|

एउटा भन्दछ यो हो पाजी

अर्को भन्दछ यो छ बिराजी

भन्दछ तेस्रो आत्माराम

पढोपढोजी राखो नाम

-पिंजराको सुगा

जिन्दगीको यात्राका घुम्ती र मोडहरूमा यो पंक्तिकार पटकपटक यो श्लोकसँग ठोक्किन पुग्छ। यो श्लोक उसँग ठोक्किन आइपुग्छ। अनि आफैँ चकित पर्छ, बिलखबन्द र जिल्ल पर्छ। सम्झिन्छ एउटा भनाइ- ‘क्या हो मैना?’

‘क्या हो! क्या हो !!’

‘हो, क्या हो क्या हो अथवा के होइन, के होइन!’ कसरी निधो गर्ने? कसरी कुनै कुरालाई मान्ने कुनैलाई नमान्ने? के आधारमा कुनै कुरालाई ठीक भन्ने कुनैलाई बेठीक?

अझ वृहत् मापका वा उच्च स्थानबाट गरिएका निर्णय र काममध्ये कतिपयले ठूलै विवाद खडा गरिदिन्छन्। यद्यपी; कतिपय भने विवादका निमित्त विवादमात्र भएको होइन भन्न नसकिने हुँदैनन्। सायद कतिपय यथार्थको यही नियति होला ! यसरी नै गुज्रिनुपर्ने होला इतिहासले।

पृथ्वीनारायण शाहलाई क्रुर, आततायी, साम्राज्यवादी आदि भनेको मनग्गे नै भेटिन्छ। सायद उनले नेपाल एकीकरण नगर्नुपर्थ्यो। त्यसमा बाधा पुर्‍याउनेलाई बाधा पुर्‍याउन दिइरहनुपर्थ्यो। अझ ‘मनासिब हजुर!’ भन्दै अभियान परित्याग गरेर बैरीहरूसामु त्वम् शरणम हुनुपर्थ्यो होला।

शुक्रराज शास्त्रीहरूलाई पनि कुहिना भएर पहरासँग जोरी नखोज्न हजारौँले सुझाव दिएका थिए होला। उनीहरूले पनि राणाहरूका शरणमा गएर स्वतन्त्रताको अभियान त्याग्नुपर्थ्यो होला।

तर, उनीहरूले न कुनै आलोचना सुने- न सुझाव माने। न सामुन्नेको महाविकट आपत्तिसँग हार माने। कुन ठीक थियो होला?

उनीहरू पछि सरेका भए कुनै अर्को अनि अर्को अघि सर्थ्यो होला। किनकि इतिहासको बडो नकच्चरो स्वभाव हुन्छ, गतिहीन नरहने।

लङ्‌काबाट फर्केपछि सीतालाई अग्निपरीक्षा गराउने तयारी गर्न रामले अह्राउँदा लक्ष्मण स्वयं रिसले आगो भएको दृश्य रामायण हेरेका सबैले देखेको कुरा हो। आजसम्म पनि उनका यस कार्यको त्यत्तिकै आलोचना भैरहन्छ, जति उनलाई राज्यबाट निष्कासन गरेकोमा हुन्छ। तर, जतिसुकै ठूलो विरोध वा आलोचनाका बाबजुद दुवै काम गरिए।

कृष्णलाई त महाभारतको युद्ध रचाएकोमा गान्धारीले उनको वंश नै नाश हुने श्राप दिइन्।

भानुभक्तले नेपाली भाषामा लेखेकोमा कति धेरै आलोचना खप्नुपर्‍यो, कति धेरै खप्की ! भनाइ छ केही पण्डितहरूले पर्वतको कुनै ठाउँमा बोलाएर उनको ठूलो बेइज्जत नै गरे अरे। तर, उनले नेपालीमा साहित्य सिर्जनाको लगन छोडेनन्।

यस्ता हजारौँ उदाहरण पाइन्छन्, जुन आलोचना हुँदाहुँदै पनि गरिए, विरोध हुँदाहुँदै पनि भए, बाधा–अडचन गरिएपनि सम्पन्न भए। सायद सभ्यताका गतिको यो टार्न नसकिने यथार्थ पनि हो र अविस्मरणीय इतिहास पनि।

