|

त्यतिबेला पनि उ भारी बोक्थ्यो। सानो र कलिलो कुर्कुच्चा बाङ्गो पारेर भारी बोकेको देख्ने जो कोहीले माया गर्थे। भारी बिसाएपछि ज्यालामा ‘यो चाहिँ चिया खा है!’ भनेर पाँच रुपैयाँ थपिदिन्थे। दोकाँधे नाम्लो भिरेर एकाबिहानै बसपार्क झर्ने मोती बहादुरले सानैदेखि राजुलाई पनि भारी बोक्न सिकायो। 

झिसमिसेमै बाबुको पछि लागेर बजार झर्दा उ कम्ती खुशी हुन्थेन। भारी नपाउञ्जेल बाउ र उनका साथीहरू बसपार्कको कुनामा फोहोर बालेर आगो ताप्दै चिया खान्थे। बाबुले उसको भाग पनि चिया किनिदिन्थ्यो।

खासमा चिनी पनि राम्ररी नलागेको घरको फिक्का चिया मन नपरेर उ बाबुको पछि लागेर बजार झरेको हो। चियासित पाउरोटी पनि पाएपछि अल्लि थपेर भारी बोके पनि उसलाई गह्रुङ्गो लाग्दैनथ्यो।

त्यसताका बसपार्कका कैलाशपति साहुको रेडियोमा उसले ‘कर्फ्यु’’ शब्द पहिलो पटक सुनेको थियो। रेडियो राम्ररी नसुन्ने हुँदो हो त जनआन्दोलन, जनसागर, बहुदल, पञ्चायत... जस्ता शब्द पनि सुन्दैनथ्यो। यी शब्दहरू सुन्दा उ त्यस्तै आठ नौ वर्षको हुँदो हो।

कानमा अलिअलि ‘कर्फ्यू’को रन्को परेपछि उसका बा बसपार्कतिर झर्न छाडे। त्यतिबेला सुनेको ‘कर्फ्यू’ र बाउले बसपार्क झर्न छोड्नुमा के सम्बन्ध थियो, उसले बुझ्दा पनि बुझेन, बुझ्न पनि खोजेन।

त्यसपछि उसका बा हजुरबा र हजुरआमा बस्ने गाउँतिर गएका थिए। ‘पैसा कमाउन गएका हुन्’ भन्थिन् आमा। तर पैसा कमाएर बा कहिल्यै फर्किएनन्। 

‘तेरो बाउ मरे’ भनेको पनि कसैको मुखबाट सुनेन। बाउ फर्किएको पनि कहिल्यै देख्न पाएन।

त्यसअघि आइरहने बाउका साथीहरू उनी हराएपछि पनि आइरहन्थे। आमाले पारेको रक्सी खान्थे। राती अबेरसम्म हाँसिमजाक गरिरहन्थे। आमा पनि खुशी देखिन्थिन्। आमालाई खुशी देख्दा उसले बाउ हराएको पिडा लिनु परेको थिएन। साँच्चै असल थियो राजु। सँधै रक्सी खान आउने आमाका साथीहरूले पनि उसलाई ज्ञानी छ भनेर फकाउँथे। सँधै एकदुई रुपैयाँ दिएर ‘बजार जा, बिस्कुट किनेर खा!’ भन्थे।

एकदिन उ ब्युँझिएदेखि हराएकी आमा आजसम्म भेटिएकी छैनन्‌। बाउ हराएपछि आइरहने बाउका साथी आमा हराएपछि चाहिँ आउन छाडे। 

आमासँगै हराउने बाउका साथीहरू कहाँ भेटिन्छन्, उनीहरूको घर कहाँ छ, उसले न पहिले सोधेको थियो, न कसैले उसलाई भनिदिए।

जिन्दगीका धेरै कुरा अलमलमा बितिरहेका हुन्छन्। अलमल छिचोल्दै अघि बढिरहनेहरू अगाडि पुग्छन्। अलमलमै रोकिनेहरू कुनै न कुनै रुपमा समाप्त हुन्छन्।

