|

जनकपुरधाम : प्रदेश २ मा कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ७ जनाको मृत्यु भएको छ। प्रदेश २ का स्वास्थ्य निर्देशनालयको अनुसार मृत्यु हुनेहरुमा धनुषाका एक, पर्साका २ र रौतहटका ४ जना छन्।

धनुषाको जनकपुरधाम स्थित एग्रो व्यवसायी ५८ वर्षीय धर्मनाथ साहको कोरोना संक्रमणको कारण मृत्यु भएको हो।

स्वासप्रश्वासमा समस्या देखिएका साहको काठमाडौंस्थित ग्राण्डी अस्पतालमा बिहीबार दिउँसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। सुरुमा जनकपुरधामको काव्या अस्पतालमा उपचार गराइरहेका व्यवसायी साहको उपचार सम्भव हुन नसक्दा तीन दिनअघि हेलिकप्टरबाट काठमाडौँ लगिएको थियो।

जनकपुरधामको भानु चोकस्थित नेपाल एग्रो सेन्टरका सञ्चालक साहलाई तीन दिनदेखि हस्पिटलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। 

त्यसैगरी वीरगञ्जको नारायणी अस्पतालमा उपचार गराइरहेका पर्सा जगरनाथपुर गाउँपालिका– ८ का ५५ वर्षीय एक पुरुष र वीरगञ्ज महानगरपालिका वडा नम्बर ४ का ७० वर्षीय एक पुरुषको मृत्यु भएको अस्पतालका कोभिड संयोजक डा. सरोज रोशन दासले जानकारी दिए।

त्यस्तै नारायण अस्पताल मै उपचाररत रौतहट फतेपुरका ६० वर्षीया एक महिला, विजयपुरका ४५ वर्षीय एक पुरुष, गौर नगरपालिका २ का ५४ वर्षीय एक पुरुष र गरुडा नगरपालिका ३ का ४७ वर्षीय एक पुरुषको पनि उपचार क्रममा मृत्यु भएको संयोजक डा. दासले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.