समाज

'नाका सिल नगरेसम्म काठमाडौंले कोरोनालाई थेग्‍न सक्दैन'

भीड जम्मा हुने नाराजुलुस र अनशन बन्द गरौं

साउन २६, २०७७

    काठमाडौं : काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) विद्यासुन्दर शाक्यले उपत्यकाका सबै नाकालाई सिल नगरेसम्म उपत्यका भित्र संक्रमण नियन्त्रणमा नआउने बताएका छन्। 

    उपत्यकामा समुदायस्तरमा संक्रमण अझै पनि कम देखिएको र यसलाई नियन्त्रण गर्न सबै नाकामा शील गर्नुपर्ने मेयर शाक्यले बताएका हुन्। न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै शाक्यले उपत्यकामा समुदायमा भन्दा बाहिरी जिल्लाबाट आएका व्यक्तिमा संक्रमण देखिएकाले त्यसलाई नियन्त्रण गर्न नाकामा सिल गर्नुपर्ने बताएका हुन्। 

    उनले अहिले नै सिल नगर्ने हो भने संक्रमण नियन्त्रण भन्दा बाहिर जान सक्ने बताए। ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ। यहाँ घना बस्ती छ। एउटै घरमा धेरै व्यक्ति बस्छन्। घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरै छन्। एउटै कोठामा धेरै व्यक्ति बसेका छन्। यहाँ बिजनेस कम्प्लेक्स धेरै छन्। बजार धेरै छ। यहाँ बजारमा आवतजावत गर्दा एक व्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ', उनले भने, त्यसकारण त्यो बेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं। उपत्यकामा कडा गरौं। उपत्यका भित्रका ४० लाख व्यक्तिमा खुकुलो गरौं। तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदा काठमाडौंमा शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ।’ 

    उनले सरकाले लकडाउन खोलेपनि लामो दुरीका सवारीसाधन चलाउन नदिएकाले यसलाई एक किसिमको लकडाउन नै मानेर आवतजावत बन्द गर्नुपर्ने बताएका छन्। 

    एक जिल्लाबाट अर्को जिल्लामा जान निषेध गर्नु भनेको संक्रमण फैलन नदिनु भएकाले त्यसमा ध्यान दिन आग्रह गरे। उपत्यकामा अहिले पनि समुदायस्तरमा धेरै संक्रमण नदेखिएकाले यसलाई अहिले नै नियन्त्रण गर्नुपर्नेमा शाक्यले जोड दिए। 

    ‘लकडाउन खोलेको छ। तर सरकारले अहिले पनि लामो दुरीका सवारीसाधन चलाउन सहमति दिएको छैन। नदिनु भनेको अहिले पनि लकडाउन नै हो। लकडाउनको स्वरुप फेरिएको हो। एउटा जिल्लाबाट अर्को जिल्लामा निषेध गरिएको छ। त्यसकारण अहिले काठमाडौंमा जतिपनि भेटिएका छन्', उनले भने, 'यहाँ समुदायस्तरमा धेरै पुगेको छैन। केही स्थानीय व्यक्तिमा भेटियो तर अहिले पनि विभिन्‍न पेशा व्यवसायका लागि काठमाडौं बाहिरबाट आएकोमा देखिएको छ। त्यसकारण हामीले नियन्त्रण गर्नुपर्छ। यसलाई वास्ता नगर्ने, हेलचेक्रयाइँ गर्ने हो भने रोक्न गाह्रो हुन्छ।’

    कुनै वडाले मलाई भनेको छ काठमाडौं बन्द गर भन्‍ने त्यो समाधान होइन। कुनैले ललितपुर बन्द भन्ने त्यो समाधान होइन', शाक्यले थपे, 'त्यो तत्कालका लागि कन्ट्याक्ट ट्रेसिङ सजिलो होस भन्‍ने मात्रै हो। त्यसकारण बन्द गर्ने हो भने नाका नै बन्द गर्नुपर्छ। अनी विभिन्‍न जिल्लाबाट आउने व्यक्तिलाई बन्द गर्नुपर्छ। अब आउने घुलमिल गर्दै जाने हो भने परीक्षण गर्नै सकिँदैन।

    मेयर शाक्यले महानगरपालिकाले भनेको निर्णय नागरिकले नमानेर लुकिछिपी आउने प्रवृत्तिले संक्रमणको अहिलेको स्थिति देखा परेको बताए। ‘हामीले भनेको निर्णय मानिदिएको भए काठमाडौं उपत्यकामा कुनै पनि संक्रमण देखिने थिएन', उनले भने, 'हाम्रो कुरा सरकारले मानिदियो हामीले सरकारसँग अनुरोध गरेका थियौं। नाकामा कडाई गर्न भन्यौं गृह मन्त्रालयले त्यही अनुसार परिपत्र जारी गरेको छ। तर यहाँ लुकिछिपी आउने प्रवृत्ति रह्यो।’ 

