छ भन्ने शरणागत अवस्था। अस्तित्वगत विश्वास र आत्मविश्वासको अवस्था।

आसन

आसन अर्थात् आसानी सजिलो हुनुपर्छ। जसरी बस्दा सजिलो हुन्छ। त्यही आसनमा बसेर योग या ध्यान गर्नु। स्थिर सुखमासनम्, अर्थात् स्थिर भएर बस्न जुन आसनले मद्दत गर्दछ। त्यो सुखासन रोजेर आरामदायी तरिकाले योग गर्न सकिन्छ। योगलाई कठिन विधि या विषयको रूपमा लिनु पर्दैन।

प्राणायाम

प्राण-स्वास र आयाम-गति/लय वद्धता। प्राणायाम गर्ने अनेक विधि हुन सक्छन्। तर हाम्रो स्वास कुन लयमा चलेको छ त्यसअनुसार हाम्रो मन, भावदशा, विवेक र आत्माको अनुभूति हुने भएकाले समग्र विकासमा प्राणायामले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। स्वास-प्रश्वासलाई सरल र सहज बनाउन प्राणायामको अभ्यास जरूरी हुन्छ।

धारणा

धारणा अर्थात् धारण गर्नु, सम्हाल्नु, स्थिर हुनु र एकाग्र बन्नुलाई योगमा धारणा भनिन्छ। अगाडिका प्रक्रिया पूरा गरिसकेपछि मनलाई विचारभन्दा पर निर्विचार, आकारभन्दा पर निराकारमा स्थिर बनाउने अभ्यास हो। कसैको यादले, कुनै मन्त्रको प्रयोगले धारणामा स्थित हुन मद्दत गर्दछ।

ध्यान

सबै चञ्चलता निष्क्रिय भएर निष्क्रिय जागरूकताको क्षण ध्यानको अवस्था हो। बाहिरी जगतबाट अन्तरयात्रामा प्रवेश गर्नु ध्यान हो। वास्तवमा भन्नु पर्दा व्याख्या गर्न नसकिने तर अनुभूतिले शान्ति, शुन्यता र मौनताको अनुभूति गरिने क्षण ध्यान हो।

स्वयंको आन्तरिक गुणवत्तासँग परिचित हुनु ध्यान हो। स्वयंप्रतिको प्रेम ध्यान हो। अभ्यासरत हुँदै जाँदा जुन आन्तरिक सुख र शान्तिको बोधमा पुगिन्छ। त्यो अवस्था नै ध्यानस्थ अवस्था हो।

समाधि

समाधि अर्थात् समाधान। ध्यानभन्दा गहिरो अनुभूति, बाहिरी समस्याबाट समष्टिसँग मिल्नु, समत्वमा प्रवेश गर्नु, जहाँ कुनै भेदभाव र द्वैत छैन।

अद्वैतको अवस्था समाधि हो। गहन अभ्यास र अनुभूतिबाट मात्र यसलाई बोध गर्न सकिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.