|

बैतडी : कोरोना कहरले लामो समयदेखि बन्द रहेका दोगडाकेदार गाउँपालिकाका विद्यालय सोमबारदेखि सञ्चालनमा आएका छन्।

लामो समयदेखि विद्यालय बन्द हुँदा पठनपाठन प्रभावित भएकाले विद्यालय सञ्चालन गरिएको दोगडाकेदार गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुरेशप्रसाद भट्टले बताए। गाउँपालिकाको गाउँ शिक्षा समिति र माध्यमिक तहका विद्यालयका प्रधानाध्यापकहरुको बैठकले गरेको निर्णयअनुसार विद्यालय सञ्चालनमा आएका हुन्। 

कक्षा १ देखि १० सम्मका विद्यालयहरु सोमबारदेखि सञ्चालनमा आएको र  कक्षा १२ सम्म पठनपाठन हुने विद्यालयमा कक्षा १२ को परीक्षा परिक्षा केन्द्र रहने विद्यालयमा मंसिर १८ देखि सञ्चालनमा आउने जनाइएको छ। विद्यालय सञ्चालनमा रहेका बेला सेवा क्षेत्रभित्र वा विद्यालयमा अध्ययनरत विद्यार्थी, शिक्षक, कर्मचारी, अभिभावकमा कोरोना देखिएमा अवस्था हेरेर विद्यालयले निर्णय गरेर विद्यालय बन्द गर्न सक्ने गाउँपालिकाले जनाएको छ।

कोरोना संक्रमणको जोखिम कायमै रहेकोले नियमित रुपमा जनस्वास्थ्यका मापदण्ड अपनाएर विद्यालय सञ्चालन गरिएको सनातन धर्म मावि श्रीकोटका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए। उनले भने, ‘लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालन भइ पठनपाठन हुन थालेपछि विद्यार्थी खुसी भएका छन्।’

दोगडाकेदार गाउँपालिकामा ५९ सामुदायिक र तीन संस्थागत विद्यालयमा गरी ८ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.