कसैले नसिकाए पनि राजु अलमल-अलमलकै बीच अघि बढिरह्यो। बाउकै पद चाप पछ्याउँदै एक्लै बसपार्क झर्न थाल्यो। अहिलेसम्म पनि यो निरन्तरतामा क्रमभंग भएको छैन।

त्यसको १६ वर्षपछि उ २२ वर्षको भयो।  बजारका रेडियो र टिभीहरूमा जनआन्दोलन, जनसागर, ‘कर्फ्यू’ शब्दहरू बारम्बार सुन्न थाल्यो। बजार ठप्प भए।

यसपालि फेरि‘कर्फ्यू’ शब्द उसको कानमा पर्‍यो। फेरि गाडी ठप्प भए। अनि उसको काम पनि ठप्प भयो।‘कर्फ्यू’भन्ने शब्द सुन्न थालेपछि बाउको काम कसरी हराएको रहेछ भनेर बुझ्न उसलाई २२ वर्ष लाग्यो। 

एकदिन, दुईदिन, तीन दिन गर्दै तीन हप्ता उसको काम ‘कर्फ्यू’ले खाइदियो। 

पिँढीमा नाम्लो फालेपछि विमली मसक्क हुदै भेट्न आउँथी। चोर औँलो बाङ्गो पारेर निधारको पसिना फाल्दै गोजीको पैसा सबै झिकेर उसको हातमा राखेपछि पूरै खुलेर मुस्कुराउँथी। राजु यसैमा थकाइ मेट्थ्यो।

तर, काम ठप्प भएपछि विमलीको ओठ पनि ठप्प भयो। भोलिपल्ट पनि काम खोज्न गयो। फर्केर आयो, तर पैसा राख्न दिन सकेन। विमली गमक्क परी। पर्सिपल्ट पनि काम पाएन। विमली ठसक्क परी। निकोपर्सि चुल्हो बाल्न नपाएको निहुँमा विमली गनगन गर्न थाली। चौथो दिनदेखि राजु र विमलीको सामान्य विषयमा पनि भनाभन हुन थाल्यो। 

थाप्लोमा जति गह्रुङ्गो भारी भएपनि घरमा विमलीको शीतल वचन र व्यवहारले मन हलुङ्गो हुन्थ्यो। तर ‘कर्फ्यु’ शब्द सुन्न थालेपछि दिनभर भारी नपाएर गह्रुङ्गो भएको मन साँझ विमलीसँग आँखा जुधेपछि झन्‌ गह्रुङ्गो हुन थाल्यो। 

सानैदेखि भारी बोकेको, सोझो, इमान्दार भरिया भनेर पैसा थपिदिने साहुजीहरूले 'अचेल के खाएको छस्, कसरी परिवार पालेको छस्?' भनेर सोधेनन्। सँधै सटरमा भेट्ने साहुजीहरूलाई ‘कर्फ्यु’ का बेला सिरान तलामा भेट्न जान पनि सकेन। 

‘भरियाको खलक’लाई सरसापट, ऐँचोपैँचो दिने मनकारी उसको छिमेकमा कोही पनि रहेनछन्। श्रीमतीको हातमा पैसा राखिदिन नसकेको र श्रीमती गह्रुङ्गो चोटले मन भरिएको थियो। त्यसैले यसपालिको कर्फ्यु पनि ज्यादै तीतो बन्यो।

पछि त्यही रेडियो, टिभीहरूले लोकतन्त्र, गणतन्त्र, संविधानसभा, शान्ति सम्झौता जस्ता शब्दहरू फुक्न थाल्यो। फेरि भारी खुल्यो। विमली पनि खुशी भई।

त्यसको सोह्र वर्षपछि फेरि आज कैलाशपति साहुको रेडियोमा ‘कर्फ्यु’ शब्द सुन्यो। झसङ्ग भयो। भ्रम होला भन्ठान्यो। तर साहुको पसलको टेलिभिजनमा पनि, बिष्णु मास्टरको घरको रेडियोमा र विमलीको मोबाइलको युट्युवमा पनि कोरोना, कोभिड १९, क्वारेन्टाइन, लकडाउन, सटडाउन, आइसोलेसन, सेनिटाइजर, पीसीआर अनि ‘कर्फ्यु’ जस्ता शब्द सुन्यो। साँच्चै हो रहेछ।

