|

काठमाडौं : वर्षा र सहकालका देवता मानिने सेतो मत्स्येन्द्रनाथको रथयात्रा आजबाट शुरू हुँदैछ।

तीनधारा पाठशालाअघि ३२ हात लामो रथ बनाएर चैते दशैँका दिनदेखि मत्स्येन्द्रनाथको तान्ने गरिएको छ। रथयात्राका लागि दिउँसो चार बजे केलटोलबाट देवताको खट दरबारमार्गस्थित तीनधारा पाठशालाअघि लगिनेछ।

मत्स्येन्द्रनाथको रथलाई नागराजको प्रतीक मानिन्छ। प्रत्येक वर्ष यो जात्रा गरेपछि वर्षा र सह हुने धार्मिक विश्वास छ। रथयात्रा आज बेलुकी ६ बजे शुरू गर्ने तयारी छ।

पहिलो दिन आज रथ असनमा लगेर राखिन्छ। असनमा आज बेलुकी राष्ट्रपति विद्यादेवी भण्डारीले रथको दर्शन गरी प्रसाद ग्रहण गर्ने कार्यक्रम छ। रथ दोस्रो दिन असनबाट वसन्तपुरस्थित कालभैरवअघि लगिन्छ। तेस्रो दिन वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ।

गत वर्ष कोरोना महामारीबाट बच्न लकडाउन गरिएपछि सेतो मत्स्येन्द्रनाथको रथयात्रा रोकिएको थियो।

जात्रामा सहभागी हुनेले अनिवार्य मास्क लगाउनुपर्ने व्यवस्था गरिएको सेतो मत्स्येन्द्रनाथ रथ व्यवस्थापन समितिले जनाएको छ। जात्राका लागि काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागसँगको सहकार्यमा निःशुल्क मास्क वितरणको व्यवस्था मिलाइएको छ।

सावधानी अपनाउन रथभन्दा १५ मिनेटअघि नै सांस्कृतिक बाजाको समूह हिँडाउने गरी तयारी गरिएको समितिका सचिव सुजीव बज्राचार्यले बताए। एक दिन रथ तानेका युवाले अर्को दिन नतान्ने व्यवस्था मिलाइएको छ। यसका लागि तीन रङका ज्याकेट व्यवस्था गरिएको समितिले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.