|

कपिलवस्तु  :  साना बालिकामाथि यौनजन्य व्यवहार गर्ने कपिलवस्तुका एक प्रिन्सिपल प्रहरीको फन्दामा परेका छन्। बुद्धभूमि नगरपालिका-१० भगवानपुरमा रहेको बुद्ध ज्ञान ज्योति इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल मिमि भनिने मोहम्मद हुसेनलाई इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले मंगलबार पक्राउ गरेको थियो।

जिल्ला सदरमुकाम तौलिहवा बस्दै आएका हुसेनलाई स्थानीयले विद्यालयबाट नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गोरुसिंगेलाई खबर गरेका थिए। गोरुसिंगेका प्रहरी निरीक्षक कृष्ण राना मगरले यौन दुर्व्यवहारको विषयमा थप अनुसन्धान भएको बताएका छन्।

प्रहरीका अनुसार हुसेनले विद्यालयको कक्षा ३ मा पढ्ने ११ वर्षकी बालिकामाथि यौनजन्य दुर्व्यवहार गरेका थिए। घटनाको पूरा विवरण थप अनुसन्धानपछि पत्ता लाग्ने प्रहरीको भनाइ थियो। प्रिन्सिपलले बालिकाहरूलाई आफ्नो कार्यकक्षमा बोलाएर नग्न बनाएर सुत्न लगाउने, यौन अंगहरू चलाउने र आफ्ना यौन अङ्ग चलाउन लगाउने गर्दै आएका पीडित बालिकाले बताएका छन्।

यसरी सार्वजनिक भयो घटना

कपिलवस्तु नगरपालिका बस्ने ११ वर्षकी बालिका पढ्नका लागि सोमबार विद्यालयमा पुगेकी थिइन्। पिन्सिपलले यौन दुर्व्यवहार गरेर डराएकी ती बालिकाले शनिबार मात्र आफ्ना आमासँग घटनाको बारेमा बताएकी थिइन्।

बुवा आमाले थाहा पाएपछि प्रिन्सिपलको कर्तुत बाहिर आएको थियो। उनीमाथि कक्षा २ मा पढ्दै गर्दाबाट प्रिन्सिपल हुसैनले दुर्व्यवहार गर्दै आएका थिए। घटना लुकाउनका लागि हुसेनले बालिकाहरूलाई डर त्राससमेत देखाउँदै आएका थिए। आँखामा पट्टी लगाएर कार्यालयको ढोका र झ्याल बन्द गरी कक्षा २ मा पढ्दादेखि कपडा खोल्न लगाई यौन दुर्व्यवहार गरेको पीडित बालिकाले बताइन्।

हिंसामा पर्ने बालिका ८ देखि ११ वर्षका

मंगलबारको घटना सार्वजनिक भएपछि विद्यालयमा पढ्ने थप ३ बालिकामाथि पटक पटक यौन दुर्व्यवहार भएको रहस्य खुल्न आएको छ। विद्यालयमा पढ्ने युकेजीदेखि कक्षा ३ मा पढ्ने बालिकासमेत दुर्व्यवहारमा परेका छन्। उनीहरूको उमेर ८ देखि ११ वर्ष उमेर रहेको छ।

घटनामा पीडित अर्का बालिकाका बुवा भन्छन् ,‘ तीन महिनाअगाडि छोरीले आमासँग प्रिन्सिपलको विषयमा घटना सुनाएकी थिइन्। विद्यालयमा गई सोधपुछ गरेँ। हुसैनले घटना नभएको बताए। हामीले पनि उनीप्रति विश्वास गरियो। घटना सार्वजनिक भएपछि मात्र प्रिन्सिपलले गरेको गलत काम थाहा भयो।’

स्थानीयका अनुसार प्रिन्सिपलको क्रियाकलाप थाहा पाएपछि केही बालिकालाई अभिभावकले अर्को विद्यालयमा समेत भर्ना गरेको सोधपुछ गर्दा थाहा भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.