|

मदन भण्डारी भन्नुहुन्थ्यो-‘जनतालाई नचाहिएको कुरो हामीलाई पनि चाहिँदैन, जीवनका लागि सिद्धान्त चाहिन्छ, सिद्धान्तका लागि जीवन होइन।’

आपसमा वाक युद्धमा लागेर तानातान गरिरहेका केपी ओली र माधव नेपालबीच भेटघाट हुँदा देशले राहतको सास तानेको थियो। तर, यी दुई जनालाई जनताको खुशी शायद मन पर्दैन कि क्या हो ! हप्ता दिनमै नयाँ उचाइमा पुन: वाकयुद्ध शुरू भैहाल्यो। यो वाक्युद्धबाट​ के पाउनुहोला उहाँहरूले? मैले र जनताले मात्र नबुझेको होइन, उहाँहरू आफैँले यसो विचार गर्नुभयो भने आफैँले पनि नबुझ्ने पक्का छ।

आफूभित्रको सामन्तवादलाई जित्न नसकेकै कारण सबैतिर कम्युनिष्ट पार्टी सुक्न थालेको रहेछ। अहिले नेपाली कम्युनिष्टहरूका लागि भने समाजवादी बाटोतिर लाग्ने स्वर्णिम अवसर थियो। तर, के परेछ कुन्नि ! मूलमै फोहोर भयो। तल झरनाबाट पानी बिथोलिएको होइन। मूलमै फोहोर परेपछि तलतिर बिगार पर्न थालेको मात्रै हो। अर्थात, मूल सफा भयो भने नेकपा (एमाले) का सबै समस्या एकैचोटी हटेर जान्छन्‌।

नेपाली राजनीतिमा जति चर्को नारा लायो-त्यति ज्यादा क्रान्तिकारी हुने रोग बसेको छ। माओ चतुङ पढेर 'मार्क्सवादी हुँ' भन्ने नेपालमा थुप्रै छन्। स्टालिनको ‘लेनिनवादका आधारहरू’ पढेर लेनिनवाद भनेको ‘मार्क्सवादको उच्च रूप हो’ भन्ने हामीहरू अहिले पनि जिउँदै छौं। म त अहिले त्यो बिमारीबाट मुक्त भएको छु। तर, हाम्रो पार्टीका अरू नेताहरू अहिले पनि त्यही जडतामा हुनुहुन्छ।

कमरेड केपी ओलीको निरंकुश र एकलकाँटे कार्यशैली आकाशबाट आएको होइन। त्यही लेनिनवादका आधारहरूबाट जन्मिएको हो। उहाँले यदि मार्क्सवादको राम्रो अध्ययन गर्नुभएको भए एकजना प्रजातान्त्रिक नेता हुन सक्नुहुन्थ्यो होला।

लेनिनवादी नभएको भए, उहाँ सच्चा ‘जनताको बहुदलीय जनवादी’ पक्कै हुनुहुन्थ्यो। जनताको बहुदलीय जनवादले मात्रै नेपालमा मार्क्सवादको प्रतिनिधित्व गर्छ भन्ने कुरो थाहा नपाएर केपी ओलीले साथीभाइको संख्या घटाउनु भएको छ।

कोसँग पार्टी संगठन गर्ने क्षमता छ? कुन नेता मासलिडर हो? कुन नेता भाषण मात्रै गर्ने खालको हो भन्ने उहाँलाई थाहा छैन। किनभने जेलमा त बन्दीमात्र हुन्छन्‌। त्यसैले उहाँमा सबैभन्दा खतरामा रहेर पार्टी काम गर्ने, भूमिगत रहेर संगठन बनाउने कुराको सही ज्ञान पनि छैन। उहाँको सैद्धान्तिक ज्ञानको उचाइ त उहाँका भाषणहरूले व्यक्त गरिरहेका छन्, मैले थप केही भनिरहनु पर्दैन।

तर, नेपालका कुनै पनि पूर्वप्रधानमन्त्रीहरूले केपी ओलीसँग प्रतिस्पर्धा गर्न चाहिँ सक्नुहुन्न। केपी ओलीको पालामा काम चाहिं भएकै हो। यति कुरा लेख्न केपी ओलीको मान्छे भइरहनु पर्दैन।

अरू केही नभए पनि रानीपोखरी पुन:निर्माण, टलक्क टल्किएको २१ तले धरहरा नहेरौँ भन्दा पनि आँखा अगाडि आइहाल्छन्। १०/२० हजार मेगावाट विद्युत उत्पादन गर्ने गफ पनि सुनिएको हो। तीन हजार मेगावाटको अनुभवबाट अरू कुनै पनि प्रधानमन्त्री भएका भए यो धरहरा ठडिने थिएन भन्न गाह्रो मान्नु पर्दैन।

हाम्रो पार्टीका सबै नेताहरू जनताको बहुदलीय जनवादबाट भरङ्‌गिएकै हुन्? मार्क्सवाद पछिका अन्तरराष्ट्रिय नेताहरू सबैजसो सर्वहारा वर्गको अधिनायकत्वतिर लागेकै हुन्। हाम्रो देशमा त्यही रोग सरेको हो।

