प्रदेशको ८ करोड लगानी बेकार, संक्रमितले उपचार पाएनन्

|

जनकपुरधाम : कोरोना महामारीको पहिलो चरणको बेला करोडौं खर्च गरेर जडान गरिएको महोत्तरीको जलेश्वर अस्पतालको उपकरण प्रयोगविहीन बनेका छन्।

जलेश्वर अस्पतालले भेन्टिलेटरसहितको पाँच बेडको आइसियु सञ्चालनमा ल्याएको छ। प्रदेश २ सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा पाँच बेडको भेन्टिलेटर सेवा सुरु भएको हो। भेन्टिलेटर राखिए पनि दक्ष जनशक्ति अभावले सबै उपकरण प्रयोगविहीन अवस्थामा छन्।

प्रदेश सरकारले गतवर्ष कोरोना महामारीको पहिलो लहरकै बेला जलेश्वरस्थित जिल्ला अस्पताललाई कोभिड विशेष अस्पताल रुपमा विकास गर्न ८ करोड रुपैयाँ लगानी गरी उपकरण तथा भौतिक पूर्वाधार तयार गरे पनि जनशक्ति अभावमा ती उपकरण प्रयोगविहीन भएपछि संक्रमितहरु उपचारका लागि भौतारिन बाध्य छन्।

कोरोना भाइरस नियन्त्रण र उपचारमा सहजता निम्ति ५० शैय्याको कोभिड विशेष अस्पताल संचालन गर्न दुई करोड ५५ लाख ५२ हजार रुपैयाँको लागतमा पाँच थान भेन्टिलेटर, शैय्या, मनिटर, इकोलगायतका आइसियु सेटका उपकरण जडान गरिएको छ।

अस्पतालका मेसु डा. शतिश साहले भने, ‘गत वर्ष पनि कोरोना महामारीका बेलामा भेन्टिलेटर र आइसियु सञ्चालन गर्न दक्ष जनशक्ति नपाएर उपकरण प्रयोगमा ल्याउन सकिएन। वर्षभरि नै ती उपकरणहरु प्रयोगविहीन बनेर थन्किए र यस वर्षको अवस्था पनि त्यस्तै छ।’

डा. साहका का अनुसार दक्ष जनशक्ति उपलब्ध गराउन प्रदेश सरकारलाई पटक–पटक आग्रह गरिएको थियो। तर, कुनै चासो नलिएको कारण करोडौ रुपैयाँ खर्चेर जडान गरिएको उपकरण प्रयोगविहीन बनेको छ। सबै पूर्वाधारसहित सबै उपकरण भएर पनि कोभिड विशेष अस्पताल कामविहीन बनेको छ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सुरेश पाण्डेले पनि कोरोना महामारीले आक्रान्त बनेका बेला उपकरण भएर पनि प्रयोगविहीन अवस्थामै रहेको पनि स्वीकार गरे।

अस्पताल विकास समितिका अध्यक्ष पाण्डे भन्छन्, ‘दक्ष जनशक्तिको अभावमा भेन्टिलेटर र आइसियु सञ्चालन हुन सक्ने अवस्था नरहेकाले अहिले दोस्रो लहरको बेला पनि जलेश्वरमा कोभिड विशेष अस्पताल सञ्चालनमा आउन सकेन।’

गत वर्ष उक्त अस्पतालको मर्मत सम्भार, भौतिक पूर्वाधार तयार र कोभिड नियन्त्रण उपकरण जडानका निम्ति करिब आठ करोड रुपैयाँभन्दा बढी खर्च गरिएको थियो। ती खर्चको कुनै सदुपयोग नभएको देख्दा के काम भनेर मानव अधिकार रक्षक संजालका सचिव रञ्जन भण्डारीले टिप्पणी गरेका छन्।

भण्डारीले अस्पताल जाने संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न सुझाव दिएर अस्तालले पठाउने गरेको बताए। गम्भीर अवस्थाका संक्रमितलाई बाहिर जिल्लामा उपचारका लागि जानु परिरहेको उनले बताए। गम्भीर अवस्थाका संक्रमित उपचार आभावमा प्रादेशिक अस्पताल जनकपुरधाम, वीरगंज, धरान र काठमाडौ अन्यत्र जानुपरेको छ।

मेसु डा. साहले भने, ‘अस्पताल अब स्थानीय तहको मातहतमा गइसकेको छ। तर स्थानीय सरकारबाट कोभिड नियन्त्रण गर्न ठोस कदम चालिएको छैन। त्यसो हुँदा कोरोनाका बिरामी नराखिएको तथा उपचारसमेत शुरु गर्न नसकिएको हो। महोत्तरीमा फेला परेका संक्रमितहरूलाई ‘होम आइसोलेशन’मा पठाउने गरिएको छ।’

इतिहास बोकेको अस्पताल

जलेश्वर अस्पतालको इतिहास झण्डै १३० वर्ष भन्दा बढीको छ। यति धेरै वर्षको इतिहास बोकेको जलेश्वर अस्पताल उन्नतिभन्दा पनि अवनति हुँदै जाँदा रेफरर अस्पतालको नामले परिचित भइसकेकोमा प्रदेश सरकार पुनः अस्पताललाई उसको गुमेको पहिचान स्थापित गराउन प्रयास गरेकै हो।

श्री ३ वीर शमशेर जंगबहादुर राणाले वि.सं. १९४७ मा काठमाडौंमा वीर अस्पताल स्थापना गरेका थिए। सोपछि उपत्यकाबाहिरका शहरहरु वीरगंज, जलेश्वर, हनुमाननगर, तौलिहवा र नेपालगंजमा उनैको पालामा पृथ्वी वीर अस्पतालको नामले अस्पतालहरू स्थापना भए। तत्कालीन बेलादेखि वि.सं. २०२८ सालसम्म जलेश्वर अस्पतालले अञ्चल अस्पतालको रुपमा सेवा प्रवाह गरेको देखिन्छ।

