संक्रमितलाई घृणा होइन, माया र हौसला दिनुपर्छ

|

कुशल दाहाल
चन्द्रपुर—२,रौतहट​

बैंकमा काम भएकोले मलाई बिदा मिलेको थिएन। काममा नियमित गइरहेको थिएँ। बैंकमा काम गर्दा स्वाभाविक रूपमा धेरै मानिसहरूसँग सम्पर्क र भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी पनि अपनाइरहेको थिएँ। सावधानी अपनाउँदा-अपनाउँदै पनि मलाई संक्रमण भएको पत्तै भएन।

मलाई केही दिन अगाडि ज्यानलाई थकान महसुस हुने आँखा पोल्ने अनि ज्वरो आउला-जस्तो भएको थियो। त्यो समय म आफ्नो कार्यालयमा काम गर्दै थिएँ। मलाई कता-कता काम गर्न अलि असजिलो महसुस भयो। काम गर्ने क्रममा घर जाने बेला भयो, अनि मैले कार्यालय टिमलाई मलाई भएको सबै समस्या बताएँ। अनि केही दिनको लागि घरमा आराम गर्ने भइयो।

केही हुँदैन भन्‍ने विश्वास

बेलुका घर फर्कंदा साइनेक्स नामक औषधि लगेर खाएँ। खाना खान मनै थिएन, खाना नखाई आराम गरेँ। एक दिनमै म निको भएँ। भोलिपल्ट कार्यालय गएर मैले अफिसका सबै साथीहरूलाई मबाट अलि टाढा हुनु है भनेर जिस्किएँ पनि। उहाँहरूले पनि मुसुक्क हाँस्दै हुन्छ भन्नुभयो र त्यो कुरालाई मनन गरेर सामाजिक दूरी कायम गर्नुभयो।

म पनि आफ्नो काममा व्‍यस्त भएँ। काम गर्दैगर्दा मलाई एक जना साथीले फोन गर्नुभयो, जोसँग अघिल्लो दिनमात्रै भेटेको थिएँ। उहाँले सोध्नुभयो, 'कुशल तिमी कहाँ छौ?'

'म अफिसमा, किन र दाई के भयो?' मैले सोधेँ। दाइले आफूले पीसीआर जाँच गराएको जानकारी गराउन फोन गरेको भन्नुभयो।

'मलाई यसरी फोन आयो, तर मलाई थाहा छ : मलाई केही भएको छैन। केही समस्या पनि छैन। म स्वस्थ छु, यदी मलाइ कोरोना छ भने पनि म पचाउन सक्छु,' कार्यालयका साथीहरूसँग सल्लाह गर्ने क्रममा मैले भनेँ, 'तर, कार्यालयका लागि र कार्यालयमा आउने ग्राहकहरूका लागि, अनि तपाईंहरू र घरमा भएका बालबच्चा र समाजको लागि म केही दिन फेरि घरमा बस्नुपर्ला जस्तो छ।'

मैले भनेअनुरूप साथीहरूले पनि 'हुन्छ' भन्नुभयो। फेरि म घरमा बस्न थालें।

एक दिनपछि बेलुका त्यही नम्बरबाट फोन आयो, 'हेलो कुशल! तिमी कहाँ छौँ? मेरो रिपोर्ट पोजेटिभ आयो, तिमी पनि चेक गर्नु है!' मैले 'हुन्छ' भनेपनि डर चाहिँ लागेको थिएन। किनकि मलाई पूर्ण विश्वास थियो : मलाई केही हुँदैन। मसँग कुनै लक्षण थिएन, तैपनि मैले कोरोना नामक भाइरसलाई सामान्य रूपमा लिइसकेको थिएँ।

तर, समाजले हेर्ने दृष्टिकोण अनि समाजको मनोविज्ञानलाई कसरी फेस गर्ने भन्ने चुनौती थियो। समाजमा फैलिएको कोरोनासम्बन्धी भ्रमलाई कसरी चिर्ने भन्ने चाँहि मस्तिष्कमा घुमिरह्यो। जतिखेर समस्या आउँछ, त्यही समयमा सामना गर्नुपर्छ भन्ने मानसिकता बनाएँ।

संक्रमणपछिको त्रास

भदौ १७ आफूलाई कोरोना संक्रमण भए/नभएको थाहा पाउन गते स्वाब परीक्षण गराउन अस्पताल गएँ। अस्पतालले स्वाब नमूना लियो र चिकित्सकहरूले रिपोर्ट नआउन्जेल केही समयको लागि घरमा बस्न तथा पोजेटिभ देखिए होम क्वारेन्टाइनमा थप समय बस्‍न सुझाए।

घरमा फर्केर अलग्गै बस्न थालेँ। बैंक र बाहिरका साथीहरूलाई पनि जानकारी गराएँ। त्यसको दुई दिनपछि बेलुकीपख स्वास्थ्य विभागबाट फोन आयो र मेरो रिपोर्ट पोजेटिभ आएको जानकारी गराइयो। यो जानकारी पाएपछि एकछिन त केही सोच्नै सकिनँ, किनभने मलाई केही लक्षण नभई कोरोना संक्रमण पोजेटिभ देखिएको थियो। तर, कमजोर भएर रोगसँग लड्न सकिँदैन भन्ने लागेर आफैँलाई सकारात्मक बनाएँ। 

