|

- सुरक्षा सुवेदी

यतिखेर दक्षिण एसियामा कोरोना (कोभिड-१९) महामारीको दोस्रो लहर फैलिइरहेको छ। भारत आक्रान्त भइरहेको छ र छिमेकी देशहरूमा पनि संकटपूर्ण अवस्था देखिँदैछ।

दोस्रो लहरमा फैलिएको भाइरसले विशेषगरी बालबालिकालाई आक्रमण गरिरहेको तथ्यांकले देखाएको छ। सरकारले विधालयहरू बन्द गरी अनलाइन माध्यमबाट कक्षा संचालन गर्न आह्वान गरेको छ। राजधानी काठमाडौं उपत्यका लगायत अति प्रभावित क्षेत्रहरू पहिचान गरी सरकारले निषेधाज्ञा जारी गरेको छ।

तथ्यांक हेर्दा नेपालमा गत वर्षदेखि हालसम्म २३ हजार १ सय ३७ बालबालिकामा संक्रमण पुष्टि भइसकेको छ। त्यसमध्ये ४० जनाको मृत्यु भएको र यो बढ्न सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कोरोनाको दोस्रो चरणको लहरमा बालबालिकाहरू उच्च जोखिममा देखिएकोले अभिभावकहरू थप सजग हुन जरुरी छ। निषेधाज्ञा जारी भएपश्चात बालबालिकाहरू घर बहिर निस्कन पाएका छैनन्। लामो बिदामा बालबच्चाहरू आफन्तजनकहाँ जाने, घुम्ने र रमाइलो गर्ने गर्थे। तर, अब फेरि घरको कोठामै बस्नुपर्ने बाध्यता निम्तिएको छ।

अभिभावकहरूलाई कोराना संक्रमणको असर र जोखिमबारे थाहा भएपनि कत्ति बालबालिकालाई यसबारे जानकारी नहुन सक्छ। लामो समयसम्म घरकै बन्दीजस्तो भएर बस्दा बाल बालिकाहरूमा मनोवैज्ञानिक असर पर्न जान्छ। त्यसैले अभिभावकहरू विशेष सचेत हुन जरुरी छ।

यस्तो बेला अभिभावकको भूमिका एकदमै महत्वपुर्ण हुन्छ। अभिभावकहरू आत्तिनु हुँदैन। बालबालिकाहरूलाई  'हामी सुरक्षित छौँ' भनेर आश्वस्त बनाउनुपर्छ। असुरक्षाको भावना पैदा गर्नु हुँदैन।

उनीहरूलाई डर देखाउनु हुँदैन, सान्त्वना दिनुपर्छ। कोरोना भाइरस संक्रमण हुने कारण र अपनाउनु पर्ने सावधानीहरूबारे जानकारी गराउनुपर्छ।

हेरचाह कसरी गर्ने ?

१) अभिभावकहरूले अनावश्यक डर उत्पन्न हुने समाचार, भिडियो तथा अन्य नकारात्मक कुराहरू बच्चाहरूको अगाडि नगर्ने नदेखाउने।

२) बालबच्चाहरूको सरसफाइमा विशेष ध्यान दिने। मास्क प्रयोग, साबुन-पानीले हात धुने तरिका र स्यानिटाइजर प्रयोग गर्न सिकाउने।

३) बालबच्चाहरूको रुचि अनुसारका क्रियाकलापहरू गराउने। गीत गाउने, नाचगान, कथाका किताब, बालपत्रिका वा उनीहरूले मन पराउने पाठ्यसामग्री दिने।

४) रोग प्रतिरोधात्मक शक्ति वृद्धि गर्न खानेकुरामा विशेष ध्यान दिने। झोलिलो खानेकुरा, दुध, अन्डा, फलफूल, साग र गेडागुडीजस्ता खानेकुरा खुवाउने।

५) यो मौसम परिवर्तन हुने समय समेत भएकोले मौसमी रुघाखोकी र ज्वरो आउन सक्छ। त्यसैले, यस्तो लक्षण नदेखिएपनि हरेक दिन तातो पानी, अदुवा, बेसार र तुलसीको पातजस्ता घरेलु सामग्री प्रयोग गरेर पानी खुवाउने।

६) बालबालिकालाई कोराना संक्रमणको लक्षणसँग मिल्दाजुल्दा लक्षणहरू देखिएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थाहरूमा सम्पर्क गरिहाल्ने।

७) घरमा कसैलाई रुघाखोकी, ज्वरो आएको छ भने बच्चाहरूलाई उनीहरू नजिक नराख्ने। बच्चाहरूलाई घरबाहिर जानै नदिने। घरको छतहरूमा सावधानीपूर्वक डुलाउने र खेलाउने। उदाउँदो घाममा राख्ने। बिहान-बेलुकी तोरीको तेलले मसाज गरिदिने।

८) मोबाइल वा ट्याबमा गेम मात्र खेल्न दिँदा बालबालिकालाई मोबाइलको लत बस्न सक्छ। उनीहरूलाई गेममा मात्र नभइ अन्य ज्ञानवर्द्धक सामग्री हेर्न सिकाउने।

९) घरका सबै परिवार एकसाथ बसेर टिभीमा रमाइला, ज्ञानगुनका तथा मनोरञ्जन च्यानलहरू हेर्ने। 

१०) बालबालिकाहरूलाई घरभित्रै उनीहरूले सक्ने कामहरू लगाउने। उनीहरूको उमेर अनुसार घरका सामानहरू मिलाउने, सफासुग्घर गर्ने तथा अभिभावकको निगरानीमा पानी उमाल्न, चिया पकाउन तरकारी केलाउन सिकाउन सकिन्छ।

(सुरक्षा बाल स्वास्थ्य नर्स हुन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.