|

हेर्दा हेर्दै साठी वर्ष पुरा हुन आँटेको झोंछे टोलको एउटा कोठामा मुठ्ठी खाएर आफूले शपथ खाएको। छरपस्ट थियो कम्युनिस्ट आन्दोलन। जति नेता थिए, त्यति नै कम्युनिस्ट पार्टी थिए।

कम्युनिस्ट पार्टीमा निष्ठावान् नेता पनि थिए। निष्ठा त्यतिबेला जेलमा थियो अथवा भारतको बनारसमा नयाँ बाटो खोज्दै अलमलमा थियो। अनि राजाको ‘कू’ लाई सम्पूर्णतामा स्वीकार गर्ने जमिन्दार कम्युनिस्ट पनि थियो। सबै थिए तर अलपत्र। एउटा आँधी आउनु अगाडीको शान्ति थियो।

बिसे उमेर पनि नकटेका थियौं त्यतिबेला शपथ लिने। कति बुझेर लिइयो, कति नबुझी लिइयो अहिले नकोट्याऊँ। नबुझेरै कम्युनिस्ट पार्टीको सदस्य भइएको रहेछ भन्‍ने कुरा बुझ्न चार महिना पनि लागेन।

हाम्रो गुरुले आइ.ए. को जाँच दिएपछि सबै आआफ्नो गाउँ जाने र फर्किँदा गाउँका सबैभन्दा धनी कति, धनी किसान कति, खान पुग्ने मध्यम वर्गका किसान कति अनि घरको अन्‍नले खान नपुगेर ज्यालादारी काम कति छन्, तथ्यांक लिएर आउने र सेल कमिटीको बैठकमा छलफल गर्ने भनेर निर्देशन दिएको थियो।

त्यसै साल राजा महेन्द्रले नारायणहिटी दरबार नेपाल सरकारलाई बेचेको भन्‍ने समाचार पनि पढेका थियौं। पत्रिकामा पनि छापिएको थियो।

जाँच सकिएपछि गइयो गाउँतिर। सदरमुकाम बजारकै तीन नम्बर वडामा थियो मेरो घर। काठमाडौंबाट आएको विद्यार्थीको सान! धन्‍न असल थिए जिल्लाका इन्स्पेक्टर। मालको कर्मचारी भए पनि घुस नखाने भनेर सबैले पिताजीलाई चिनेको हुनाले पनि होला, इन्स्पेक्टरले मलाई माया गरेरै भने - पढ्ने उमेरमा कस्तो नकाममा लागेको? पण्डित बाजेको अपमान काम हुने काम नगर। जसले घर दरबार बेचे पनि तिमीलाई के चासो! भोलि नै बाटो लागेनौ भने तिमीलाई ऊ त्यो कोठामा थुन्‍नुपर्छ।’

क्रान्ति त हावामा उडेर गयो। बेलुका पिताजीसँग कुरा गरें। उहाँले पनि जा भन्‍नुभयो। म काठमाडौं फर्किएँ असफलताको पोको बोकेर। यो राजनीति भन्‍ने कुरामा हारिँदो रहेनछ। हाम्रो गुरु हराइसकेको थियो। तर पनि म मन मिल्ने साथीको खोजीमा थिएँ।

त्यतिबेला निरञ्जन गोविन्द वैद्यको प्रगतिशील पुस्तक पसल थियो भोटाहिटीमा। चिनियाँ प्रकाशनहरू ढुक्कैले आउँथे त्यहाँ। त्यसका साथै नेपाल-चीन मैत्री संघ पनि थियो काठमाडौंमा। यहाँ पनि कम्युनिस्ट पार्टीका मानिस भेटिन सक्थे। चिनियाँ भाषा शिक्षा केन्द्र पनि थियो मैत्री संघको नेतृत्वमा।

खोज्दा नपाइने के हुन्छ र, यति तपाईंको खोजीमा इमान छ भने। बिस्तारै हामी ८ जना साथी भेला भयौं। हामीलाई पार्टी सदस्यता दिने समूह चाहिं फरक फरक थिए, तर हाम्रो स्पिरिट चाहिं एउटै थियो - मजदुर किसान एकता गरेर नेपालमा नयाँ जनवादी सरकार स्थापना गर्ने।

हामी बेला बेलामा उपत्यकाको गाउँतिर जान्थ्यौँ उनीहरुको जीवन बुझ्न। होटल मजदुरलाई हामीले संगठित नै गरेका थियौं। सबैलाई जनवादी क्रान्तिबारे बताउँथ्यौँ। जनवादको सपना निक्कै गाढा थियो हामी सबैको मस्तिष्कमा।