जलेश्वर अस्पताल वि.सं. २०२८ सालतिर तत्कालीन गृहमन्त्री भोजराज घिमिरेको पालामा १५ शैय्याको जिल्ला अस्पतालमा स्तरोन्नति भयो। सोको भण्डै ४९ वर्षपछि गत वर्ष प्रदेश २ सरकारले पुनः जलेश्वर अस्पताललाई ५० शैय्याको अस्पताल बनाउने निर्णयअनुसार सबै भौतिक संरचना र उपकरणसमेत जडान गरियो।

वर्षौंपहिले जलेश्वर अस्पताल कालाजार उपचारको लागि विशेष ख्याति कमाएको जलेश्वर अस्पताल पछिल्लो समय रेफरर अस्पतालको रूपमा समेत बदनाम रह्यो।

यता, विगतमै जलेश्वर अस्पताललाई कालाजार अस्पतालको रुपमा तत्कालीन समय परिचित गराउन र कालाजारको सफल उपचार गर्न डा.द्वारिकाप्रसाद साहको भूमिका महत्वपूर्ण थियो। कुनै समयमा फोहोरको डंगुर, कर्मचारीको मनोपोली, साधन स्रोतको अभाव,दक्ष जनशक्ति अभाव लगायतका दर्जनौँ समस्याबीच सञ्‍चालन हुँदै आएको जलेश्वर अस्पताल पछिल्लो केही समय जलेश्वर नगरपालिकाको अधिनस्त र त्‍यसपछि प्रदेश सरकारले हेर्ने गरी व्यवस्था भएको छ।

उपकरण छ जनशक्ति छैन

अध्यक्ष पाण्डेले भने, ‘जलेश्वर अस्पतालको स्वरूप फेरियो तर दक्ष जनशक्तिको  गुणस्तरीय सेवा दिन समस्या भएको छ।’

गत वर्षदेखि नै ५ वटा भेन्टिलेटरसहितको सुविधामा अस्पताल सञ्‍चालन तथा व्यवस्थापन समितिले तयारी अवस्थामा राखे पनि प्रदेशबाट अझै उक्त भेन्टिलेटर चलाउने दक्ष जनशक्ति भने पूर्ति हुन नसकेको अध्यक्ष पाण्डेय बताउँछन्।

जलेश्वर अस्पतालले सौन्दर्यीकरण, पुरानो र नयाँ भवन मर्मत तथा सुधार, पार्क निर्माण, सरसफाइ, फोहोर मैला व्यवस्थापन, सटरहरू निर्माण, वाउण्ड्रीहरु मर्मत, आइसियु निर्माण, विभिन्न उपचार गर्ने कोरोना र आकस्मिक उपचार कक्ष तथा आइसियुमा अक्सिजन तथा सक्सन पाइप जडान, नयाँ एक्सरे मेसिन तथा भेन्टिलेटर,

अल्ट्रासाउण्डलगायतका मेसिन जडान, अटोमेटिक एनालाइजर जडान, पचास केवीको नयाँ स्टेवलाईजर, बायोग्यास चेम्बर निर्माण, फोहोर व्यवस्थापन भवन र फोहोर फाल्ने टेलर खरिद लगायतको सबै थोक छ, तर के गर्ने जनशक्ति नहुँदा बिरामीलाई उपचार दिन सकेको अवस्था सृजना हुन नसक्दा टुलुटुलु हेरेर बस्नुबाहेक केही गर्न नसकेकोमा आफैँलाई अप्ठेरो महसुस भइरहेको अध्यक्ष पाण्डेको कथन छ।

लापरबाही समाप्त नभएको गुनासो

अस्पताललाई चाहिने धेरै दक्ष जनशक्ति उपलब्ध हुन नसकेको, स्थायी कर्मचारी तथा अन्यमा समेत यथास्थितिवादी हाबी भएको, केन्द्रस्तरकै सेवा सुविधासमेत जनताले निःशुल्क पाउनुपर्ने अपेक्षा राखेको र जवाफदेहिताबाट कर्मचारी पन्छिने गरेको स्थानीयहरुको गुनासो छ।

महिला अधिकारकर्मी गुन्जा रायले सामान उपलब्ध हुँदासमेत अझै रेफर गरिदिऊँ रिस्क किन लिने? जस्ता सोच अस्पतालले परिवर्तन गर्नुपर्ने बताइन्। उनले अस्पतालमा सौन्दर्यता थपिए पनि अझै उपचारमा हुने लापरबाही समाप्त हुन नसकेको गुनासो गरिन्।​ अस्पतालबाहिरबाट राम्रो देखिए पनि भित्री मजवुतीको लागि धेरै काम बाँकी रहेको उनीहरुको भनाइ छ।

टिकटबाटै दैनिक ४० हजार

जलेश्वर अस्पतालमा समय परिवर्तनसँगै अस्पतालमा परिवर्तन भएको समेत अन्य सर्वसाधारणले स्वीकारेका छन्।

अस्पतालले पहिलेभन्दा बढी कोरोनाबाहेकको बिरामीहरूलाई सेवा दिइरहेको र विभिन्न जाँच तथा टिकटबाटै दैनिक ३० देखि ४० हजार रकम संकलन गर्ने गरेको अध्यक्ष पाण्डेयले बताए।

उनले कोरोनाकालमै समेत मासिक १५० भन्दा बढीलाई प्रसूति सेवा दिने गरेको जलेश्वर अस्पतालमा आकस्मिक उपचार र ओपिडीकै लागिसमेत अत्यधिक बिरामी आउने गरेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.