टाउको भारी जस्तो भयो। मन अमिलो भयो। आँखा तिरमिराए जस्तो भयो। ‘फेरि कर्फ्यु ?’ उसले आफैलाई प्रश्न गर्‍यो। विमलीले पहिलेजस्तै गह्रुंगो कुरा गरेकीले उसलाई भत्भति पोल्यो। सपना पो हो कि भनेर वरिपरि हेर्‍यो। सबै यथावत थिए। सुनेको कुरो उसलाई पत्यार लागेन।

भोलिपल्ट झिसमिसेमै बसपार्क झर्‍यो। उसलाई पछ्याउँदै बिने पनि झरेको थियो। आफू सानो छँदा असाध्यै मनपर्ने दूध चिया यो छ वर्षको छोरालाई पनि खुवाउने रहर थियो। विमलीको मुहारमा मुस्कान छर्ने रहर थियो।

तर आज बसपार्कमा न बस थिए, न पसल खुलेका थिए। दूधचिया र पाउरोटी खाने पसल पनि खुलेको थिएन। 

तैपनि बजारभरि कतै न कतै काम पाइन्छ कि भनेर दोकाँधे नाम्लो भिरेर बिनेलाई अघि लाउँदै राजु चोकचोकमा चहार्न थाल्यो। दुईजना प्रहरीले उ आएतिर हेरेर बसिरहेका थिए। नजिक पुगेपछि प्रहरीले चर्को स्वरमा डाक्यो। उ इमान्दार भएर नजिक गयो। 

‘ओइ साले, कान समातेर उठबस गर् !’

‘किन हँजुर ?’ 

‘कर्फ्यु’ लागेको बेला किन हिँडिस् ?’

‘किन, के भयो हँजुर ? हिँड्न हुँदैन र ?’ उसले नजानेरै सोधेको हो।

‘धेरै बोल्छस् ? यो हिँड्ने बेला हो ? खुरुक्क उठबस गर्‌ !’

पुलिसले ख्यालख्याल भनेको होला भन्ठानेर राजु अमिलो मुख लाएर हाँसिरह्यो।

‘ओइ, सुनेनस् कि नटेरेको हो ?’

‘ल सुरु गरिहाल्। ५० फेर उठबस गरिहाल्।’ 

राजु कान समात्ने तरखर गर्न थाल्यो। 

‘ओइ फुच्चे, ल तँ पनि बाउले झैँ गर्‌ !’

बाउ एक, दुई, तीन गन्दै कान समातेर उठबस गर्न थाल्यो। बाउतिर हेर्दै बिने पनि बाउले जस्तै गर्न थाल्यो। बाउ एकफेर उठबस गर्दा बिने दुईफेर गर्न भ्याउँथ्यो। तर उसको ताल एकनासको थिएन। केहीबेर अलमल हुनेबित्तिकै पुलिसले झपार्थ्यो। ‘ओइ, किन रोकिएको ?’

पचास पुगेपछि राजुले जानका लागि अनुमति माग्यो।

‘अब जाउँ हजूर ?’

‘यता अगाडि जाने होइन, नि! जताबाट आएको उतै फर्की जा।’

उसले त्यसै गर्‍यो। फर्केर अलिक पर पुग्न नभ्याउँदै अघि भर्खर आएको बाटोमा प्रहरीले अड्डा जमाइसकेको रहेछ। 

पछाडिबाट लुकिछिपि आएका प्रहरीले बाउछोरालाई सनासोभित्र पारे। सनासोले घचेट्दै बिने र राजुलाई घेराभित्र पुर्‍याए। भारी खोज्दै हिँडेको मान्छेलाई सनासोभित्र अँचेटेको राजुले यो उमेरसम्म देखेको थिएन। कैलाशपति साहुको टिभीमा पनि यस्तो देखेको थिएन। विमलीको मोबाइलमा हेरेको कुनै पनि फिलिममा पनि यस्तो देखेको थिएन। 

