समाज

संक्रमित कैदीबन्दी कारागारभित्रै, प्रशासन भन्छ : आइसोलेसनमा राखेका छौं

साउन २९, २०७७

    काठमाडौं : ​कारागारमा रहेका कैदीबन्दीमा कोरोना संक्रमण देखिएपनि फैलावट नियन्त्रण र रोकथाममा सरकारले गम्भीरता देखाएको छैन। संक्रमितहरूलाई कारागारभित्रै राखिएको छ। संक्रमित व्यक्तिसँगै रहेका अन्य कैदीबन्दीको कन्ट्याक्ट ट्रेसिङसम्म गरिएको छैन। 

    तर, सम्बन्धित कारागारका अधिकारीहरुले संक्रमित कैदीबन्दीलाई त्यही छुट्टै आइसोलेसन बनाएर राखिएको दावी गरेका छन्‌। यसै पनि नेपालका कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिने गरिएको छ भने अधिका‌ंश कारागारमा प्रभावकारी हुने खालको आइसोलेसन बनाउने र कैदीबन्दीबीच सामाजिक दुरी कायम गराउनसक्ने अवस्था छैन। 

    संक्रमित भेटिएपछि कारागार उच्च जोखिमयुक्त स्थान बनिसकेको छ। क्षमताभन्दा बढी कैदीबन्दी राखिएका कारण देशभरका कारागारमा कोरोना महामारीले निकै क्षति पुर्‍याउनसक्ने जोखिम बढेको हो। 

    साउन २० गते बाँके कारागारका ८ जना कैदीबन्दीमा कोरोना पुष्टि भएको थियो। यतिखेर कैदीबन्दीहरु जिल्लास्थित सिसिएमसीले निर्माण गरेको आइसोलेसनमा उपचार गराइरहेका छन्।

    अन्यत्रजस्तै बाँके कारागारमा पनि क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ। बाँकेको कारागारको कैदीबन्दी क्षमता ३०० रहेको छ। तर, हाल कारागारमा ७७२ कैदीबन्दी रहेका छन्।

    कारागारका जेलर देवेन्द्र श्रेष्ठ कैदीबन्दीलाई सुरक्षित तरिकाले राखिएको बताउँछन्‌। सामाजिक दूरी कायम तथा स्यानिटाइजर र मास्कको प्रयोग कडाइको साथ लागु गरिएको उनले बताए।

    पर्सा जिल्लाका कारागार ३२ जना कैदीबन्दी संक्रमित भएका छन्‌। संक्रमितलाई कारागारभित्रकै आइसोलेसनमा राखी उपचार भइरहेको कारागारका जेलर श्रवणकुमार पोखरेलले जानकारी दिए। कारागारमा रहेको छुट्टै ब्लक प्रयोग गरी संक्रमितलाई राखिएको उनले बताए।

    संक्रमित कैदीबन्दीलाई कारागारभित्र रहेका स्वास्थ्यकर्मीले उपचार गरिरहेका छन्‌। संक्रमितको उपचार गर्न स्वास्थ्यकर्मीले पूर्ण रुपमा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छन्। उनले भने, 'उपचार गर्ने स्वास्थ्यकर्मीदेखि कारागारभित्र रहने सबै कैदीबन्दीले स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएका छन्।'

    संक्रमण देखिएपछि कारागारमा रहेका कैदीबन्दीलाई पहिले प्रयोग गर्दै आएको शौचालय प्रयोग गर्न नदिएको तथा संक्रमित र कैदीबन्दीलाई छुट्टाछुट्टै शौचालयको प्रयोग गर्न लगाइएको पोखरेलले बताए।

    संक्रमितको उपचार कारागारभित्रैको आइसोलेसन

    कोरोना संक्रमण देखिएका कैदीबन्दीको स्वास्थ्य–सुरक्षा कायम गर्न गम्भीरताका साथ काम गरिरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक द्रोण पोखरेलले बताए।

    कोरोना देखिएका कैदीबन्दीलाई व्यवस्थित ठाउँमा राखी स्वास्थ्यकर्मीको निगरानीमा उपचार गरिरहेको उनले बताए। कारगारमा उच्च स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर कैदीलाई राखिएको उनले सुनाए।

    'संक्रमित कैदीबन्दीलाई आइसोलेसनमा राखिएको छ,' उनले भने, 'संक्रमितको सम्पर्कमा आएका सबैको कन्टयाक ट्रेसिङ गरिएको छ, महामारीको समयमा कारागारभित्र रहेका कैदीबन्दीलाई समूहमा अनावश्यक छलफल नगर्न पनि भनिएको छ।' कारागारको सीमित भौतिक संरचनाका कारण सामाजिक दूरी कायम गराउन नसकिरहेको उनले जानकारी दिए।

    कारागार भित्र छुट्टै ब्लकमा आइसोलेसन बनाएर संक्रमितलाई राखिएको पोखरेलले जानकारी दिए। उनका अनुसार कैदीबन्दीलाई कोरोना आशंका भएमा तत्कालै पीसीआर परीक्षण गरिनेछ।

    नयाँ कैदीबन्दीलाई कारागारमा ल्याउँदा क्वारेन्टाइनमा राखिने गरेको उनले जानकारी दिए। कैदीबन्दीले मास्क र स्यानिटाइजरको प्रयोग गरिरहेका छन्।

    मुलुकभर रहेका अधिकांश कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको उनले बताए। कोरोनाको उच्च जोखिम घटाउन लागि बाल सुधार गृहबाट २२८  जनालाई बालबालिकालाई छोडिएको पोखरेलले थाहाखबरलाई बताए।

    संक्रमण बढेसँगै एक वर्ष र त्यो भन्दा कम सजाय पाएकालाई छोडिएको उनले जानकारी दिए। बन्दाबन्दीको समय र अहिलेसम्म २१९ कैदीलाई छोडिएको छ। गणतन्त्र दिवसमा २३३ जनाको कैद मिनाहा भएको थियो।

    उनले भने, 'असार मसान्तसम्मको तथ्यांक अनुसार हाल मुलुकभरको कारागारमा २३ हजार ८०२ कैदीबन्दी छन्। यो महिनाको साउन मसान्तसम्ममा सबै कारागारका कैदीबन्दीको संख्या निकालिन्छ।'

    संक्रमण फैलन नदिन सम्बन्धित विभागलाई निर्देशन

    कारागारमा रहेका कैदीबन्दीमा संक्रमण देखिएपछि उनीहरूको सुरक्षा र पीसीआर परीक्षण गराउने काम भइरहेको सिसिएमसी प्रवक्ता महेन्द्र गुरागाईंले बताए।

    कैदीबन्दीमा संक्रमण देखिएकाले सम्बन्धित प्रशासन विभागमा सम्पर्क गरी उक्त स्थानमा उच्च सुरक्षा मापदण्ड अपनाउन निर्देशन दिएको उनको भनाई छ।

    कारागारमा देखिएको कैदीबन्दीलाई बेग्लै भवनमा राखिएको र लक्षण नदेखिएकालाई आइसोलेसन बनाइ राखिएको प्रवक्ता गुरागाईंले जानकारी दिए। 'स्वास्थ्य सुरक्षाको प्रोटोकल अनुसार कैदीलाई राखिएको छ,' उनले भने।

    कैदीबन्दीमा कोरोना देखिएपनि बेग्लै भवनमा राखेमा संक्रमण नफैलने गुरागाईँको दाबी छ। संक्रमितको सम्पर्कमा नजाने हो कोरोना नसर्ने उनले बताए।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]