जुम्ला : जुम्लामा मात्र खेलीने परम्परागत ठुलो भैलीको रौनक बढेको छ। स्थानीय परम्पराअनुसार जुम्लामा मात्रै मंसिर शुक्ल पूर्णिमाको दिनदेखि ठुलो भैलो खेल्न सुरु गरिन्छ।
यसैगरी, औँसीको भोलीपल्टदेखि भैलो शुरु भएको चन्दननाथ नगरपालिका –२ का सांस्कृतिकविद् रमानन्द आचार्यले बताए। जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जुम्लामा यो भैलो खेल्ने चलनको शुरुवात भएको पाइएको छ।
आचार्यले बडा हाकिमले भैलेरा लाई ४ पैसा र भैलेरीलाई ४ पैसा दिने चलन रहेको बताए। चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको उनको भनाइ छ।
पहिलेका भैलेराले हातमा गृह लाठी बोकेर हिँड्थे अनि भैली पुकार्ने बेला त्यही लाठी टेक्ने गरेको र त्यतिबेला भैलो खेल्न जाने समूहका भैलेरीहरूले तलतिर घाँघरा र माथिलो शरीरमा चौबन्दी चोली जस्ता पहिरन लगाउने रहनसहन भएको यहाँका संस्कृत जानकार बताउँछन्। आधुनिक परिवेशअनुसार पछिल्लो सयमा त्यो चलन हराउँदै गरेको आचार्य बताउँछन्।
उनले भने, 'ए आँसुबार भनेर गाउँमा पहिले भैलो खेल्ने चलन रहेको छ। त्यसलाई मागलको रुपमा पनि लय हालेर गाउने गरिन्छ। भैलोको पहिलो र दोस्रो दिन आफ्नो गाउँभन्दा टाढाका गाउँमा खेल्ने गरिन्थ्यो भने तेस्रो र चौथो दिन आफ्नो गाउँमा भैलो खेल्ने चलन रहेको थियो।' ठुली भैलो शुरु भएको दिनदेखि अन्तिमसम्म गाउँमा गएका पाहुनाहरुलाई भैलो छोप्ने चलन पनि रहेको छ। भैलेरा भैलेरीले पाहुनालाई छोप्ने र भैलो नदिनेलाई टोपी, झोला, घडी, ज्याकेट र अन्य सामानहरु राख्ने चलन रहेको जुम्लाका पाखा पुस्ताहरुले बताउने गरेका छन्।
ठुली भैलोको बेला पोइल गएकी छोरी चेलीहरु सुख दु:ख साट्न माइती घरमा जाने गर्दछन्। चार दिनसम्म जिल्लामा विभिन्न गाउँमा भैलो खेल्ने गरिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।