बिचरो बिने दंगदास थियो। घरी बाउतिर हेर्थ्यो, घरी आफूतिर। किन यस्तो भइरहेको छ, भनेर सोध्न समेत सकेन। भोकले बोल्न, हिँड्न नसक्ने अवस्थामा पुगिसकेको थियो।

घेराभित्र उ जस्तै अरु १२ जनालाई प्रहरीले जम्मा पारिसकेका रहेछन्। सबै उस्तै-उस्तै, कपाल नकोरेकाहरू, मैला र झुत्रा लुगा त्यै पनि नमिलाइकन लगाएकाहरू। दैनिक नुहाइ धुवाई नगरेकाहरू। कपालमा तेल, जेल नलगाएकाहरू। अनुहारमा क्रिम नदलेकाहरू, जुत्ता नलगाएकाहरू। सस्तो र खिइएर भुइँ भेट्नै लागेका चप्पल लगाएकाहरू, घामले डढेका अनुहार, गर्धन र पाखुरा भएकाहरू, पैताला पटपटी फुटेकाहरू। 

चर्को घाममा राखेर प्रहरीले आधा घण्टा अबोध बालक र राजुहरूलाई ‘कर्फ्यु’को बारेमा पढायो। भोकले लखतरान भएको छोराले के बुझ्यो थाहा छैन। राजुले बुझ्यो कोभिड, कोरोना, क्वारेन्टाइन, लकडाउन, सटडाउन, मास्क, सामाजिक दुरी, आइसोलेसन, सिडियोको ‘कर्फ्यू’ आदेश इत्यादि।

त्यहाँबाट बल्लतल्ल छुटकारा पाएका राजुका बाउछोरा अब सिधै घर जाने भनी मूलबाटो छाडेर गल्लीको बाटो हान्निए। गाढा नीलो रङको सर्ट, पाइन्ट, टोपी र जुत्ता लगाएका पुलिस देखिन्छन् कि, भेटिन्छन् कि भन्ने त्रासले झसङ्ग, झसङ्ग हुदै बेतोडले घरतिर जाँदै थिए।

मुल सडक छोडेर उसको घर जाने पैदल बाटो छुट्टिने बेला फेरि पाँच सात जनाको डफ्फा भेटियो। उ आएकै गल्लीतर्फ फरक्क फर्कन मात्र के लागेको थियो, लठ्ठी सोझ्याउँदै दुईजना आइहाले। भाग्दा झन् गल्ती हुने बुझेर उ आज्ञाकारी बन्यो। उनीहरूले यी दुबैलाई वानटनभित्र कोचे। ​

उनीहरूलाई गाडीमा कोचेपछि वानटन गुड्न थाल्यो। मानौँ एउटा सिट खालि भएर यात्रु कुरिरहेको मिनीबस सिट भरिएपछि कुद्‌यो। वानटनभित्र मान्छे त्यति धेरै थिए : मानौँ, सबै पिसीआर परीक्षण गरेर कोरोना नेगेटिभ पुष्टि भएकाहरू मात्र छन्। 

धेरै मान्छे पक्राउ गरेपछि राम्रो ड्युटी गरेको ठहरिन्थ्यो। 

भोको पेटमा दिनभरी गोता खायो। तर उसले जत्ति नि देखेको थियो, सडकमा अरु मान्छेहरू। उनीहरू सफासुग्घर थिए, हटिलोमटिला, खाइलाग्दा थिए। कालोचस्मा लगाएकाहरू पनि थिए। हाफप्याण्ट लगाएका युवतीहरू पनि थिए। क्याप लगाएका, जिन्स लगाएका केटीहरू पनि हिँडिरहेका थिए। घाँटीमा परिचयपत्रको जन्तर झुण्ड्याएकाहरू पनि निर्बाध हिँडिरहेका थिए।

तर प्रहरी किन राजु जस्तै मैलोधैलो, दुब्लो ख्याउटे र झुत्रे मान्छेहरू मात्र खोजिरहन्छ ? उसले बुझ्न सकेको थिएन। बुझ्न खोजेको पनि थिएन। किनभने उसलाई सानो छँदै बाउका साथीहरूले ज्ञानी भनिसकेका थिए। जति दु:ख सहेर पनि ज्ञानी नै हुन चाहन्थ्यो, अज्ञानी भइन्छ कि भनेर सजग हुने गर्थ्यो। 