चीनको 'नौलो जनवाद' चीनको अनुभव हो। कोरियाली क्रान्तिको सिद्धान्त कोरियाकै अनुभव हो। हो चि मिन्हको अनुभव भियतनामको क्रान्तिको अनुभव हो। साम्राज्यवादको नाकमुनि समाजवादको निर्माण गर्ने फिडेल क्यास्ट्रो र चेग्वेभाराको अनुभव पनि अमेरिकाको विशिष्ट अनुभव हो। तर, हामी मार्क्सवाद, लेनिनवाद, माओ विचारधारा पढेर आएका हुनाले हाम्रो दृष्टिकोण त्यति विस्तारित हुन पाएन।

हामी यस्तै मुलुकका क्रान्तिको सारसंग्रह पढेर आएका मानिसहरू हौं। तिनका नीतिहरूमा रहेका भिन्नताबारे हामीले न कहिल्यै पाठ पढ्यौँ, न तिनको गम्भीर अध्ययन, विश्लेषण गर्ने आवश्यकता नै महसुस गर्‍यौँ। त्यसो गर्न सकेको भए शायद हामी स्वतन्त्र निर्णय गर्न सक्ने हुन्थ्यौं कि? अहिलेको ठूलो आकर्षण व्यक्तिगत स्वतन्त्रता सहितको मार्क्सवाद हो भनेर जनतालाई चेतनशील बनाउन सक्थ्यौँ कि !

साथीहरूले सोध्दा अब के जवाफ दिने भन्ने चिन्ताबाट मुक्त भएको छु म। यसपटकको लोकतन्त्र दिवसबाट पाएको एउटा ठूलो ज्ञान हो यो मेरो।

‘जहाँ हुनुहुन्छ, त्यहीँबाट एउटा लक्ष समातेर अघि बढ्नुस् लक्षमा पुग्नुहुनेछ। एउटा किसान मोडल किसान बन्नुपर्छ। एउटा शिक्षक नेपालले नमस्कार गर्ने उत्कृष्ट शिक्षक हुनुपर्छ।

हामी एउटा यस्तो पत्रकार जन्माउन सकौँ, जसलाई मानिसहरूले असल सूचना संवाहक भनी प्रशंसा गर्न पाउन्। आदरणीय मनमोहन अधिकारीले भन्नुभएको थियो नि - ‘मलाई एउटा असल मान्छे भनेर सम्झिदिए पुग्छ।’ हो हामी त्यस्तै असल मान्छे बन्न सकौँ।

यो मेरो केन्द्रीय नेताहरूसँग बिदा माग्ने टिपोट पनि हो। धेरै गरियो राजनीति ! अब त सामाजिक सुरक्षा भत्ता पाउने उमेर पनि हुन लाग्यो। अबका हाम्रा नेताहरू भनेका २०२० सालतिर जन्मिएका मजदुर, किसानका बीचमा जीवन उमारेका संगठक, युवा र विद्यार्थीहरू हुन्।

हामीले धेरै काम गरेका छौं। ज्यानको बाजी लगाएर, रातको एक दुई बजेसम्म सैद्धान्तिक कक्षा संचालन गरेर, आफ्नो परिवारको खोजीनीति पनि नगरेर, कैयौं दिनसम्म घाम देख्न समेत नपाएर, कैयन छाक भोकै बसेर हामीले एउटा राम्रो पार्टी तपाईंहरूको जिम्मा लगाएका छौं।

अब त जिम्मेवारी लिन तपाईंहरू पनि तयार हुनैपर्छ। नत्र सधैंभरि बाउआमाको काँधमा गिर खेल्ने भन्छन्। अब हामीलाई सघाउने होइन तपाईंहरूले। तपाईंहरूले नै गर्ने हो अब।

दक्षिण एशिया हाम्रो राजनीतिक आदर्श होइन। बाल्टिक राज्यहरू, (फिनल्याण्ड, नर्वे, स्वीडेन, डेनमार्क) बाट सिकौँ। कोरिया, जापान र चीनबाट सिकौँ।

सबैभन्दा बढी आफैंबाट सिकौँ। भेट्दा ‘सञ्‍चै हुनुहुन्छ?’ भनेर कसैले सोध्नु नपर्ने अवस्थाका साथीहरूलाई जिम्मेवारी दिऔँ। त्यसले तत्काल गुटबन्दी त घटिनहाल्ला, तर पनि उहाँहरूको ज्ञान र होराइजन हाम्रो भन्दा अगाडि छ। 'बाबुभन्दा छोरो जान्ने, खुकुरीभन्दा कर्द लाग्ने' भन्ने त छँदैछ।

एकपल्ट जाँचौँ न जिम्मेवारी दिएर। अरू के गर्नुहुन्छ कुन्नि! म चाहिँ वि.सं. २०२० पछि जन्मिएका युवा, अर्थात कम्तिमा आफूभन्दा कान्छो पदाधिकारीलाई मत दिन्छु।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.