बलात्कारसम्बन्धी मुद्दामा सांसद बिडारीका विचार व्यावहारिक

|

 -श्याम अधिकारी

नवरात्रि सकिँदैछ। हाम्रो धर्म र परम्पराले स्त्री शक्तिको उपासना सधैं गरिरहन्छ। नारी स्वतन्त्रता या लैङ्गिक समानता र सशक्तीकरण समकालीन विश्वमा पछिल्लो चरणका सर्बत्र प्रचलित सामाजिक र राजनीतिक अभियान भएका छन।

कुनै पनि देशमा आन्दोलन गरिरहेका राजनीतिक समूहका लागि त यो राजनीतिक फेसन पनि भएको छ। तर यो पनि साँचो हो कि मानवजाति बिच यो एक्काइसौ सदीमा समेत यो एउटा सम्बोधन गर्न आवश्यक बिषय हो।

यो समस्या समाजमा देखापर्ने विभिन्नप्रकारका विद्रोहका बेला बिभिन्न रुपमा विद्रोहका रुपमा प्रकट पनि हुने गरेका छन्। जस्तै हाम्रो देशमा माओवादी विद्रोहका समयमा नारीमुक्तिको सवाल प्रमुख रुपमा राखिएको थियो।

विद्रोहमा नारीहरु बन्दुक बोक्नमा अभूतपूर्व रुपमा अग्रसर भएका थिए। माओवादीसँगको शान्ति सम्‍झौतापछि पनि राजनीति र आर्थिक क्रियाकलापमा नारी सहभागिताको सवाल अभूतपूर्व रुपमा उठे  र उठिरहेकै छन्।

विगतको तुलनामा नारी स्वतन्त्रताको सवालले निकै प्राथमिकता पनि पायो र उपलब्धि पनि धेरै हदसम्म गरिए। तर नारी मुक्तिका समस्या फेरि पनि जटिल रुपमा उठिरहेकै छन् र आधारभूत रुपमा यो समस्या ज्युँका त्युँ देखिएकोछ।

यहाँसम्म कि नारी र पुरुषको प्राकृतिक सम्बन्धमा विकृति आएर बलात्कारका घटना बढेर हत्याका अपराध र मृत्युदण्ड सम्मको पेचिलो सवालले  अहिले पनि मानवजाति उद्वेलित बनेको छ। 

नेपालमा अहिले प्रकटरुपमा राजनीतिक र सामाजिक अभियन्ताहरुले उक्त सवाललाई दुई प्रकारले उठाइरहेका छन्। एकथरी प्राप्त उपलब्धिलाई आधार बनाएर सङ्गठन, प्रचार, राज्यसँग मोलमोलाइ गर्नमा व्यस्त छन् र उनीहरुले लिएका अवधारणाको लिगबाटै दौडिनुलाई नारी स्वतन्त्रताको मूलबाटो ठान्दछन्। जस्तै अहिले बनेका कानुनअनुसार महिलाको सम्पत्ति र सहवास आदिमा नारीको इच्छामा जोड, बलात्कार कानुनको कडाईसाथ पालना, नागरिकता कानुन, ३३प्रतिशत सहभागिता आदि। केही नारीहरुले नयाँ संविधान र कानुनले दिएका हक प्रयोग गरेर प्रतिष्ठा बढाएका पनि छन्।

यस्ता उपलब्धिपछि पनि नारी स्वतन्त्रताको सवालमा आधारभूत परिवर्तनको कुनै संकेत नदेखेर केही नयाँ थप जटिलताहरु उत्पन्न हुन थालेपछि नारी स्वतन्त्रता बारेमा अनेक नयाँ चिन्तन पनि हुन थालेका छन्। उदाहरणका लागि लेखिका इन्दिरा प्रसाइँले लेख्नु भयो —विकल्प विनाको नारी विद्रोहले भएको संरचना पनि भत्काएर सभ्यता नै नष्ट पार्छ।

समाजमा के पनि देखियो भने पहिले बलात्कार गर्नेलाई सजाय कम हुँदा अपराधीले बलात्कृतलाई अधमरो छोडिदिने संभावना बढी हुन्थ्यो अहिले नारी हितका लागि कडा कानुन ल्याएपछि सजायबाट उम्किनका लागि बलात्कारी अपराधीहरुले पोल खुल्ने डरले बलात्कारपछि पीडितको हत्या गरेरै छोड्न थालेका छन्। यसबाट कडा कानुनले मात्र पनि यो समस्या हल हुने होइन रहेछ भन्ने एकथरीले बताउन थालेका छन्