यति बेलासम्म तीन बजिसकेको हुँदो हो, उ भोको थियो। उसलाई आफू भोकाएको कत्तिपनि चिन्ता थिएन, किनभने उसँग पाँचवर्षे भोको छोरो थियो। उ जहाँ छोए पनि ढल्ला जस्तो भइसकेको थियो। प्रहरीले जति गाली गरे पनि सहिदिन्थ्यो, लाठी हाने पनि उ सहन्थ्यो, तर उसले यत्तिका बेरसम्म छोरा भोको भएको सहन सकेन।

बिन्तिभाउ गर्‍यो : छोरालाई केही खानेकुरा दिनुस्।

‘ए, यो तेरो ससुराली हो? मिठामिठा खानेकुरा ल्याइदिउँ ?’

‘त्यसो नभन्नु न, छोरो मर्न लागिसक्यो।’

‘हामीले कर्फ्यु लागेको बेला छोरा लिएर हिँड् भनेका थियौँ र ? किन लिएर हिँडेको थिइसे त यस्तो लालाबाला।’

‘भारी खोज्न आएको हजुर।’

‘बढि जान्ने भएर नबोल्, खालास् फेरि!’

फेरि उनीहरूलाई प्रहरी कार्यालयको आँगनको चर्को घाममा सुकाइयो र सुनाइयो अघिजस्तै कोरोना, कोभिड १९, मास्क, सेनिटाइजर, सामाजिक दुरी, पिसीआर पोजेटिभ, नेगेटिभ, क्वारेन्टाइन, आइसोलेशन, सिडियोसापको कर्फ्यु आदेश आदि इत्यादि...!

आधा घण्टापछि उनीहरू निस्किए। चार बजेपछि खाद्यान्न पसल खुल्ने रहेछ। छोरालाई खान दिनका लागि उसले बिस्कुट किन्ने विचार गर्‍यो, तर उसँग १०, २० रुपैयाँ पनि थिएन। पछि पैसा दिन्छु भनेर एकदुई ठाउँमा त मागेको पनि थियो, तर कसैले दिएनन्। उसको पापी मनले रच्यो, चोरेर, लुटेर पनि छोराको पेट भरिदिउँ।

​तर दिनदहाडै अरुको आँखैअघि कसरी चोर्ने, कसरी लुट्ने ? उसको हातै अघि बढेन। किनभने उ ज्ञानी थियो, अज्ञानी हुनै सक्दैनथ्यो।

छोरालाई काँधमा बोकेर उ उकालो लाग्यो। खुई काढेर उकालो चढ्दैगर्दा सोच्यो, अब घर पुगेपछि विमलीको कस्तो रुप देख्नुपर्ला। 

विमलीले मोबाइलमा हेरिरहेकी थिई। एउटा युट्युव च्यानलमा मच्चीमच्ची १६, १७ वर्षे ठिटो चिच्याइरहेको थियो, ‘लौ हेर्नुस् विश्वभरि फैलिरहेको ज्यानमारा कोरोना बोकेर बजारमा लखरलखर हिँड्नेहरूलाई पक्राउ गर्न प्रहरीले अपनायो यो नौलो तरिका ...। हामीलाई लाइक र सस्क्राइब गर्न नबिर्सनुहोस्’ इत्यादि।

उसले पूरै भिडियो हेरी। राजु र आफ्नो कलिलो छोरोले गोता खाएको पनि देखी। फेरि अर्को भिडियो पनि हेरी। त्यसमा पनि त्यस्तै उमेरको अर्को ठिटो चिच्याइरहेको थियो, ‘जब एउटा अपराधी एउटा छ वर्षे बालकलाई लिएर विभिन्न अपराध कर्ममा संलग्न हुन्छन्, तब यस्तो सजाय दिन बाध्य हुन्छ प्रहरी ...। हाम्रो च्यानलको सस्क्राइब बटनमा क्लिक गर्न नछुटाउनुहोला...’ इत्यादि।

