|

'रूपचन’ अर्थात् रूपचन्द्र विष्टको जन जिब्रोमा भिजेको नाम। उनी जिउँदो छँदा कति यो नामदेखि तर्सिन्थे। कतिले यो नाम सुनेपछि मनमनै नमन गर्थे। मकवानपुर, अझ खासगरी पालुङ-सीमभन्ज्याङमा उनलाई नचिन्ने नजान्ने मान्छे नै थिएनन् त्यतिबेला। तिनीहरू जसले उनलाई चिन्दथे जान्दथे।

सबैका लागि रूपचन साँच्चिकै कुनै किंवदन्ती-पात्र जस्तै थिए। त्यो भेगका, भन्ने नै हो भने अझ देशकै नयाँ पुस्तालाई रूपचन को थियो र कस्तो थियो भन्ने कुरा थाहै छैन होला। त्यो थाहा दिने जिम्मेवारी पुरानो पुस्ताको हो।

मान्छे छक्क पर्थे, रूपचन दिवंगत भएकै पनि यतिधेरै वर्ष बितिसके तैपनि किन कोही बोल्दैन लेख्दैन उनको बारेमा? वास्तवमा भन्ने हो भने ठेली का ठेली पुस्तक लेखिनुपर्थ्यो उनको बारेमा। कलमबाज विचारक र चिन्तकहरूको त्यो सामाजिक जिम्मेवारी हुन जान्थ्यो।

राजनैतिक आस्था-सास्थालाई खोपामा राखौँ एकछिनका लागि। त्यसो त राजनीतिको धरातलबाट निकै माथि उठिसकेका मान्छे थिए रूपचन।

राजनीति के हो भन्ने कुरो त हामीले देखिसक्यौँ, भोगिसक्यौँ। जसले जति भाषण छाँटे पनि नेपालमा राजनीति के रहेछ भन्ने कुरा अहिले आएर घामजत्तिकै छर्लंग भैसकेको छ।

पालुङगको जनकल्याण हाई स्कुलमा पढाउँदा पढाउँदै मेरो कन्फर्मेशन आयो छात्रवृत्तिको। इन्जिनियरिङ पढ्न म रुस गएँ, अर्थात तत्कालीन सोभियत संघ। यो २०२७ भदौ तिरको कुरो हो। म मस्कोमा दोस्रो वा तेस्रो वर्षमा पढ्दै गर्दा रूपचन सोभियत संघ पुगे। मलाई खबर पठाए, म उनलाई होटलमा भेट्न गएँ।

छोटो भलाकुसारी पश्चात् आफ्नो स्वभाव अनुसार उनी ठाडै प्रस्तुत भइहाले, यो ठाउँ, यहाँका मान्छे पनि सबै उस्तै रे’छन्, खाली नाम मात्रै ठूलो बना’र तेर्स्या’का रे’छन्, बजार लगा’र।“

थाहा थियो, रूपचनलाई सोभियत संघले पनि छुन सक्तैन। त्यहाँभित्र सल्केको भाइरसलाई त्यहाँ टेक्नेबित्तिकै उनको आँखाले देखिसकेको रहेछ। उनको नाकले सुँघिसकेको रहेछ।

मैले नजानेरै प्वाक्क भनिहालेँ, “आखिर यहाँका पनि त मान्छे नै हुन् नि दाइ।“

बोल्न त बोलेँ तर तत्कालै मेरो सातो गैहाल्यो। किनभने मेरो बोलि खस्ने बित्तिकै उनले म तिर हेरेपछि मैले बुझिसकेको थिएँ। अब उनको बाण आउने भयो भनेर। रूपचनसँग विवादमा उत्रिनु भनेको कस्ता कस्ताका लागि त दुरूह थियो भने म फुच्चेको लागि त त्यो साँच्चै नै फलामको चिउरा चपाए सरि थियो।

एकछिनसम्म उनले मलाई आँखा तरिरहे, अनि भने, “ए, तेसो पो ! मलाई एउटा कुरा भन् त, सबै उस्तै हुने हो भने संसार त यस्तै नै रहन्छ? अनि यहाँ परिवर्तन भन्ने कुरा कसरी आउँछ? तँ पनि यहाँबाट सर्टिफिकेटको एउटा खोस्टो समातेर नेपाल जा, अरूले जस्तै मेशिनका पार्टपुर्जा बेच्, खा, सबै उस्तै हुने भएपछि ० ० ०।“

म चुप।

तर उनले भनेको त्यो कुराले मलाई जागिर खाउन्जेल पोलिरह्यो र अहिले पनि पोल्दै छ। औसत मान्छेहरू रूपचनबाट किन टाढा भाग्छन् र किन उनको खेदो खन्छन् भन्ने कुराको एउटा नमुना पनि हो यो।

जे होस्, रुपचनहरू भनेको लीगबाट हटेका मान्छे हुन्, औसत मान्छेका लागि सामान्य बोलीमा भन्ने हो भने—बौलाहा।

मलाई कताकता लाग्न थालेको - नेपालको सुनौलो भविष्यको रेखा कोर्ने भनेको यस्तै बौलाहाहरूले हो, जस्ता आफूलाई ‘सद्दे’ ठान्नेहरूले होइन झन बन्दुकेहरूले हुँदै होइन।

रूपचन् माथि बल्ल बोल्न र लेख्न थालिएको छ, यो राम्रो कुरो हो। मलाई लाग्छ यतिले मात्र पुग्दैन। ‘थाहा’ शब्दमा होइन ‘थाहा’ दर्शनको अन्तर्यमा पस्न र बस्न सक्ने समाज बन्नु पर्छ।

(ओझा सरकारी सेवाबाट अवकाश प्राप्त इञ्जिनियर हुन् ।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.