|

जुम्लाको सिंजा गाउँपालिका-२ का कोरोना सङ्क्रमित स्थानीयबासीलाई पालको बासमा राखिएको पाइएको छ। सङ्क्रमितलाई अस्पतालको आइसोलेसन शैयामा राख्नुपर्ने अवस्थामा बस्ने ठाउँ नभएर जंगलको छेउमा टहरा बनाएर बसिरहेको व्यवस्थामा भेटिएका छन्। 

सिंजा गाउपालिका –२ का कोरोना सङ्क्रमित चन्द्रवीर तिरुवालाई अस्पातलले घर पठाइदिएपछि अहिले उनी पालमा बसिरहेका छन्। घरमा छुट्टै बस्ने संरचना नभएपछि जंगलको छेउमा पाल बनाएर बसेका हुन्। ​

तिरुवालाई उपचारार्थ सो गाउँपालिकाले ९ दिन अगाडि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा उपचारार्थ  पुर्‍याएको थियो। अस्पतालमा  कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएपछि शैया हुँदाहुँदै घर पठाइदिएको उनले आक्रोश पोखे।

अस्पतालको शैयामा बसेर सजिलो होला भनेको त घर पठाइदिने निर्णय गरेपछि त्यहाँको नियम र व्यवहारप्रति आफू अपहेलित भएको उनले बताए। भने,' प्रतिष्ठानका चिकित्सकले मलाई स्थानीय तहको आइसोलेसन शैयामा राख्नुपर्ने भनेर फर्काइदिए।​ मजस्ता व्यक्तिलाई त यस्तो गर्छन्, अरुलाई के गरे होलान्।'

त्यहाँ पुगको राष्ट्रिय मानव अधिकार आयोग र पत्रकार महासंघको टोलीलाई गुनासो गर्दै उनले कोरोना सङ्क्रमितलाई आइसोलेसनमा बस्ने व्यवस्था गर्न पहल गरिदिन अनुरोध पनि गरे।​

सिंजा – २ का वडाध्यक्ष नवीन शर्माले भने, 'हामीले कोरोनाको शंका मानेर प्रतिष्ठानमा स्वास्थ्य जाँच गर्न पठायौँ।  बिरामी फिर्ता पठाइदिएपछि हामीलाई हैरान भयो। गाउँमा दौडादौड हुन्छ,' उनले आइसोलेसन हुने प्रकारका घर र संरचना नभएको पनि बताए।

गाउँपालिकामा  पाँच शैयाको अस्थायी कोभिड अस्पताल रहेको गाउँपालिका स्वास्थ्य संयोजक नरबहादुर रोकायाले बताए। उनले भने, 'सङ्क्रमित व्यक्ति राख्ने भन्ने सोच हो। पूर्वाधार छैन। अक्सिजन र अन्य सामग्री अस्पतालमा नभएकाले समस्याले यो समस्या खडा भएको हो।' 

बिरामीलाई रगतमासी देखिएको भनेपछि औषधि पठाइएको गाउँपालिको स्वास्थ्य शाखाले जनाएको छ। प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा राजिव शाहका अनुसार प्रतिष्ठानले अव श्वासप्रश्वासबिना बाच्न नसक्ने बिरामीका लागि मात्रै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएको जानकारी दिए। उनले भने,'लक्षण भएका तर कठिन नभएका बिरामीलाई स्थानीय स्तरमै व्यवस्थापन गर्दा हामी जोखिममा नहुने र कठिन परिस्थितिका बिरामी अहिले भर्नादर बढिरहेकाले अस्पतालका शैया अक्सिजन आवश्यक पर्ने कोरोना रोकथामका बिरामीलाई आवश्यक रहेको छ।'

अहिले प्रतिष्ठानमा ६६ सङ्क्रमितमध्ये ११ जना अक्सिजन आवश्यक पर्ने बिरामीको उपचार भइरहेको छ। सरकारले बनाएका आइसोलेसन खाली हुँदा पनि भिन्नै पाल बनाएर बसेको जानकारी आएपछि राष्ट्रिय मानव अधिकार आयोगको टोली सो स्थानमा पुगेर अनुगमन गरेको थियो।

आयोगको अनुगमन टोलीले सङ्क्रमित बसेको स्थानमा ३० मिटर टाढाबाट आवश्यक सुरक्षामापदण्ड अपनाएर पालमा बसेका सङ्क्रमति तिरुवाको अवस्था अवलोकन गरेको हो।

आयोग अधिकृत धनराज शाही र किरण बरामसहित पत्रकार महासंघको टोली पुगेर पालको बसाइ र अवस्थाका विषयमा आफन्तसँग बुझेको छ। यसका साथै आयोगको अनुगमन टोलीले कोरोना रोकथामका लागि स्थानीय सरकारले गरेको तयारी, समस्या र चुनौतीका विषयमा सिंजा क्षेत्रको हिमा, सिंजा गाउँपालिकाका जनप्रतिनिधिसँग भेटघाट गरी अवस्था अवलोकन गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.