भिडियोमा देखी : राजु र बिने नालाखाला पसिना चुहाउँदै उठबस गरिरहेका थिए।

दुवै दृष्यले विमलीको आँखा तिर्मिरायो। दिमाग चक्करायो। सोची, ‘ए, घरबाट निस्केपछि अपराध पो गर्दोरहेछ राजुले। छोरोलाई समेत किन अपराध गर्न लगायो ? हेर्दा त खुब सोझो देखिन्छ नि ? मेरो आँखा छलेर अपराध गर्दोरहेछ। पख् त्यसलाई। अनि कोरोना पनि बोकेर हिँडेको ? घरबाट त खुप् भारी बोक्न भनेर गएको थियो। तेरा बाउ छोरा घरमा त आइपुग् न, मैले जानेको छु ...।’ 

पक्का पनि आज पैसा नकमाएको निश्चित गरी र विमली मुलओछ्यानमा ख्वाम्लाङ्ङ घोप्टो परेर सुती। 

भान्सामा आगो बलेको थिएन।

000

लकडाउनले चार महिना पूरा गरिसकेको थियो। पाँचौ महिनामा लकडाउन सप्रिएर ‘कर्फ्यु’ बनेको थियो। बजार झन्‌ ठप्प थियो। घरबाट त परको कुरा कोठाबाट कौशीसम्म पनि कोही निस्कँदैनथे। 

विमलीको छोरो बिने निस्लोट बिरामी थियो। घरमा दिनहुँ मदौरो घुमेपछि बिने बिरामी भएको विमली बुझ्थी। सबैले कोरोना लागेछ भन्देलान् भनेर विमलीले बिनेलाई बाहिर निस्कन दिएकी थिइन। बिरामी छ भनेर कसैलाई सुइँको पनि दिएकी थिइन। 

‘यसलाई पुलिसदेखि सातो गएको हो। अरु केही होइन’, भन्थ्यो राजु। हेल्थपोष्टको ओखतीले बीसको उन्नाइस बनाएन। मगरको मेडिकल पनि लग्यो। चार थरी ओखतीले छुँदै छोएन। धर्मे बाजेकोमा फुक्न पनि लगेको हो।

विमलीले एकाबिहानै पँधेरोमा धोती भिजाएर कसैसँग नबोली घरमा आएर सुतिरहेको बिनेलाई झ्याम्मझ्याम्म हानेर तीनदिनसम्म सातो फुकेकी पनि हो। घाम डाँडामा बसेपछि राजुले चामलमा बेसार, मास मिसाएर सालको पातमा पोको पारी बिनेको टाउकामा घुमाउँदै देउदेउताको नाम, उडुवा, डुलुवा, मसान, भूत, प्रेत, पिचास सबैलाई मन्साएर दोबाटोमा लगेर राखिदिएको पनि हो। तर कत्ति पनि बिसेक भएको थिएन।

बिने दुब्लाएर सिठ्ठो भएको थियो। 

घरमा पकाउने दानोनाम अन्न थिएन। थैलीमा सुकोनाम पैसा थिएन। लकडाउनदेखि कर्फ्युसम्म आइपुग्दा विमली र राजुको बोलचाल बन्द भइसकेको थियो। मोबाइलमा युटुप हेर्ने पैसा पनि थिएन। माइत जाउँ गाडी चलेको थिएन। हिँडेर जाउँ हिँडडुल गर्न पनि मनाही थियो। 

चोक–चोक, बाटो–बाटोमा खाँबा गाडेर बार हालेका थिए। कतै पर्खाल लगाएका थिए। नदी, खोलाका पुल भत्काएका थिए। ‘म पनि तपाईँको घरमा आउँदिन, तपाईं पनि मेरो घरमा नआउनुहोस्’, ‘प्रवेश निषेधित क्षेत्र’ जस्ता साइनबोर्ड, होर्डिङबोर्ड राखिएको थियो। कतै सडकबाट घर आँगनमा पस्न नमिल्ने गरी लमतन्न दोहोरो, तेहरो डोरीको बार हालिएको थियो।