मेरो परिवार पनि सँगै भएकोले उनीहरूको साथ र हौसलाले ममा थप आत्मबल बढायो। यो सामान्य रुघाखोकीजस्तै हो, यसलाई सजिलै जित्नसक्छु भन्ने आत्मबल र आत्मविश्वास थियो। घरमा आमा, मामा, माइजुलगायत सबै आफन्तलाई खबर गरें।

मैले घरमा सल्लाह गरेँ : 'म घरमा बस्दा हुन्छ कि बाहिर?' मेरो परिवारका सदस्यहरूको चेतना उच्च भएकै कारण सजगता अपनाएर म घरमै बस्ने निर्णय भयो। तर, आइसोलेसन नपाएर होइन।

मेरो घरमा बस्ने ठाउँ हुँदा र घरको परिवारको निर्णय पनि घर मै बस्दा हुन्छ भनिरहँदा म बाहिरको आइसोलेसनमा बस्‍नु ठीक थिएन। किनकी, म त्यहाँ बस्दा अर्को गरीब र विपन्न‍ बिरामी नागरिकले ठाउँ नपाउन सक्थे। म घरमै बसिदिँदा कम्तिमा एक जना संक्रमितले आइसोलेसनमा बस्न पाउँथे। यो निर्णय भइसकेपछि साथीभाइ र आफन्तलाई 'मेरो स्वास्थ्यअवस्था सामान्य छ, चिन्ता लिनु पर्दैन' भन्दै आश्वासन दिँदै थिए।

६ दिनसम्म घरमा बस्दा स्वास्थ्य विभागले सोधपुछ गरिरह्यो। अस्पतालबाट पनि एकदमै केयर पाएँ। आफ्नै घरमा बस्दा पनि फोनमार्फत धेरै केयर पाएर म निकै खुसी भएको छु। 

होसियार हुनुपर्दो रहेछ

मेरो अनुभवमा वास्तवमा कोरोना भाइरस भाइरल रुघाखोकी निम्त्याउने जस्तै सामान्य जीवाणु हो। विभिन्‍न सञ्जालमा त्रसित तरिकाले तहल्का पिटेको कारण मानिसहरू बढी डराएका रहेछन्, म पनि यहि कारणले अलिअलि डराएको थिएँ। कोरोनाको अनुभव गर्नेहरूको पनि गम्भीर स्थितिका भिडियोहरू मात्रै देखिएको कारणले गर्दा आफू पनि त्यहि स्थितिमा पुगिने हो कि, मारिने पो हो कि ! भन्ने ठूलो डर लाग्दोरहेछ।

कति मान्छेहरूमा कोरोना लागेपछि शरिरमा भएको रोगहरू बढेर मर्दा रहेछन्। कति त कोरोना लागेको सुन्ने बित्तिकै डरले हृदयघात भएर मर्दा रहेछन्। सामाजिक सञ्जालले फैलाइदिएको त्यो भ्रम र डरले प्रतिरोध क्षमता र आत्मबल नभएकालाई धेरै असर गर्दोरहेछ। 

यो बेला रक्तचाप भएका र मुटु रोगीहरूहरू डरका कारण हार्टअट्याक भएर नै सकिँदा रहेछन्। कति ठाउँको ठाउँ लडेर बेहोस हुँदा रहेछन्। कमजोर सोचाई भएकाहरू भनेडर र परिवारको चिन्ताले बढी सोचेर डिप्रेशनमा पर्दा रहेछन्। कतिले डर खप्न नसकेर आत्महत्या पनि गर्दा रहेछन्।

तर, मलाई के अनुभव भयो भने अलिक ध्यान दिए र शरीरमा अन्य रोग नभए हामीमा यो भाइरसबाट कुनै असर हुन सक्दैन। शरीरमा कुनै लक्षण नै छैन भने अलि ध्यान दिए डर मान्नै पर्दैन। यो मेरो अनुभव हो, तर ध्यान नदिए चाहिँ स्वास फेर्नै कठिनाइ भएर ज्यान जान पनि सक्नेरहेछ।

म जस्तै कोरोना सङ्क्रमित साथीहरूको अनुभवका आधारमा यो लेखिरहेको छु। आफ्नो ख्याल गर्ने र सधैँ पोसिलो खानेकुरा खाने, तातोमा रहने, घरायसी आयुर्वेदिक औषधि खाने र आत्मबल दह्रो भएका, कोरोना लागेको भन्ने थाहा नै नपाई सामान्य रुघाखोकी होला भन्ने सोचिरहँदा पनि संक्रमणमुक्त भइसकेका हुँदा रहेछन्। 

