९ रोपनी जग्गा हडपियो

|

काठमाडौं : सम्पदा अभियन्ता र प्रकृति प्रेमीले माघ २ गते हिलो दलेर कमलपोखरीमा भएको अतिक्रमण र विनाश विरुद्ध साङ्केतिक विरोध जनाए। मंगलबार पनि उनीहरूले काठमाडौं महानगरपालिका घेराउ गरे।

उनीहरूले यसरी विरोध गर्नुको एउटै कारण हो : ऐतिहासिक कमलपोखरी मास्ने गरी कंक्रिटको प्रयोग गरी पोखरी पुन:निर्माण थाल्नु।

महानगरपालिकाले रानीपोखरी पुन:निर्माणमा पनि यसैगरी काम थालेपछि विरोध भएको थियो। अभियन्ताको विरोधकै कारण आज रानीपोखरीले पुरानै स्वरुप पाएको छ।

महानगरपालिकाले रानीपोखरीमा जस्तै कालीमाटी, सुर्की र इटाको प्रयोग गरेर कमलपोखरी पुन:निर्माण गरेको भए यतिखेर सम्पदा अभियन्ताले विरोध गर्ने थिएनन्। तर, ऐतिहासिक र पर्यावरणीय महत्व रहेको कमलपोखरीलाई सिमेन्ट र ढुंगा प्रयोग गरी स्वीमिङ पुलमा बदल्न खोजेको भन्दै अहिले सम्पदा अभियन्ताहरू यसको विरोधमा उत्रिएका छन्‌।

​पुरातत्व विभागले माघ ५ गते नै पोखरी संरक्षण कार्यालयलाई काम अघि बढाउँदा पोखरीको ऐतिहासिक, सांस्कृतिक र पर्यावरणीय वातावरणमा प्रतिकूल असर नपर्नेगरी परम्परागत निर्माण सामग्री तथा प्रविधि प्रयोग गरी प्राचीन स्मारक संरक्षण ऐन, २०१३ को परिधिभित्र रहेर कार्य गर्न पत्रमार्फत महानगरपालिकालाई निर्देशन दिइसकेको थियो।​
तर,सोही बेलुका उक्त निर्देशनलाई महानगरपालिकाले लत्याउँदै पोखरीमा डोजर चलायो। पोखरीमा डोजर चलेपछि अहिले झनै अभियन्ता आक्रोशित भएका छन्।

विवाद निम्त्याउन माहिर महानगर

ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको रानीपोखरीमा रहेका भौतिक संरचना २०७२ सालमा भूकम्पले भत्कायो। राष्ट्रपति विद्यादेवी भण्डारीले २०७२ माघ २ गते पोखरी पुन:निर्माण शिलान्यास गरिन। काम हुँदै गर्दा पोखरीमा डोजर चल्यो।

सम्पदा अभियन्ताहरू विरोधमा उत्रिएपछि विज्ञ बोलाएर परम्परागत पोखरी बनाउने शैली सिकाइयो। भक्तपुरका महिलाहरूले पोखरी बनाए।

अभियन्ता आलोकसिद्धि तुलाधर भन्छन्‌, ‘कालीमाटी, इटा, मासको धुलो र सुर्की प्रयोग गरेर रानीपोखरी पुन:निर्माण भएको थियो, यही अनुसार कमलपोखरीको पुन:निर्माण भएको भए यसरी विरोध नै हुँदैनथ्यो, तर महानगरपालिका प्राकृतिक सम्पदा मास्नेतर्फ लाग्यो।’कमलपोखरी ऐतिहासिक र प्राकृतिक सिमसार क्षेत्र भएकाले पनि मास्न नमिल्ने उनको भनाई छ।

‘कमलपोखरीमा कमलको फूल फुलले परिचित छ, कमलको फूल कंक्रिटमा होइन, हिलोमा फुल्ने हो, त्यसैले पोखरीको ऐतिहासिकता मास्नेगरी पुन:निर्माण गर्नु भएन,’ उनले भने।

