|

वेदादि शास्त्रले ब्राह्मण कुमारको आठ, क्षत्रीयको ११ र वैश्यको १२ वर्ष उमेरमा उपनयन संस्कार (व्रतबन्ध) गर्नु भन्छन्। यद्यपि ती समयमा गर्न नसके ब्राह्मणको १६ वर्षभित्र, क्षत्रीयको २२ र वैश्यको २४ वर्षभित्र व्रतबन्ध गर्नुपर्ने शास्त्रीय विधान छ। तर चलन चल्तीको ज्योतिष शास्त्रलाई मान्दा ठ्याक्कै ती उमेरमा बालकको व्रतबन्ध गर्न बाधा पर्छ।

ज्योतिषशास्त्र अनुसार व्रतबन्ध गर्दा बालकको सूर्य, चन्द्र र वृहस्पति जुराउनुपर्छ। आफ्नो राशिबाट ४, ८ र १२ स्थान पार्नुहुँदैन। यी तीनलाई निन्दित स्थान मानिएको छ।

यो तथ्यलाई मनन गर्दा यो वर्ष (२०७७) जेठमा उमेर पुगेका (कर्कट, वृश्चिक र मीन राशिवाला) कुमारले २०७७ वैशाख २२ गतेपछि २०७८ को चैत २८ र ३० गते मात्र व्रतबन्ध गर्न पाउने रहेछन्।

नेपाल पञ्चाङ्ग निर्णायक समितिद्वारा मान्यताप्राप्त पात्रोमा यो वर्ष वैशाख २१, २२,  जेठमा १२ र असारमा ११ गते मात्र व्रतबन्धका मुहूर्त्त्त थिए। तीनै राशिवालालाई जेठ १२ गते व्रतबन्ध गर्न मिथुन राशिको चन्द्रमाले नदिने रहेछ। कर्कटको बाह्रौँ, वृश्चिकको आठौँ र मीनको बाह्रौँ स्थानमा पर्ने रहेछ। असार ११ को मुहूर्त्त्तमा तीनै राशिका लागि सूर्य जुर्दैनथ्यो। कर्कटको सूर्य बाह्रौँ, वृश्चिकको आठौँ र मीनको चौथो स्थानमा पर्ने थियो। 

वेद र स्मृतिका वचनमा विवाद देखिए वेदको मान्यता हुन्छ भने वेदबीच पनि केही अन्योल देखिए आफ्नै शाखाको वेदलाई आधार मान्नुपर्छ।

त्यसपछि चतुर्मास र दक्षिणायन भएकाले साइत निस्किएनन्। चतुर्मास पूरा भएपछि पनि उत्तरायणका वेला वृहस्पति र शुक्र ग्रह अस्त भएका कारण व्रतबन्धका मुहूर्त्त निस्किएका थिएनन्।

यो वर्ष चैत १६ गते वृहस्पति मकरबाट कुम्भमा सरेको छ। २०७८ सालको चैत २५ गतेसम्म वृहस्पति कुम्भ राशिमा रहन्छ । त्यसैले कर्कटबाट गन्दा आठौँ, वृश्चिकबाट गन्दा चौथो र मीनबाट १२औँ स्थानमा पर्छ। वृहस्पति नै नजुरेपछि सूर्य र चन्द्र हेरिरहन परेन। त्यसैले पात्रोमा उल्लेख जेठको एक असारको तीन, माघको दुई, फागुनको एक र चैतका दुई मुहूर्त्तमा यी राशिवालाले उपनयन कर्म गर्न पाउँदैनन्। २६ गते वृहस्पति मीन राशिमा सर्ने र सूर्य तथा चन्द्र पनि अनुकुल हुने भएका कारण चैतका अन्तिम दुई दिन यी तीन राशिवालाको व्रतबन्धको बाटो खुल्छ। 

यो हिसाबले व्रतबन्धको उमेर भएका बालकले दुई झण्डै वर्ष कुर्नुपर्‍यो। व्रतबन्ध नभई अन्य कर्म गर्न नपाउने भएकाले यसबीचमा मातापिता दिवङ्गत भए उनीहरू अन्त्येष्टि कर्म गर्नबाट विमुख हुने भए।

वैदिक शास्त्रअनुसार विवाह संस्कार स्नातक भएपछि २५ वर्षमा विवाह संस्कार गर्नुपर्छ। तर, आधुनिक ज्योतिषअनुसार वरको सूर्य र चन्द्रमा जुराउनुपर्छ। बधूको वृहस्पति र चन्द्रमा। फेरि विभिन्न ग्रहको दशा चल्दा पनि विवाह नगर्नु भन्ने निर्देश छ। अहिलेकै समयलाई उदाहरण मान्ने हो भने कर्कट, वृश्चिक र मीन राशि भएकी कन्याले २०७८ सालमा विवाह गर्न पाउने भइनन्।

शुक्लयजुर्वेदीको पारस्कर गृह्यसूत्र अनुसार विवाह उत्तरायणका महिना, शुक्लपक्ष, शुभतिथि–नक्षत्र र पूर्वाह्नमा गर्नुपर्छ। तर पात्रोमा दक्षिणायन (मंसिर), कृष्णपक्ष र रिक्ता तिथि (४,९,१४) मा पनि साइत दिइएको हुन्छ। विवाहको लग्न त राति पनि हुन्छ। समाजमा अहिले राति बिहे गर्ने चलन हराए पनि पात्रोमा मुहूर्त्त त निकालिएकै हुन्छ।

