विचार

सन्तुलन बिग्रेपछि निम्तिने असन्तोष र अराजकता

साउन २०, २०७७

    जीवनमा समता या सन्तुलन भयो भने मात्र मानिसले गर्ने कर्महरू पनि सन्तुलित हुन्छन्। सन्तुलित र स्वाभाविक  कर्म भए नतिजा पनि सोही अनुरुप निस्कन्छ। मानिसको स्वभाव विश्लेषण गर्दा नतिजा सही खोज्ने, तर कर्म र चिन्तन असन्तुलित र अराजक भएको पनि देखिन्छ।

    इमान्दार, समझदार, कर्तव्यपरायण र संवेदनशीलजस्ता गुणहरूलाई प्रयोजनमा ल्याउन सक्यो भने व्यक्तिको जीवनशैली सन्तुलनमा चल्छ। आज विश्वभर कोरोना महामारीको अवस्था कायम रहिरहँदा मानिसहरू थप सचेत र संवेदनशील रहनुपर्ने हो, तर अनेक किसिमका राजनीतिक चलखेल र होडबाजी कायमै छन्।

    कहिले बालुवाटार त कहिले शीतलनिवास, कसले कसलाई रिझाउने, कसले कोबाट के फाइदा लिने वा कसलाई छिर्के हानेर लडाउने-पछार्ने? यस्तैमा समय लगाइरहेका छन्। देशको सीमाविवाद र समाधानले अन्तिम निर्णय नपाउनु त छँदै छ, एसिड आक्रमण गर्ने, झुपडी जलाउने, घरभित्र थुनिएर पनि जनताले कर तिर्नैपर्ने, अत्याचार सहनैपर्ने अवस्था छ। व्यवस्थापन र तयारीमा जति बजेट सकिएपनि परिणाम उस्तै निस्किरहेको छ।

    कोरोना उपचार र व्यवस्थापनमा छुट्याइएको बजेट मिलेमतोमा भ्रष्टाचार भएको र आवाज उठाउनेलाई थुनामा राखिएको समाचारले सञ्‍चारमाध्यम भरिएका छन्। मानौं कोरोनाको कहर र भइपरीआउने समस्याको तयारीजस्ता समाचार त यीभन्दा कम प्राथमिकता परेका छन्। यी भन्दा अत्यावश्यक कार्य र विषय अरू छैनन्‌ र सकारात्मक समाचार हाम्रा सञ्‍चारमाध्यममा आउनै हुँदैन जस्तो अनुभूति नागरिकले गरिरहेका छन्‌।

    रूपान्तरण र परिवर्तनका काममा भन्दा व्यक्तिगत तथा पार्टीगत लाभका लागि समय खर्चनु भनेको नागरिकहरूप्रति संवेदनशील बन्न नसक्नु हो। नेतृत्व तहका व्यक्तिहरूले महामारीका कारण श्रृजित यस्तो जटिल अवस्थामा पनि आफ्नो संवेदनशीलता के मा खर्च गरिरहेछन्? सबैले जिज्ञासा राखिरहेका छन्‌ र उचित जवाफ नपाउँदा निराश बनिरहेका छन्‌। 

    नेतृत्व वा राज्यतहमा असन्तुलित व्यवस्थापन र स्वार्थी प्रवृत्ति हाबी भएपछि अराजकता सधैँ दोहोरिइरह्नछ। आखिर के गरे यी सबै विषय सन्तुलन आउँछ?

    संवेदनशील बनौं

    संवेदना अन्तस्करणबाट निस्किने करूणाभाव हो। जसले वर्तमान परिस्थितिको प्रतिकूलताप्रति ढाडस दिने र केही परिवर्तन ल्याउने प्रयास गर्न मद्दत गर्दछ। अन्तस्करण पवित्र हुन आफ्ना बाहिरी कर्म पनि शुद्ध र संयमित हुनुपर्दछ।

    फोहोर कुवाबाट भरेर घैंटोभित्र राख्दैमा पानी शुद्ध हुँदैन। नेतृत्व सम्हाल्नेकै मन, वचन र कर्मको शुद्धता र पवित्रता हराउँदै गएको भान हुन्छ। हुन त यसको लागि आफ्नो पूर्वार्द्ध र संस्कारले पनि काम गर्दछ, तैपनि व्यक्तिले चाह्यो भने आफ्नो संस्कार आफैं बनाउन पनि सक्छ। समाज र राष्ट्रमा रूपान्तरण ल्याउँछु भन्नेले आफू चाहिं रूपान्तरित हुनुपर्दैन?