१ हामीले कुनै समूह बनाउन चाहेनौँ। हामीले सल्लाह गर्यौं - हामी एउटा त्यस्तो पर्चा छरौँ जस्ले क्रान्तिकारी पार्टीलाई हामी पनि छौं है भनेर जानकारी गराओस्। पर्चा लेख्यौँ। साइक्लोस्टाइल गरेर छर्‍यौं पनि। पर्चाको कुरो खुल्यो। म, गोपाल शाक्य र माधव पौडेल पर्चा लेखेको ‘अपराध’ मा दश वर्ष कैद र १० हजार जरिवानाको सजायमा पर्‍यौँ

हामी बाहेकका एक जना साथी पाँच हजार, पाँच वर्ष, अरु एघार जना साथीहरु छ महिना जेल पाँच सय रुपैयाँ जरिवाना तिरेर निस्कनुभयो। किनभने मुद्दा फैसला हुँदा हामी जेल परेको सात महिना भैसकेको थियो। त्यतिबेलाको सबैभन्दा चर्को क्रान्तिकारी कोअर्डिनेशन केन्द्रले हामीलाई भेट्टायो पनि।

माथिको बयानबाट मैले केही निष्कर्ष निकाल्न खोजेको हो। यो बयानको आफैंमा खास प्रयोजन पनि छैन। पञ्‍चायतकाल नेपाल कम्युनिस्ट पार्टीका दुई दर्जन नेता कार्यकर्ताले जीवनको बलिदान दिनुभयो। हामी त जिउँदै छौं। तर पनि यो आधा शताब्दीमा हामीले लोभलालचको पचेडामा नपर्ने पचास जना नेता पनि किन जन्माउन सकेनौँ? सम्झिँदा दिक्क लाग्छ।

हामीले भोगेको र सिकाएको पुस्ता पक्का भौतिकवादी हुनु पर्छ भन्‍ने विश्वास हो मेरो। तर पचास वर्ष बित्दा त्यो अलिकति पनि फेरिएनछ। यो पचास वर्षमा व्यक्ति भित्रको सामन्तवादलाई रौँ बराबरको चोट पनि लगाउन सकिएनछ।

ब्राह्मणवादलाई मैले सामन्तवाद भन्‍ने गरेको छु। यतिबेला सामन्तवाद भन्दा ब्राह्मणवादलाई गाली गर्ने दोब्बरै होलान्। तर गाली गर्ने तिनीहरुले ब्राह्मणवादलाई बाहुनवाद बुझेका छन्। त्यसैले बाहुन बाहेकका अन्य जातिका जमिन्दारहरू पनि ब्राह्मणवादलाई सराप्छन्। म आफैंले भोगेको जीवनको घटना हो यो।

नेपालमा बाहुन हुनु नै सामाजिक अपराध हो जस्तो गर्छन्। यथार्थ के हो भने सबै ठालुहरु ब्राह्मणवादी हुन्। वर्णश्रम व्यवस्था नै ब्राह्मणवाद हो। क्षेत्रीमा पनि ब्राह्मणवादी छन्। नेवारमा छन्, मगरमा छन्, किराँतहरूमा पनि छन्। धनी र गरिबमा जो जो बाँडिएका छन्, ती सबैमा ब्राह्मणवादी छन्। कहाँसम्म भने दलित भनिएका उत्पीडित समुदायमा पनि ब्राह्मणवाद छ।

यसलाई फू बाहुन भएको प्रष्टिकरण दिएको भन्‍ने गल्ती नगर्नु होस्। म त्यो समुदायको प्रतिनिधि हुँ, जो जातपात मान्दैन, जो भगवती- भगवानको अस्तित्व स्वीकार्दैन। त्यो समुदाय पनि ब्राह्मणवादीद्वारा निमिट्यान्‍नै पार्न खोजिएको थियो। त्यो समुदाय हो खस। नेपालको आदिवासी।

नेपालका विद्वान भनिएका मानिसहरु किन अनुसन्धान गर्दैनन्। किन पटक्कै पढ्दैनन् भन्‍ने लागिरहन्छ मलाई। अध्ययन अनुसन्धान गर्ने बानी हुन्थ्यो भने वर्णश्रम व्यवस्थामा रमाएकाहरू जनजाति हुँदैनन् भन्‍ने तिनलाई थाहा हुनुपर्ने थियो। सबै मङ्गोलहरू आदिवासी होइनन् भन्‍ने तिनले किन नजानेको।

नेपालका आदिवासी चीनको ह्वाङ्हो नदी किनाराबाट आएका किराँतहरू हुन्। ककेससबाट आएका खसहरू आदिवासी हुन्। हाम्रा पीएचडी डाक्टरहरुले त आदिवासी जनजाति नै बनाइ दिए। अंग्रेजी बुझ्ने हामी मात्रै हौं भनेर अंग्रेजी भएको आदिवासी र जनजाति बीचको ‘र’ स्वाट्टै पारिदिएछन्। यस्ता नकाम गर्नेहरु सबै ब्राह्मणवादी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.