|

विराटनगर : नेकपा माओवादी का अध्यक्ष गोपाल किराँतीले दलाल पुँजीवादी नेतृत्वमा बनेको सरकारविरुद्ध महागठबन्धन बनाएर जनक्रान्ति तयारी गर्नुपर्ने बताएका छन्। 

बिहीबार विराटनगरमा पत्रकारहरूसँगको भेटघाटमा अध्यक्ष किराँतीले  गणतन्त्रलगायत उपलब्धि खतरामा परेकोले त्यसलाई जोगाउन वामपन्थीको महागठबन्धन बनाउनुपर्ने बताए। 

किराँतीले सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर गरेको मुद्दा फैसला गर्दा आफ्नो पार्टीमाथि अन्याय भएको पनि बताए। 'अहिलेको राज्य संयन्त्रबाट न्याय पाउने सम्भावना नरहेको निष्कर्षसहित पुनरावलोकनमा नगई एक पटकलाई अन्याय सहने निर्णय लिएको हो, प्रचण्डहरू पुनरावलोकनमा जानुभो, तर अदालतले उक्त निवेदन नै खारेज गरिदियो, त्यसले पनि हाम्रो निष्कर्ष सही रह्यो,’ उनले भने।

किराँतीले नेकपा (माओवादी केन्द्र) को साटो नेकपा (माओवादी) र चुनाव चिह्न गोलाकारभित्रको हँसिया हथौडासहित विकल्पमा तीन वटा चिह्न प्रस्ताव गरेको जानकारी दिए।

नेपालको संविधानलाई उपलब्धिको रुपमा आंशिक ग्रहण गरेकाले चुनावलाई तत्कालीन कार्यनीतिको रुपमा अवलम्बन गरेको बताए। चुनावसम्म पुग्दा वामहरूको महागठबन्धन बन्ने नभए कमसेकम प्रचण्ड र बाबुरामहरूसँग चुनावी गठबन्धन बनाउनेतर्फ पार्टीले काम गरिरहेको जानकारी दिए।

नेपालमा लोकतन्त्रवादी भनिएकाहरू सच्चा लोकतन्त्रवादी नभएका र कम्युनिष्ट भन्नेहरू पनि सच्चा कम्युनिष्ट नभएकाले वर्गीय समस्या समाधानमा समस्या आएको पनि टिप्पणी गरे। भने,‘समाजवादी व्यवस्था र अर्थतन्त्र लागु गर्नेतर्फ पार्टीले काम गरिरहेको छ।’

नेकपा एमालेसँग पार्टी एकता गरेर प्रचण्डले गल्ती गरेका भन्दै नेता किराँतीले त्यो गल्ती अहिले प्रचण्ड र ओली दुवैले स्वीकार गरिसकेको दाबी गरे। नेकपा विभाजन भएपछि गणतन्त्र रक्षाको चुनौती बढेर गएको उनको भनाइ छ।

मन्त्री भएको बेला नयाँ नेपालमा ८०० जिल्लाको अवधारणा ल्याएका किराँतीले अहिले पनि त्यस्तै नयाँ धारणा अगाडि सारे। ८०० जिल्लाको नेपाल बनाउने भन्दा उडाएका भन्दै किराँतीले भने, ‘पहिले हामीले ल्याएको अवधारणालाई उडाउनेहरूले पछि ७५३ स्थानीय सरकारको प्रावधानलाई स्वीकार गरे। त्यो स्थानीय तहको नाम जिल्ला राख्नुपर्छ भन्ने कुरा थियो।’

अहिले भने किराँतीले नेपाल भारतबीच सन् १९५० सन्धि खारेजीको माग गर्नुभन्दा सुगौली सन्धी खारेजी नेपालको हितमा रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.