यस्ता काम र आलोचनामा कति आलोचना चाहिँ सही पनि हुँदा हुन्, कति काम पनि। त्यस अवस्थामा त्यस कामका कारण अनावश्यक दु:ख र धनजनको अनावश्यक क्षति पनि ब्यहोर्नुपर्छ।

नेपालमा पञ्‍चायतको ठूलो विरोध भएको थियो। जसरी आज कति जनाबाट बहुलता, गणतन्त्र र संघीयता इत्यादिको विरोध जारी छ। जर्मनीमा पनि बर्लिनको पर्खाल बनाउँदा ठूलो विरोध भएको थियो। पछि त्यो ढल्यो पनि, पञ्‍चायत ढले झैँ। त्यो बनाउँदाको श्रम र साधन व्यर्थ भयो।

सायद सभ्यता यसरी नै अघि बढ्छ। कामको प्रयास, केही आलोचना केही समर्थन, काम तथा परिणाम हुँदै, कतिपटक वादविवाद, झैं-झगडा र युद्धसम्म गर्दै र सुधार परिवर्तन हुँदै।

सायद गर्दै सिक्दै अथवा ‘लर्निङ बाइ डूइङ’ भनेको यही होला। मात्रै यस्ता आलोचना, समर्थन र काम शान्तिपूर्ण होऊन्‌, अत्याग्रह वा पूर्वाग्रह मात्र नभएर औचित्यपूर्ण होऊन्‌, आलोचनाभन्दा समर्थन बढी पाउने होऊन्‌, लागतभन्दा लाभ बढी दिने होऊन्‌। दीगो होऊन्‌, दु:ख घटाऊन्, सुख थपून् र पश्चात्ताप नभएर गौरव तथा सन्तोष दिऊन्‌।

तर, यसको पनि ग्यारेन्टी भने हुँदैन। एक हदसम्म समाजको सामाजिक, बौद्धिक इत्यादि स्तर अनुसार हुने भएपनि।

सँगै यस्ता कुरा सायद निरन्तर प्रयास नै हुन्-अनुमान, कल्पना र प्रयोगका; परिणाम, सुधार, परिवर्तन पुन प्रयासका...।

यही वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्मित धरहराको उद्घाटन गरेपछि पनि समर्थन र आलोचनाको खनौरो नै लाग्यो। केही बान्की हेरौँ-

'...रत्नपार्क, असन गल्ली, भोटाहिटी, खुल्लामञ्चका अँध्यारामा
मसिना स्वर सुनिन्छन्-‘छ्या, कति पात्तिएर उठेको हो धरहरा...
एकधरो कौपीन बाँधिदेऊ धरहरालाई
यसलाई सुनधाराको नाइटोमा धसिन दिनुहुँदैन...'

'...तिमी चाहौला
​तिमीसँगै म पनि रमाऊँ, म पनि हाँसूँ
म त्यसो गर्न सक्तिँन
मलाई माफ गर साथी
यो बेला निक्कै उत्कर्षमा छ
मृत्युको मेराथन रेस
बिरामीको भर्तिकेन्द्रमा परिणत छ सिङ्गो देश।

'यो धरहरा होइन, ओली टावर हो।'

'फेरि उठ्यो नेपालीको शीर, धरहरा।'

'धरहरा धरहरा होइन, रमिते खम्बा हो। पहिले भीमसेनको सनक भनिन्थ्यो, अब ओलीको सनक भयो। काठमाडौँको ऐतिहासिकता देखाउँदैन यसले।'

'मध्य शहरको यो विशाल धरहरा ढलेका दिन झन् बढी नोक्सान हुनेछ।'

'ऐतिहासिक स्मारक पुनरुद्धारका शर्त र निर्देशिका हुन्छन्। तर, यसमा वणिकताको मात्र ख्याल गरियो...काठमाडौँको माटो अनुकूल छैन यो, मात्रै आँखाको कसिङ्गर।'

'यो धरहरा हो, अरू केही होइन। पुरानै ठाउँमा सम्भव थिएन, न उही खर्चमा। नयाँ पुल नयाँ ठाउँमा बनिन्छ, समयानुसार नयाँ खर्चमा, पीतपत्रकारिता नगरूँ।'

'ओली टावर भन्नुपर्ने हो यसलाई।'

'घमन्डको धरहरा अझै चढौँ हजुर! लाभ-हानिको किताब अझैं पढौँ हजुर! गलहत्याएर जनको जिजीविषालाई स्वार्थै स्वार्थको कुण्डमा अझै गढौँ हजुर'।

सामाजिक संजालबाट साभार यी थोरै उद्धरण हुन्।

यही हो ‘फूलको आँखामा फूलै संसार’को सार अर्थात् ‘धरहरा एक प्रतिक्रिया अनेक!’