    कोरोना रोकथाम तथा नियन्त्रणका लागि विभिन्न मठमन्दिर, बिहार, धर्मशालाका गतिविधिहरु बन्द गराइएको तर सरकारलाई दबाब दिने नाउँमा हुने जुलुस र नाराबाजीका कारण जोखिम बढेको बताए। 

    उनले सरकारको समर्थन र विरोध गर्ने गतिविधि नगर्न समेत आग्रह गरे।  ‘कोरोनाको जोखिम भएसम्म मठमन्दिरहरू बन्द गरेका छौं। धर्मशालाहरू बन्द गरेका छौं। विहारहरू बन्द गरेका छौं। मन्दिरहरूमा अहिले हामीले भेटघाट गर्न दिएका छैनौं', शाक्यले भने 'त्यो सँगै विभिन्‍न ठाउँमा हुने गतिविधि पनि रोक्नुपर्छ। यहाँको नारा जुलुस गर्ने पनि रोक्नुपर्छ। यहाँ काठमाडौंमा अनसन बस्ने अरु विभिन्न गतिविधि गर्ने सरकारको समर्थनमा होस वा सरकारको विरोधमा होस त्यो सबै गतिविधि रोक्नुपर्छ।’ 

    शाक्यले सरकाले पिसिआर परीक्षण गर्ने भन्दा पनि संक्रमण नै फैलन नपाउने गरी काम गर्नुपर्नेमा जोड दिए। पीसीआर परीक्षण कुनै औषधि नभएकाले यसलाई रक्षात्मक रुपमा लिनुपर्ने तर संक्रमणको रोकथामका लागि प्रतीकात्मक कदम चाल्नुपर्ने बताए। 

    उनले पिसिआर बढाउने भन्दा संक्रमण फैलन नदिन काम गर्नुपर्ने बताए। ‘मेरो भनाई के हो भने पीसीआर औषधि होइन। पीसीआर भनेको परीक्षण मात्रै हो। परीक्षणले आजको स्थिति मात्रै जनाउँछ त्यसले औषधिको काम गर्दैन', उनले भने, 'एकपटक पिसिआर परीक्षण गरेपछि फेरि समुदायमा जाँदा संक्रमण फैलिँदैन भन्‍न सकिँदैन। मैले आज पनि डाटा लिएको छु, थानकोट नाकामा १० हजारको पिसिआर गराएको छ, कति त पिसिआर नगरी छिरेका छन्। १० हजार मान्छेको पिसिआर गराउँदा त्यसको खर्च कति होला?'

    उनले कोरोना लागेर उपचारभन्दा लाग्नै नदिने रणनीति बनाउनुपर्ने बताए। 'हामीले डिफेन्सिभ होइन अफेन्सिभ ढंगले जानुपर्छ। हामीले रोग लागेपछि उपचार गर्नुपर्छ भन्दा पनि रोग नै लाग्न नदिनको लागि अगाडि बढ्नुपर्छ', उनले थपे, 'अनि पिसिआर बढाऔं, हुलमुल नगरौं, स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ भन्‍ने अनि त्यहाँ सबै क्याटवाक गराएर फेसन शो गराएर पत्रकारलाई भेला गराउँदा त्यहाँ रोग फैलने सम्भावना हुँदैन।’

    सरकारले काम नै गर्न सकेन भन्‍ने आरोप लगाउने भन्दा पनि सरकारी मापदण्ड र नियमहरूलाई पालन गर्न आग्रह गरे। मापदण्ड र नियमलाई पालना नगरे आगामी दिनमा भयावह स्थिति आउन सक्ने र स्थिति नियन्त्रण बाहिर जानसक्ने शाक्यले बताए। 

    ‘उपत्यकामा संक्रमण फैलियो भने रोक्न धेरै गाह्रो हुन सक्छ। यहाँ घना बस्ती छ। एउटै घरमा धेरै व्यक्ति बस्छन्। घरधनी एकजना छ भने त्यही घरमा बहालमा बस्नेहरु धेरै छन्। एउटै कोठामा धेरै व्यक्ति बसेका छन्। यहाँ बिजनेस कम्प्लेक्स धेरै छन्। बजार धेरै छ। यहाँ बजारमा आवतजावत गर्दा एक व्यक्ति र अर्को व्यक्ति ठोकिने सम्भावना धेरै छ', उनले भने, त्यसकारण त्यो बेला नै हामीले भनेका थियौं उपत्यका सिल गरौं। उपत्यकामा कडा गरौं। उपत्यका भित्रका ४० लाख व्यक्तिमा खुकुलो गरौं। तर केही व्यक्तिलाई काठमाडौं भित्र छिराउँदा काठमाडौंमा शान्त पोखरीमा ढुंगा हानेजस्तो हुन्छ।’ 