भर्खरै एउटा घटनाको समाचार पढ्न पाइयो— एकजना युवती र २-३ जना युवक होटलमा पसेर रक्सी खाए। तिनीहरुसँग होटललाई तिर्ने पैसा भएन। अनि सँगै पिउन बसेकी युवतीलाई एउटा कुनै युवकसँग सहवास गर्न राजी भएर भिडियो खिचियो अनि तैले बलात्कार गरिस् भन्दै केटासँग अढाइलाख लिएछन् र रक्सीको बिल तिरेछन्। यस घटनाले बलात्कार मुद्दा साढे दुईलाख तिर्नुभन्दा कडा छ भन्ने प्रमाणित भयो। त्यसैले युवक त्यति रकम तिर्न तयार भयो , जव कि सहवासमा केटोभन्दा दोषी केटी थिई।

बलात्कारसम्बन्धी मुद्दामा सांसद एवम् कानुनव्यवसायी रामनाराण विडारीले  व्यक्त गरेका विचार निकै व्यावहारिक देखिन्छन्। उहाँले मुद्दाका रुपमा अगाडि आउने गरेकाअधिकांश बलात्कारसम्बन्धी मुद्दा सम्पत्ति खाने उद्देश्यले, रिसइवीले पर्ने गरेका छन् भन्ने आशय प्रकट गर्नु भएकोछ। 

विडारीका बिचार सार्वजनिक भएलगत्तै केही वरिष्ठ राजनीतिज्ञ र बुद्धिजीवीले निर्लज्ज भन्ने प्रतिक्रिया दिएका थिए। किनभने नारी स्वतन्त्रताका बारेमा उनीहरुले जति सोच्न सकेका थिए त्यति गरेर अहिलेको संरचना तयार भएको थियो। त्यसमा पनि गम्भीर समस्या र कमी छन् भनेर दर्शाउँदा उनीहरुका  कन्पारो तातेको हो।

उनीहरुलाई नारी स्वतन्त्रता भनेको यहाँभन्दा अगाडि पनि केही बढी गर्नुपर्छ गर्न सकिन्छ भन्ने सोच नभएर नै होला भएको संरचना पनि जाने भयो भन्ने डरलाग्यो।

माओवादी विद्रोह पछि ल्याइएका सम्बिधान कानुनबाट पनि नारीमुक्तिका आधारभूत समस्याको हल हुनु त परै जाओस् समस्याको कारण वा जरो पहिचान हुन नसकेकोले नै यस्ता नयाँ जटिलता र विवाद देखा परेका हुन्। समस्या समाधानका लागि हामीले समस्याको जरोमा पुग्नुपर्दछ। त्यसका लागि वैज्ञानिक सोचका पिता फ्रेडरिक एङ्गेल्सको परिवार व्यक्तिगत सम्पत्ति र राज्यसत्ताको उत्पत्ति भन्ने भनाइको मर्म बुझ्न आवश्यक छ। सामाजिक संरचनामा क्रान्ति नै  आवश्यक छ। तर त्यो क्रान्तिमा बनाइसकेका संरचना भत्काएर होइन सच्याएर अगाडि बढ्नुपर्दछ।

समाधानका कुरा

मानव प्राकृतिकरुपले दुई भिन्न प्रकारका लिङ्गको अङ्ग भएका हुन्छन्। एकथरी पुरुष अर्कोथरी नारी। दुवैका अङ्गका बनावट फरक हुन्छन्। यो पृथकता लिङ्ग वा यौनबाट मात्र पहिचान हुन्छ। बाँकी सबै कुरामा मानव समान हुन्छ। तर यही एउटा पृथकताले दुईमध्ये एकथरीले मानव जातिको सृष्टिलाई निरन्तरता दिनमा विशेष भूमिका खेल्दै आएको देखिन्छ। त्यसप्रकारका मानवलाई हामी नारीका रुपमा चिन्छौं। 

नारी विशेषता भनेको गर्भधारण, प्रसव र सन्तानको लालनपालन हो। तर त्यही विशेषता भएका नारी विशेषताकै कारण पुरुषबाट पराधीन, पीडित र अपहेलित हुदै मात्र आएका छैनन्उल्टै वस्तुको रुपमा उपभोग्य मात्रै ठहर्याइदै आएका छन्। यस्तो अमानवीय परम्पराले गर्दा मानव जातिले इतिहासदेखि नै विषमताको गम्भीर समस्या भोग्दै आएको छ।