यो भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सजिलै संक्रमण हुने हुनाले अलि बढी सतर्क हुनुपर्ने हो। मेरो शरीरमा पनि यो भाइरस कतैबाट संक्रमण भई पोजेटिभ देखिएको थियो। मानव शरिरमा भाइरस संक्रमण हुँदा व्यक्तिअनुसार फरक–फरक लक्षण देखिँदो रहेछ। म जस्तै कोरोना संक्रमण भएर क्वारेन्टाइनमा बस्ने अरु बिरामी साथीहरूसँग सोध्दा फरक–फरक लक्षण भएको पाएको छु।

यो भाइरसले शरीरमा रोग प्रतिरोधात्मक क्षमता भएका सामान्य स्वास्थ्य भएकालाई खासै समस्या बनाउँदो रहेनछ। जसको शरीर कमजोर छ, पहिला मुटुको समस्या, रक्तचाप, मधुमेह, निमोनिया, दम र मिर्गौलाको समस्या भएकालाई यसले अप्ठेरो पार्न सक्छ। त्यसैले, यसबाट विजय प्राप्त गर्न आवश्यक पर्ने प्रोटिनयुक्त खानेकुराहरू खानुपर्छ।

खानपिन र दिनचर्या 

- नियमित मास्क, स्यानिटाइजर र ग्लोब्स प्रयोग गर्ने, मिल्छ भने दैनिक बिहान ८–१० बजेभित्र कम्तीमा आधा घण्टा घाममा बस्ने। यसो गर्दा शरीरलाई भिटामिन डी प्राप्त हुन्छ। बाहिर अनावश्यक ढंगले ननिस्कने।

- दिनमा कम्तीमा ४ देखि ६ लिटरसम्म तातोपानी पिउने, सार्वजनिक स्थलमा भौतिक दूरी कायम राख्ने। सामान्य तापक्रममा बस्ने। सकभर आफ्नो काम आफैँ गर्ने। 

- दैनिक ४-५ पटक बाफ लिने। सकभर एयर कन्डिसनको नजिक नबस्ने।

- अत्याधिक रूपमा भिटामिन सी पाउने फलफूलहरू जस्तै : आँप, सुन्तला, एभोकाडो, कागती, मेवा खाने, भिटामिन सी क्याप्सुल पनि लिन सकिन्छ।

- आत्मबल बढाउने र आफन्तसँग निरन्तर सम्पर्कमा रहने। सधैँ हलुका शारीरिक व्यायाम गर्ने।

- बेसार, जिरा, मरिच, अदुवा पानी, तातो पानीमा मह र कागती राखेर पिउने, दैनिक ४–५ पिस काजु, बदाम, जस्ता पौष्टिक खाने कुरा खाने, समय समयमा तातो सुप पिउने, खाना खाँदा अनिवार्य २ पोटी लसुन खाने र झोलिलो खानेकुरामा बढी जोड दिने।

- मादक पदार्थ साथै चुरोट तथा सुर्तीजन्य बस्तु सेवन नगर्ने। एकान्तमा बस्ने अरु मान्छेको नजिक नजाने, खोकी वा हाँच्छ्यु लागेमा रुमालले छोपेर गर्ने।

- नाक र मुखबाट लामो सास लिएर केही समय ८-१० सेकेन्ड रोकेर बिस्तारै सास फाल्ने, यसो गर्दा फोक्सोलाई राम्रो हुन्छ। सुत्दा खेरी घोप्टो वा कोल्टो परेर सुत्ने यसरी सुत्दा फोक्सोलाई सहयोग पुग्छ।

- घाँटी दुखेको छ भने तातो पानीमा नुन राखेर सहन सक्ने गरी कुल्ला गर्ने, यसो गर्दा घाँटी दुख्न कम हुन्छ। यसले घाँटीमा भएका ब्याक्टेरिया पनि मार्छ।

- बिहान उठेर १ गिलास तातो पानीमा २ चम्चा मह र कागती निचोर पिउने। चिसो खाने कुरा, फ्रोजन आइटम, मोही र दही नखाने।

- क्वारेन्टाइनमा बस्दा आफूलाई मनपर्ने, भुलाउने फिल्म हेर्ने, आफन्तसँग हाँसी खुसी कुरा गर्ने, आफूलाई व्यस्त राख्दा तनाव कम हुन्छ। 

माथि लेखिएका कुराहरू दैनिक रूपमा पालना गर्दा कोरोना पोजेटिभ देखिएको १० देखि १४ दिनसम्ममा नेगेटिभ हुन्छ। कहिलेकाहीँ कोरोना संक्रमण भएको व्यक्तिलाई छाती दुख्ने र श्वास लिन गाह्रो हुनसक्छ। यस्तो समस्या आएमा तुरुन्त नजिकको अस्पतालमा सम्पर्क गरेर परामर्श लिनुपर्छ।

कोरोना संक्रमण भएका मान्छेलाई परिवार, समाज र साथीहरूले घृणा होइन, माया र हौसला दिनुहोस् तपाईंको माया र हौसलाले अवश्य तपाईंका आफन्त र साथीले कोरोनासँगको लडाइँ जित्नुहुनेछ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.