    ‘हामी सबै सचेत हुनुपर्छ। सरकारलाई गरेन भनेर गालि गर्नेमात्र होइन सरकारले गरेका राम्रा कुराहरु पालना गर्ने दायित्व सबैको हो। जिम्मेवारी सबैको छ। सरकारको आफ्नै ठाउँको जिम्मेवारी छ। हामी स्थानीय सरकारका प्रमुख लगायत वडा अध्यक्षहरूको आफ्नै जिम्मेवारी छ', शाक्यले अगाडि भने, 'सम्पूर्ण महानगरवासी र देशभरका नागरिकको आफ्नै जिम्मेवारी छ। जिम्मेवारी आफुले पालना नगर्ने अरुलाई मात्रै दोष लगाएर बस्ने हो भने यसको समाधान हुँदैन भोली यति भयावह फैलिन्छ की त्यो नियन्त्रण भन्दा बाहिर रहन सक्छ।’ 

    नाकामा लुकेर आउनेलाई सहयोग गर्ने सबैलाई कारवाही गर्नुपर्ने उनले बताए। शाक्यले मानिसहरुलाई सहजै आउन दिने र क्‍वारेन्टाइनमा राख्‍न सम्भव नभएको बताए। ‘नाकामा आएर छोड्ने होइन। नाकासम्म ल्याइ पुर्‍याउने लुकिछिपि आउने र लुकिछिपि ल्याउन सहयोग गर्नेलाई कारबाही गर्नुपर्छ भन्ने हाम्रो मान्यता हो। होइन भने त्यहाँ ल्याएर छोडिदिने अनी यहाँ ल्याएर क्वारेन्टाइनमा राख्नुपर्‍यो भन्यो भने कति मान्छेलाई राख्‍ने?,’ उनले सोधे। 

    संक्रमण देखिएका ठाउँलाई मात्रै सिल गर्ने कुरा पनि संक्रमण रोकथामको उपयुक्त उपाय नभएको शाक्यको भनाई छ। कन्ट्याक्ट ट्रेसिङका लागि सहज बनाउन मात्र सिल गर्ने भएकाले यो क्षणिक हुने उनले बताए। 

    संक्रमणलाई नियन्त्रणमा लिन नाकामा नै सिल गरेर आवतजावत बन्द गर्नुको विकल्प नरहेको उनको जोड थियो। 'हाम्रो भनाई के हो भने सिल गर्नु क्षणिक मात्रै हो। कन्ट्याक ट्रेसिङको लागि मात्रै हो। वडा वडाले गरेर त्यो पनि हुन सक्दैन। कुनै वडाले मलाई भनेको छ काठमाडौं बन्द गर भन्‍ने त्यो समाधान होइन। कुनैले ललितपुर बन्द भन्ने त्यो समाधान होइन', शाक्यले थपे, 'त्यो तत्कालका लागि कन्ट्याक्ट ट्रेसिङ सजिलो होस भन्‍ने मात्रै हो। त्यसकारण बन्द गर्ने हो भने नाका नै बन्द गर्नुपर्छ। अनी विभिन्‍न जिल्लाबाट आउने व्यक्तिलाई बन्द गर्नुपर्छ। अब आउने घुलमिल गर्दै जाने हो भने परीक्षण गर्नै सकिँदैन।’ 

    काठमाडौं उपत्यकाका जनप्रतिनिधिले गरेका निर्णयहरु जिल्ला प्रशासन, प्रदेश सरकार, संघीय सरकार सबैले मानेमा संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिने शाक्यले बताए। 

    'काठमाडौं बचाउनका लागि मेयर अथवा काठमाडौंका जनप्रतिनिधिले गरेको निर्णय भनेर बुझि दिनुपर्छ। राम्रा निर्णयहरु कार्यान्वयन गर्न गृह प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ', उनले थपे, 'जिल्ला प्रशासनले पनि हामीले गरेका निर्णयहरु कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ। त्यसैगरी अन्य संघीय मामिला मन्त्रालय जोसँग सबन्धित छ, श्रमसँग सम्बन्धित होला, कहिले खाद्यान्नसँग सम्बन्धित होला, कहिले स्वास्थ्यसँग सम्बन्धित होला सम्बन्धित मन्त्रालयले कार्यान्वयन गर्न सहयोग गर्नुपर्छ।’ 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]