|

काठमाडाैं : युरोपियन च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च क्लब पिएसजी पुनरागमनको लक्ष्यसहित इंग्लिस क्लब सिटीविरुद्ध मैदानमा उत्रँदै छ।

सेमिफाइनलको पहिलो लेगमा सिटीले २-१ को जित निकाल्दै बलियो अवस्थामा रहँदा पिएसजीलाई स्वाभाविक दबाब रहने छ। त्यसो त सिटीसँग पछिल्लो समय निरन्तर निरीह रहेको पिएसजीका लागि मंगलबार जित निकाल्न थप चुनौती छ।

पिएसजीसँग पछिल्लो ६ खेलमा सिटीले लगातार जित निकालेको छ। त्यसैले सिटी आज राति आत्मविश्वासी देखिने छ। सिटी यो पटक रहिम स्टर्लिङको विश्वासमा रहँदा पिएसजीका लागि भने एम्बाप्पे मैदानमा रहने या नरहने निश्चित छैन। लिग वानका दौरान चोट बोक्न पुगेपछि उनको उपस्थिति अन्योलमा छ। सिटीको घरेलु मैदानमा हुने खेलमा कम्तीमा २-० को जित पिएसजिका लागि अपरिहार्य छ।

पिएसजी प्रशिक्षक माउरिसियो पोचिन्टिह्वोले पुनरागमनको लक्ष्यसहित मैदान उत्रने बताए। उनले युवा स्टार एम्बापे फर्कन सक्ने आशा राखे। एम्बाप्पेले जारी सिजन ४३ खेलमा ३७ गोल गरेका छन्। त्यसैले पनि पिएसजीको आशाका रुपमा उनी रहने छन्। अर्का ब्राजिलियन स्टार नेयमारले पनि कुनै पनि मूल्यमा जितका लागि मैदानमा उत्रने बताएका छन्।

सिटी आफ्नो घरेलु मैदानमा २०१६ यता पिएसजीसँग अपराजित रहेकाले पनि उसका लागि आत्मविश्वास थप बलियो रहेको प्रशिक्षक पेप ग्वार्डिओला बताउँछन्। उनले खेलाडीसँग बलियो आत्मविश्वास रहेकाले घरेलु मैदानमा थप प्रभावशाली प्रदर्शन गर्ने बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.