मानव जाति पुरुष र नारीभन्दा भिन्न तेस्रो लिङ्गी पनि हुन्छन्। त्यसैले तिनको बेग्लैप्रकृति हेरेर आजभोलि नारी र पुरुष मात्र भनिदैन पहिचानको लागि लैङ्गिक शब्द प्रयोग गरिन्छ। जस्तै लैङ्गिक स्वतन्त्रता, लैङ्गिक सशक्तीकरण आदि।

तेस्रो लिङ्गी संख्यात्मक हिसावले अपवादको रुपमा मात्र हुन्छन् स्वतन्त्रता आदि समस्याको सवालमा नारी र तेस्रो लिङ्गीका लगभग समान समस्या हुने बताइन्छ। वास्तवमा महिलाका समस्या पृथक र बोझिला छन्। पश्चिमाहरुले आफ्नो मौलिक अवधारणाकारुपमा तेस्रोलिङ्गीलाई बढी जोड दिएर प्रचार गरेका मात्र हुन्।

वर्तमान कानुन ,संविधान वा राजनीतिक अभियानहरुले नारीलाई विभेद गरिएको त स्वीकार गरेका छन्। तर विभेद अन्त्य गर्न आवश्यक व्यवस्था गर्न गहिराइमा गएर जतिगर्न आवश्यक छ त्यति गर्न सकेको छैन। फलस्वरुप जहाँ जुनकुरामा विभेद हुदै आएको हो त्यो त कायमै छदैछ। उल्टो नयाँ नयाँ विकृति र जटिलता पनि उत्पन्न गरिरहेको पाइन्छ।

अहिलेको हाम्रो समाज व्यवस्थालाई पुँजीवादी जनवादीसमेत भन्न सकिदैन, यो त सामन्तवादी र पूँजीवादी व्यवस्थाको खच्चड प्रणाली मात्र हो। पहिलेदेखि दास र उपभोग्यवस्तुका रुपमा पुरुषबाट शोषित पीडित हुदै आएका नारीहरुलाई पूँजीवादले दिएको स्वतन्त्रता भनेको नारी र पुरुषलाई एकले अर्कोलाई बढीभन्दा बढी जसले सक्छ उसले ढी उपयोग गरेर नाफा आर्जन गर्न दिने स्वतन्त्रता हो।

इतिहासको आदिमकालदेखि पितृसत्ता प्रधान समाज रहेको, पैत्रिक सम्पत्तिमा पुरुषको आधिपत्य रहेको र राज्यसत्तासमेत पुरुषको हातमा रहेको, त्यसमाथि बच्चा हुर्काउने अभिभारा महिलामा नै मात्र रहेको अवस्थामा नारीहरुले पूँजीवादी जनवादी व्यवस्थाले दिएका सामाजिक राजनीतिक अधिकार पनि अपवादबाहेक कतै पनि उपभोग गर्न पाएका छैनन्। पुरुषसँग बराबरी प्रतिस्पर्धा गर्न सक्ने त कुरै भएन।

नारीका हक भनेका विवाह नगरुञ्जेल सौन्दर्य प्रतियोगितामा भागलिएर पुरुषलाई आकर्षित गर्न पाउने, मोडलिङ् अभिनय, नखरा आदिबाट सकेसम्म सक्नेले धनी पुरुषलाई वेवकुफ बनाएर उसमा आश्रित भई पैसा कमाउने र तरुण अवस्थामा सुखसयल भोग्ने यत्ति भएको छ

विकसित भनिएका केही पश्चिमा देशमा आर्थिक संकट नआएको बेला नारीलाई रोजगारी दिएर पुँजीवादी देशले शिशु स्याहार केन्द्र स्थापना, सम्बन्ध विच्छेदको स्वतन्त्रता जस्ता सामन्तवादी समाजको भन्दा बढी अधिकार दिएका छन्। तर त्यही पूँजीवाद आर्थिक संकटमा परेका बेला नागरिकका समस्त अधिकार खोस्ने मात्र गर्दैन, अमानवीय विभेद गर्ने सामन्तवादी देशको बर्बर प्रथाको संरक्षण गरी विश्वका अधिकांश देशका नारीको अधिकार खोस्न पनि सहयोग पुर्याउँछ र केवल पूँजीपतिको देशलाई मात्र सभ्य बनाउँछ। 