आधुनिक ज्योतिषमा मुहूर्त्त्तचिन्तामणि र मुहूर्त्त्तमार्तण्ड आदि ग्रन्थको आधारमा मुहूर्त्त्त तय गरिन्छन्। यी ग्रन्थले वैदिक धर्मावलम्बीका मूल ग्रन्थ वेद, गृह्यसूत्र वेद अनुकुलका धर्मशास्त्रका वचन पनि काटेका हुन्छन्।

केही समस्या परेर तपाईँ ज्योतिषीकहाँ जानूस्, ‘तपाईँको यो ग्रह बिग्रिएको छ।’ ‘यो योगिनीको कारण तपाईँले दुःख पाउनुभएको छ।’ ‘यो योगले पीडा दिएको हो’, भनिन्छ। ग्रहको योगिनीको जप–पाठ–होमदेखि औँलामा विभिन्न रत्न लगाउन सल्लाह दिइन्छ। तर उसले आफ्नो कुल परम्पराअनुसार गर्नुपर्ने कार्य गरेको छ कि छैन ज्योतिषी सोध्दैनन्। नगरेको भए त्यसो गर्न सल्लाह पनि दिँदैनन्। ‘विधिपूर्वक सन्ध्यावन्दन गर्नुस्, ‘कुलाचार परम्परा मान्नुस्, ‘श्राद्धादि कार्य विधिपूर्व गर्नुस्’ भनेर सल्लाह दिने ज्योतिषी महाराज देखिँदैनन्। सुनिँदैनन्। विधिपूर्वकको सन्ध्योपासन, वैदिक–पौराणिक मन्त्रको पाठ–जपले पनि धेरै समस्या निवारण हुन्छन् भन्ने ज्ञान दिने कसले ?

वैदिक सनातन (हिन्दु धर्मावलम्बी)को प्रामाणिक र आधिकारिक ग्रन्थ वेद वेदपछि क्रमशः आउँछ। ऋक्, यजु, साम र अथर्व वेद चार वेद छन्। कुनै पनि व्यक्ति कुन वेदध्यायी हो भन्ने कुरा महत्त्वपूर्ण रहन्छ। वेदको मन्त्रको व्याख्या गर्ने ब्राह्मण ग्रन्थ हुन्छ। यस्तै घरमा बसेर पढ्न नहुने वेदका भाग आरण्यक छन्। आरण्यककै एक भाग वा वेदको अन्तिम भागलाई उपनिषद् भनिन्छ। त्यसपछि वेदाङ्गको क्रम आउँछ– शिक्षा, कल्प, निरुक्त, व्याकरण, छन्द र ज्योतिष। तर वेदको अङ्ग मानिएको ज्योतिष चलनचल्तीको ज्योतिष होइन।

त्यसपछि धर्मसूत्रहरू आउँछन्। क्रमैसँग धर्मसूत्र वा स्मृति पनि। त्यसपछिको क्रममा पुराणहरू (१८ पुराण, १८ उपपुराण आदि)। पुराणजस्तै रामायण र महाभारत ग्रन्थ प्रामाणिक मानिन्छन्। त्यसपछि उपवेदलाई मान्यता दिइन्छ। ऋग्वेदको अर्थवेद, यजुर्वेदको धनुर्वेद, सामवेदको गान्धर्ववेद र अथर्ववेदको आयुर्वेद उपवेद मानिएका छन्।

धर्म–कर्म, संस्कार, आचार–व्यवहार आदिको निर्णय गर्न निर्णयसिन्धु, धर्मसिन्धुजस्ता ग्रन्थलाई पनि आधार मानिँदै आएको छ। यी लगायत पछि बनेका ज्योतिषीय ग्रन्थको आधारमा समेत महत्त्वपूर्ण निर्णय गरिँदै आएको छ। तर ज्योतिष मान्ने भनेको हाम्रा वेद–वेदाङ्ग, स्मृति–पुराणका वचनलाई वाधा नपर्नेगरी हो।

धर्मसँग सम्बन्धित विषयमा विवाद देखिए वेदको वचन (भनाइ) लाई पहिलो प्राथमिकता दिनुपर्ने सनातन धर्मको मान्यता छ। वेद र स्मृतिका वचनमा विवाद देखिए वेदको मान्यता हुन्छ भने वेदबीच पनि केही अन्योल देखिए आफ्नै शाखाको वेदलाई आधार मान्नुपर्छ। पुराण र स्मृति बाझिए स्मृतिकै मान्यता बढी हुन्छ। यसका लागि वेद, स्मृति, पुराण र ज्योतिषशास्त्रको क्रम के हो भन्ने ज्ञान हुनु आवश्यक छ। यिनीमध्ये पहिलो कुन शास्त्र कुन हो भन्ने जान्न जरुरी छ। 

वेद मान्नहरूका लागि अर्वाचीन ज्योतिषका फलित ज्योतिष ऐच्छिक हो। अर्थात् माने पनि हुन्छ नमाने पनि हुन्छ। तर वेदले बताएका संस्कार मान्नैपर्छ। तदनुकुल आचरण पालना गर्नैपर्छ।

[email protected]

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.