राहत भनेर चार महिनाअघि बाँडेको चामल विमलीको घरमा एकसातामै सकिएको थियो। अब फेरि दोहोर्‍याएर राहत बाँड्ने हल्ला पनि सुनिएन।

राममायाको एउटा सानो सुर्को मागेर काँक्रो र करेला लगाएकी थिई। बेचेपछि राजुले दिएको पैसामा थपथाप गरेर सामल जोर्न सजिलो हुन्थ्यो। उम्रियो। मलजल गरी हुकाई। फुल्यो। फल्यो। सप्रियो। बेच्ने बेला भयो तर जताततै बन्द भयो। काँक्रो र करेला टिपेर खानु खाई, नखानु खोरियामा लगेर फाल्दिई।

​सरसापट, ऐँचोपैचो कसले पत्याउने ? कति समयसम्म लकडाउन हुने हो ? आफै खान नपाउने अवस्था आउँछ कि भन्ने सबलाई डर थियो।

000

विमलीको खलकमा तातोपानी खाएर छाक टार्नुपर्ने अवस्था आइसकेको थियो। कसलाई भन्ने, कसलाई सुनाउने ? हारगुहार गर्ने ठूला मान्छे कोही चिने पो ?

ठूला मान्छे त ठूला घरमा बस्छन्। ‘कर्फ्यु’ लगाउन सिफारिस गर्छन्, निर्णय गर्छन्, आदेश गर्छन् र जारी गर्छन्। ठूला मान्छेलाई थाहा थियो, ‘कोरोनाको ओखती कर्फ्यु हो’। कर्फ्यु लगाएपछि कोरोना किमार्थ आउँदैन। कोरोना नआइदिए अरु कुनै समस्या हुँदैन भन्ने थाहा थियो। कर्फ्यु लगाएपछि सिपाहीलाई सडकमा छरेर सबैभन्दा सिरान तल्लामा मस्तसित निदाउन पाइन्थ्यो। ‘कर्फ्यु’ सिफारिस गर्ने, निर्णय गर्ने र आदेश दिनेहरू मिलेर शास्त्रीय निषेधाज्ञा तोड्न पाइन्थ्यो। 

विमलीको चुल्हो बल्छ कि बल्दैन भनेर उनीहरूलाई साँच्चै थाहा थिएन।

कर्फ्युको अर्को फाइदा पनि थियो। कर्फ्यु लगाएपछि जिल्लाको जनजीवन शान्तिपूर्ण बन्थ्यो। त्यस्तो शान्ति, जहाँ रोए पनि आवाज घरभित्रै, झैझगडा, मारकाट भए पनि क्रन्दन, चित्कार सबै घरभित्रबाट बाहिर निस्कँदैनथ्यो। रोग र भोकले कोही मरे पनि गुपचुप अन्त्येष्टि गर्नुपर्ने! हल्ला भयो भने कोरोना लागेर मरेको आरोपमा बास उठ्न सक्थ्यो।

कर्फ्युको अर्को फाइदा पनि थियो। जिल्लाको अवस्था शान्तिपूर्ण भएपछि जिल्ला समन्वय समितिका प्रमुख, सहरका मेयर, जिल्लाका सिडियो, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धानका प्रमुख दिउँसो नियमित बैठक बस्थे। जिल्ला भ्रमण गर्थे। बेलुकी नियमित भेला हुन्थ्यो। भेला हुने निश्चित ठाउँ थिएन। आलोपालो हुन्थ्यो। कहिले जिप्रका, कहिले ब्यारेक, कहिले सिडियो क्वाटर, कहिले मेयरको क्वाटर। अनि शास्त्रीय निषेधाज्ञा तोड्ने काम हुन्थ्यो। 

कर्फ्युको अर्को फाइदा पनि थियो। कोरोना संक्रमण अरु जिल्लामा भन्दा कम फैलिएपछि कोरोना संकट व्यवस्थापनमा उत्कृष्ट काम गरेबापत गणतन्त्र दिवस, सेना दिवस, प्रहरी दिवसमा पदक आइमिल्थ्यो।