परिवार मानव सभ्यताको एक अपरिहार्य संरचना हो,यसलाई मानव जातिले विघटन गर्न सक्तैन तर परिवारको संरचना प्रारम्भिक निर्माणको चरणदेखि नै नारीप्रति अन्यायपूर्ण, विभेदपूर्ण रहँदै आएकोछ। कुल गोत्रमा आधारित समाज सबै पितृसत्तात्मक बने। नारीहरु सधै नै युद्धबन्दीजस्ता भए। उनीहरु पुरुषको लागि भोग र उत्पादनका साधन हुँदैआए। यहाँसम्म कि एउटा  पुरुष मर्दा कयौं नारीले अकालमा सँगै जलेर मर्नुपयो। कुल गोत्र त उनीहरुको लागि पुरुषको शोभा मात्र भयो। स्वतन्त्रताको, सवलताको कुनै संस्कार छैन। 

नारी स्वतन्त्रताका लागि सबभन्दा पहिलो शर्त परिवारको ढाँचामा ,परिवार सम्बन्धी अवधारणामा पुर्गठन र पुनरालोकन गर्नु हो। यो काम सामन्तवादीका के कुरा पूँजीवाद विचार र व्यवहारका कुनै विद्वान, नेता, सरकार प्रमुख कसैले गर्दैन। पूँजीवादी सिद्धान्तले नै गर्दैन।

महिला मुक्तिका लागि समाजवादी प्रणाली मात्र विकल्प हो। समाजवादले मात्र नारीहरुलाई परिवारको ढाँचामा परिवर्तन ल्याएर मुक्ति दिन सक्छ। त्यो कसरी भने नारीका सवभन्दा प्रिय आफुले जन्माएका सन्तानको राज्यले हेरचाह  गर्ने जिम्मा लिएर, जुन नारीको सभन्दा ठूलो बन्धन हुने गरेको छ।

यसैगरी सबै मानिसलाई उसको योग्यता अनुसारको काम दिनै पर्ने समाजवादी कार्यक्रबाट नारीलाई पुरुषमाथिको निर्भरता समाप्त पारेर पनि नारी स्वतन्त्रताको प्रत्याभूत गर्नसकिन्छ। पुरुषलाई वेवकुफ बनाएर वा उसको अधीनमा काम गर्नुपर्ने बाध्यता समाप्त पारेर।

आफ्नो शरीर र यौनलाई पुरुषको चाहनाबाट मुक्त गरी आफ्नो मनपसन्दको पुरुषसँग सहवासको स्वतन्त्रता पनि समाजवादले मात्र दिन सक्छ। तर साथै जङ्गली युगमा जस्तो आफ्नै आफन्तहरुसँगको बहुयौनसम्बन्ध, मातृसत्तामाजस्तो बहुपति र बहुपत्नी सम्बन्ध निषेध गरेर एकपत्नी पतिबीचको यौन सम्बन्धको आधारमा परिवार प्रथालाई पनि  समानताको आधारमा कायम राखेर समाजवादी प्रणलीले मात्र नारी मुक्तिदिन सक्छ।

अहिले जुन नक्कली नारी स्वतन्त्रता छ त्यो नै वास्तवमा लज्जास्पद छ। अहिले नारी स्वतन्त्रता त केही मानिसको ठगीखाने राजनीतिको माध्यम मात्रहो। यसैले सांसद रामनारायण विडारीको यौनसम्बन्धी धारणालाई लज्जाजनक भनेर मात्र होइन अध्ययन योग्य ठानेर बलात्कार र नारी स्वतन्त्रताका सवालमा अझै गम्भीर कदम चाल्नुपर्दछ ।

बलात्कार र हत्याजस्ता तत्काल देखिने अपराधमा मृत्युदण्डको  माग गर्नु एक सम्वेदनशीलता हो तर विवाह गरी धोका दिएर सन्तानको बोझ नारीमा थोपर्ने र  माइती वा लोग्नले एक अर्कालाई देखाएर जीविका गर्ने सम्पत्तिबाट बञ्चित गर्ने अपराध नारीमाथि बलात्कार भन्दा कम अपराध होइन। यस्ता निरीह नारीलाई रोजगार दिएर संरक्षण नगर्ने राज्य र सरकार झन् ठूला अपराधी करार गरिनु आजको आवश्यकता हो।   ​

(अधिकारी पुराना पत्रकार हुन्।)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.