जीवनको यथार्थ हिँडिरहनु हो-सहजमा पनि असहजमा पनि! लोककथाको गधा र बाबुछोरा जस्तै। यद्यपी; गधालाई त्यत्तिकै हिँडाए पनि, कोही एक जना वा दुवैजना चढेपनि आलोचना नै हुन्छ !

तर, सर्वसाधारण समाज र विशेष काव्यिक अभिव्यक्ति गर्नसक्ने विशेष व्यक्तिको भने दायित्व पनि फरक हुनुपर्ने। जस्तो कि भाषाशास्त्रमा अभिव्यक्तिलाई ठूलो काम नै भनिन्छ, जसले दृष्टि र दायित्वको सिर्जना गर्नसक्छ।

यो पंक्तिकार सम्झन्छ-साहित्यकार विजय चालिसेका पंक्ति- 'लेखन स्वान्त सुखाय वा आफ्नै आनन्दका निमित्त मात्रै हो भन्ने म ठान्दिनँ। लेखन पाठक र समाजप्रति समर्पित हुन्छ। त्यसैले यो व्यक्तिगत शोख, सुखानुभूति र लहडको मात्र विषय हुनसक्दैन, जिम्मेवारी विहीन, अर्थहीन प्रयोग मात्र पनि लेखन हुनसक्दैन। साहित्य जीवन निरपेक्ष हुनसक्दैन, समाज निरपेक्ष हुनसक्दैन।'

यो धरहरा नयाँ निर्माण नै हो। तर, खासगरी सैनिक निगरानी र सूचनाको प्रयोजनले भनेर संवत् १७६८ मा निर्मित भीमसेनस्तम्भ पनि कहिने साविक ऐतिहासिक धरहरा २०७२ को भुकम्पमा फेदैदेखि भाँच्चिँदा सट्टामा निर्मित।

यसमा स्वभावतः अत्याधुनिक प्रविधिको प्रयोगद्वारा जुद्ध शमशेरद्वारा पुन:निर्मित ९ तलेको सट्टा भूमिगत तहसमेत २५ तला छन्। भनिन्छ-व्यावसायिक र सांस्कृतिक प्रयोजन समेत राखेर यसलाई अझ विस्तृत र सुव्यवस्थित पार्ने प्रयास भएको छ।

२०७३ बाट प्रारम्भित यसको निर्माण कोरोनाको सवारी हुँदा सायद तीन चौथाई पूरा भैसकेको थियो।

संयोगले यस अवधिमा प्रसाद नामका प्रधानमन्त्री भएका छन्। हुन त त्यहाँ पहिले शमसेर भएजस्तै कुनै बहादुर, नाथ, प्रसाद या कुमार जुनै नामका प्रधानमन्त्री हुनसक्थे र त्यसले नेपालको राष्ट्रिय ऐतिहासिक पहिचान बनिसकेको धरहरा हालको आकार प्रकारमा धेरथोर फरक परेपनि बनिने निश्चयमा सायदै फरक पर्थ्यो होला।

यस्तो निर्माण सम्पन्न भएपछि सन्दर्भ अनुसार कुनै दिन पक्कै उद्घाटन पनि हुन्थ्यो नै। त्यसबेला पनि आलोचना र प्रशंसामा अनेक प्रतिक्रिया व्यक्त हुन्थे होला। कारण-एउटा वास्तविक लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुन्छ, हुनैपर्छ।

जिम्मेवारीपूर्वक अभिव्यक्त परिपक्व भावना नै त जनमतलाई वास्तविक सुसूचित र थप उत्साहित पार्न सक्षम हुन्छन्। त्यसबाट राष्ट्रिय भावना समग्रमा अझ सुदृढ हुन्छ, गन्तव्य अझ स्पष्ट र लोकतन्त्र अझ परिपक्व !

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.