विमलीजस्ताका छोराहरू मरेर कोरोनाका कारण मर्नेको संख्यामा केही चढाव आउँदैनथ्यो। ठूलो संकट टार्न खोज्दा सानातिना दुर्घटना हुन्छन्। ‘मकै पिस्दा घुन पिसिन्छन्’ भनेर अर्थ्याइन्थ्यो।

बिहान नौ बजेसम्म खाद्यान्न पसल खुल्ने र सामान किन्न जान आउन पाइने नियम बसालिएको थियो। राती सुत्दा राजुले सम्झ्यो, त्यही मौका छोपी मनले खाएको कैलाशपति साहुको दैलामा पसारो पर्न जाउँला। चार पाँच हजार दिए भने बिनेलाई उपचार गरुँला। विमलीको भण्डार पनि भरिएला।

सँधैभन्दा झिस्मिसेमै उठ्यो र विमलीलाई सुनाउँदै नसुनाई बसपार्कतिर झर्‍यो। कैलाशपति साहु बिहान हिँडेर घर आउने समय अल्लि भइसकेको थिएन। एकछिन पर्खियो।

‘ए, यो त यहाँ पो आएछ आज। कोरोनाको डर छ। खै के भनुँ।’ साहुजीले परैबाट भने।

‘साहुजी, यो कर्फ्यु त एकदिन खुल्छ, खुल्छ। त्यसपछि तपाईँले जे काम लगाए पनि म गर्छु। अहिल्यै केही काम छ भने भन्नुस। म सास फ्याँकेर पनि गर्छु। तर आँखै अगाडि जहान छोराछोरी भोकभोकै मरेको हेर्न सकिन। तातोपानीमा नून हालेर खाएको पनि दुई दिन भइसक्यो। मेरो छोरो बचाइदिनुस्। मेरो बूढी बचाइदिनुस्।’ 

बिस्तारमा भन्छु भनेर सोचेको कुरा राजुले एक सासमा भन्यो र साहुको अघि हात फैलाएर रोयो।

कैलाशपति रिसले चुर भयो। 

‘तेरो खलकलाई पाल्ने जिम्मा मैले लिएको छु र ?’ 

‘आफू बरु जति दिन भोकै बस्न पनि सकिन्छ। तर आफ्नै आँखाअघि जहान छोराछोरी भोकले मरेको हेर्न सकिएन हँजुर!’ राजुले डाँको छोड्यो। 

कैलाशपतिको मन कमजोर भयो।

‘बेला यस्तो छ। यस्तो घाँडो त अब दिनदिनै कति आउँछन्, कति। कतिलाई पाल्न सक्नुहुन्छ ?’ भित्रबाट आएको साहुनीको आवाजले कैलाशपति झन कमजोर भए। 

‘ला, अहिलेलाई यत्ति लिएर जा। काम पनि केही गर्नुपर्दैन। तर अब फेरि नआइज।’ कैलासपति च्यानलगेटमा चापी लगाएर भित्र गयो। सिँढी चढ्दै सिरान तलामा पुग्यो र आकासतिर हेर्र्द पिङमा बिस्तारै मच्चियो। कैलाशपतिले दिएको डेढसय रुपैयाँ उसलाई लिनु न नलिनु भयो। उसले त अल्लि दिनको गर्जो टर्ने गरी सापटी मागेको थियो। तर साहुजीको निगाहले पाएको यति पैसाले उनको दुईछाक पनि टर्दैनथ्यो।

दुई किलो चामल, एक पोको नून किनेपछि तेल किन्न पनि पुगेन। जे आयो, त्यही लिएर राजु घर पुग्यो। विमलीको कलेटी परेको ओठमा अलिकति भनेपनि मुस्कान आउँछ कि भन्ने झिनो आशा थियो। निटेक भएर सुतेको बिनेको मुखमा अन्नको तरान परेपछि उठ्न सक्छ कि भन्ने झन् ठूलो आशा थियो।

थकित शरीर ढलमलाउँदै उकालो चढ्यो। घर नपुग्दै तल्लो गराबाटै देख्यो, आँगनमा एकातिर बिने, अर्कातिर विमली र बिने लडिरहेका थिए। उसको हातको पोको एकाएक भुइँमा खस्यो।  

gorkhasamachar@gmail.com

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.