    आफ्नो ज्ञान र विवेकको प्रयोग चाहिँ कसको लागि कहिले गर्ने हो? आफ्नो भोग-भाग र परमार्थको ख्याल गर्नुपर्दैन? जीवनको दूरी त आर्यघाटसम्म न हो ! यात्रा जति घुमाउरो र कर्म जति नै बठ्याइँपूर्वक गरेपनि अन्तिम अवस्थामा जाने त स्वास पनि छोडेर रित्तै नै हो।

    यो संवेदना जागृत नहुँदासम्म व्यक्ति आफू सजग भएर बाँच्न सक्दैन।  मैले अरूका लागि स्मरणयोग्य योगदान गर्न सक्छु भन्ने हेक्का पनि राख्दैन। जसको परिणाम र लक्षण हामीले इतिहासदेखि वर्तमानसम्म देख्दै र भोग्दै आएका छौं।

    आत्मज्योति देखौँ

    एउटा व्यक्ति जागृत भएन भने घरबाट कहाँ जान हिँडेको र गन्तव्य कहाँ हो थाहा पाउँदैन। हरेक कर्मप्रति जाग्नु सन्तुलनको स्थिति हो। संसार र परमार्थको ख्याल सन्तुलित जीवनलाई प्रेरित गर्ने भावनात्मक अस्त्र हो। जीवनका बहु-आयामलाई सन्तुलनका साथ लैजानु अन्तर-जागरण हो।

    भगवान बुद्धले बताउनु भएको थियो, 'सन्तुलनमा बाँच्नु जीवन हो भने असन्तुलन मृत्यु हो।' आफ्नो दृष्टिलाई सही राख्न, कर्मलाई सकारात्मकतातिर अगाडि बढाउन  र आफ्ना जिम्मेवारीहरू संकल्पका साथ पूरा गर्न नसक्नु नै असन्तुलनको स्थिति हो।

    जीवनशैली स्वस्थ र सकारात्मक राख्नु, सम्बन्धलाई सुमधुर राख्नु, कर्मको परिणाम असल र सत्य आउने गरी स्पष्ट भएर अगाडि बढ्नु, कार्यशैलीमा रूपान्तरण ल्याउनु, आचरणमा सुधार ल्याउनु, सत्यताको उजागर गर्नु, आवश्यक निर्णय क्षमता राख्नु र कमजोरीबाट पाठ सिक्नु सन्तुलित जीवन बाँच्नेका गुणवत्ता हुन्।

    सोचौं त : हामीलाई नेतृत्व गरिरहेका मध्ये कति प्रतिशतमा सन्तुलनको यो गुण कायम होला? प्रत्येक व्यक्तिलाई यो सन्तुलनको सूत्र आवश्यक छ, तर जसले राष्ट्रको ढुकुटी हातमा लिएर, जनमतको सहाराले आफ्नो व्यक्तित्वको परिचय दिइरहेछ, उसले राष्ट्र र नागरिकको लागि अरू बढी संवेदनशील भएर सोच्नुपर्दैन?

    समता, समानता, प्रजातन्त्र, लोकतन्त्र केवल भाषण र कागजमा सीमित गराएर बोली एकातिर र कर्म अर्कोतिर पार्दा कति असन्तुलन होला? चित्रको माछा खान नमिलेजस्तै समृद्धिका चित्र देखाएर नागरिकलाई आफ्नो कमजोरी लुकाउन खोज्ने प्रवृत्ति कतिञ्जेल कायम राख्ने?

    मष्तिष्कले जोड-घटाउ खोजेपनि स्वयंको व्यक्तिगत आत्मानुशासन, आत्मजागरण र आत्मसम्मान पनि त खोज्छ नि हृदयले!

