|

अर्घाखाँची : झिमरुक नदीमा आएको बाढीका कारण अर्घाखाँची र प्युठान जोड्ने निर्माणाधीन पक्की पुल भत्किएको छ। उक्त पुलले प्युठानको ऐरावती गाउँपालिका –१ माझिदमार र अर्घाखाँचीको शितगंगा नगरपालिका-७ चिउरेखोला जोड्छ।

चार दिनदेखिको निरन्तर वर्षा र त्यसपछि आएको बाढीले पुलको पिल्लर बगाइदिएको सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर अरुण केसीले जानकारी दिए।

उनले भने, ’चार दिनअघि ढलान भएको ३५ मिटर पुलको स्ल्याब भाँचिएको छ।’

इन्जिनियर केसीका अनुसार प्रिस्ट्रेसिङ प्रविधिबाट निर्माणाधीन पुल ढलान गरिएको चार दिन मात्रै भएको थियो। त्यसको १४ दिनपछि बिममा जडित लट्टा तान्नुपर्ने थियो।

संघीय सरकारबाट विनियोजित ७ करोड १२ लाख रुपैयाँमा निर्माण सम्झौता भएको डबल स्पानको ७० मिटर लम्बाइको पुल निर्माणको अन्तिम चरणमा पुगेको थियो। 

भदौ महिनासम्म गाडी सञ्चालन गर्ने लक्ष्यसहित निर्माण भइरहेको पुल बाढीले भत्काएको इन्जिनियर केसीले बताए। आर्थिक वर्ष २०७४/०७५ मा ठेक्का सम्झौता भएको उक्त पुलको सम्झौता अवधि आउँदो असार २८ गते सकिँदै थियो।

पुल निर्माणपछि आवतजावतमा सहज हुने आशा गरेका स्थानीयले यस वर्षको वर्षामा पनि जोखिम मोल्नुपर्ने भएको स्थानीय टीकाराम आचार्यको गुनासो छ

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.