यसो भन्छ, महानगर

काठमाडौं महानगरपालिका अन्तर्गत शहरी पूर्वाधार विकास विभागका प्रमुख रामबहादुर थापाले रानीपोखरी र कमलपोखरीको ऐतिहासिकता बेग्लै भएकाले कमलपोखरीलाई रानीपोखरीजस्तै बनाउन नसकिने तर्क गर्छन।

उनले भने, ‘कमलपोखरी रानीपोखरी जस्तो होइन, कमलपोखरी अर्कै हो, खुला नै बनाउन कंक्रिट प्रयोग गरिएको हो।’

उनको कुरालाई पत्याउने हो भने, कमलपोखरीमा कालीमाटी र इटा प्रयोग गर्नु आवश्यक छैन। पोखरीमा ४ वटा मण्डप बनाउन सिमेन्ट र ढुंगा प्रयोग गरिएको उनी बताउँछन्। 

यता, नगरका उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले पोखरी पुन:निर्माणमा अनविज्ञ रहेको बताउँदै थप कुरा बुझ्ने बताइन्‌। अभियन्ताले मंगलबार सचेतना पत्र बुझाउँदै गर्दा उनले भनिन्‌, ‘पोखरीमा के-के भयो भन्ने फोटोमार्फत देखेँ, त्यसपछि कर्मचारीसँग सोधपुछ गरेँ, पोखरीको पानी सुकाउनुपर्ने के थियो? पत्रमार्फत ध्यानाकर्षण भएको छ, कसरी पुरानै ढाँचामा लान सकिन्छ भन्ने छलफल गर्ने छौँ।’ 

महानगरपालिकाले पोखरी निर्माणमा करिब ९ करोड ४६ लाख रुपैयाँ लागत लाग्ने अनुमान गरेको छ। जय धनञ्जय/कँडेल जेभी,रानीबारी काठमाडौंले निर्माण ठेक्का पाएको छ। सम्झौता अनुसार कमलपोखरीको पुन:निर्माण गत असार १५ गते नै सम्पन्न गर्नुपर्ने थियो। तर, काम सम्पन्न हुन सकेको छैन।

महानगरपालिकाले पारित गरेको डिजाइन अनुसार पोखरी परिसरमा खुला व्यायाम, ब्याडमिन्टन र बास्केटबल कोर्ट रहनेछ। सौन्दर्यीकरण गर्न कमलपोखरीको पूर्वी भागमा मूल प्रवेशद्वार बन्ने, पोखरीको चारै कुनामा ४/४ मिटरको पाटी निर्माण गरिने छ। त्यस्तै, बालबालिकाका लागि खुला पार्क, बिजुली बत्ती जडान र पोखरीका चारै कुनामा कमलका फूल राख्ने लगायत योजना छ। 

पोखरीको ९ रोपनी जग्गा हडपियो

स्थानीय रैथाने र पुरातत्वविद्‌हरूका अनुसार पोखरी पहिला खुला र ठूलो थियो। नापी कार्यालय डिल्लीबजारले २०३३ सालमा नापजाँच गरेको फिल्डबुकमा ३० रोपनी ५ आना ३ पैसा १ दाम पोखरी रहेको उल्लेख छ।

बाटो, स्पोर्टस् क्लब र प्रहरी चौकीको नाममा अतिक्रमण भएर अहिले पोखरी खुम्चिएको छ। महानगरपालिका वडा १ का अध्यक्ष भरतलाल श्रेष्ठले अहिले पोखरीको क्षेत्रफल २१ रोपनीमात्रै रहेको जानकारी दिए।

यस हिसाबले विभिन्‍न वहानामा पोखरीको करिब ९ रोपनी जग्गा हडपिएको देखिन्छ। नापी कार्यालय डिल्लीबजारका सूचना अधिकारी सुमन श्रेष्ठ भन्छन्‌, ‘२०३३ सालबाट नापीले पोखरीको नापजाँच गरेको छैन। विभिन्न संरचना निर्माण गर्दा अहिले निकै क्षेत्रफल घटेको छ। पोखरीको क्षेत्रफल ३० रोपनी नै चाहिँ होइन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.