|
प्रतीकात्मक तस्बिर

खोटाङ : खोटाङमा छुट्टाछुट्टै स्थानमा भएको आगलागीमा लाखौं रुपैयाँ क्षति भएको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योग र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ ज्यामिरेमा भएको आगलागीबाट क्षति भएको छ।

दिक्तेल रुपाकोट मझुवागढी–१ रत्नपार्कमा सञ्चालित गणेश फर्निचर उद्योगमा मंगलबार बिहान भएको आगलागीबाट  ५० लाख ८६ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ। हर्कराज राईले सञ्चालन गरेको फर्निचर उद्योगमा विद्युत् सर्ट भई आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ।

बिहान करिब साढे ४ बजेदेखि आगलागी भएको हो। आगलागीबाट औजार, तयारी फर्निचर, काठपात जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले बताए।

नेपाली सेना,  नेपाल प्रहरी‚ सशस्त्र प्रहरी, नगरपालिकाको वारुणयन्त्र र स्थानीय बासिन्दाले करिब दुई घण्टा लगाएर आगो नियन्त्रणमा लिएको सञ्चालक राईले बताए। जस्तापाताको छानो भएको उद्योगको एकतले भवनमा लागेको आगो समयमै नियन्त्रणमा लिइएकाले आसपासका घरहरुमा क्षति हुन नपाएको प्रहरीले बताएको छ।

त्यस्तै‚ सोमबार राति २ बजे दिक्तेल रुपाकोट मझुवागढी-९ ज्यामिरेका कुलमान चुहानको घर र गोठमा आगोलागी भएको छ। आगलागीबाट घर, गोठसहित २ वटा भेडा, ८ वटा बाख्रा, चारवटा खसी, ८ वटा पाठापाठी र ११ वटा कुखुरा जलेको छ।

दश स्थानीय तह रहेको खोटाङमा चैत महिनामा मात्रै दुई दर्जनभन्दा बढी घर तथा गोठमा आगलागी भएको प्रहरीले जनाएको छ। स्थानीय सामुदायिक वनमा लागेको डढेलो गाउँमा पसेपछि घर तथा गोठमा भएको आगलागीमा अहिलेसम्म मानवीय क्षति नभए पनि पशुचौपाया भने ठूलो मात्रामा जलेर मरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.