    अहंकार मेटौं

    आफ्नो जिम्मेवारी पूरा हुन नसक्दा आफ्नो स्व-मूल्यांकन नगरी दोष अरूलाई दिनु अहंकार हो। कुनैपनि जिम्मेवारी पूरा गर्ने हेतुले कर्म नगर्नु, तर परिणाम चाहेअनुकुल भएन भने दोष जति अरूलाई थोपर्ने प्रचलनले गर्दा धेरै कुराहरू असन्तुलित भइरहेका हुन्छन्।

    मानिस स्वभावैले आफ्ना भौतिक आवश्यकता पूरा गर्न लालायित हुन्छ। त्यसपछि उसलाई भोगको आवश्यकता महसुस हुन्छ, सुरक्षा चाहन्छ। त्यसबाट माथि उठेर प्रेम चाहन्छ, मित्र बनाउन चाहन्छ अनि सुखसयल/ यशआराम पनि चाहन्छ। र पनि, अन्त्यमा स्व-यथार्थ बोध खोज्दछ।

    आफैँले यथार्थ बोध गर्न नसकेर 'म नै सही छु, मैले गरेको सबै ठीक छ, मैले नै सबै सुख, सुविधा पाउनुपर्छ,  मेरो निर्णय अन्तिम हुनुपर्छ' जस्ता अभिव्यक्ति र अहंकार नेतृत्व वर्गमा देखिने हुँदा सोचेअनुरूप राष्ट्रले समृद्धि हासिल गर्न सकेको छैन।

    अरूबाट आलोचना सुन्न नसक्नु र आफ्नो कमजोरीको महसुस गर्न नसक्नु अहंकार हो। आफूले आफैंलाई चिन्न नसक्नुको परिणाम हो। आत्मज्ञानी, लगनशील, कर्तव्यपरायण र इमान्दार व्यक्तिलाई अरूको आलोचनाले दुष्प्रभाव पार्न सक्दैन। उल्टै आत्मचक्षु खोलिदिन्छ र ढलपल नगरी अगाडि बढ्छ। अहंकारी व्यक्तिलाई अरूको सोच, काम गर्ने शैली र बेइमानीले पनि तुरुन्तै आकर्षित गर्छ।

    अरूलाई न्यायसंगत हुनै दिँदैन। आफ्नो स्वभाव र कर्तव्य नै बिर्सेर घमन्डले बाँचिरहेको हुन्छ। यस्तो सोचाई लिएर कर्म गर्नेहरूबाट नागरिक र राष्ट्रले के अपेक्षा गर्ने?

    उत्प्रेरणालाई भेटौँ

    जीवन सन्तुलित हुन र आफ्ना सोच र कर्महरूलाई सकेसम्म सकारात्मक बनाउन आन्तरिक उत्प्रेरणा अति नै जरूरी हुन्छ। सामान्यतया: व्यक्ति भौतिक सुख-सयल, सुविधा, प्रशंसा, पद, उपहार, पदक, सम्मान आदि मै सन्तुष्ट हुने गरेको पाइन्छ र जीवनभर उसको मेहनत यहि बाहिरी सम्पन्नताको लागि बाहिरी उत्प्रेरणा नै अन्तिम हो भन्ने ठानेको हुन्छ। आज नेतृत्व तहका व्यक्ति र सरोकारवालाहरूमा पनि यही अभ्यास रहँदै आएको देखिन्छ। तर, कालान्तरमा यसले मात्र पनि पूर्णता दिँदैन।

    बाहिर सबै पूर्ण हुँदाहुँदै पनि भित्रबाट अतृप्ति, असन्तोष र अपुर्णता महसुस हुन थालेको बताउनेहरू धेरै हुन्छन्। पूर्णताको लागि स्वयम्‌मा आन्तरिक उत्प्रेरणा जगाउनु जरूरी हुन्छ। आन्तरिक उत्प्रेरणा केवल शान्त मन, तर्क शुन्यता र अकारण प्रेमबाट प्राप्त हुन्छ। आन्तरिक उत्प्रेरणाको लागि ध्यान, मौन र समझको अभ्यास जरूरी छ।

    आफैंमा जागृत हुनु, कथा मुक्त हुनु, आफ्नो दृष्टि सही बनाउनु, प्रतिकूलतालाई स्वीकार्नु र अनुकूलनका लागि आफैंबाट पुरुषार्थ गर्नु आन्तरिक उत्प्रेरणाका परिणाम हुन्।

    आत्मसमीक्षाको अभाव मेटौँ

    आन्तरिक रूपमा जागृत व्यक्तिले परिस्थितिलाई नै बदल्न नसकेपनि आफ्नो मनस्थितिलाई बदल्न सकिन्छ र मनस्थिति ठीक भयो भने आफूले चाहेका काम पूरा गर्न सकिन्छ भन्ने स्व-बोध गर्छ र कर्म पनि त्यही अनुरूप गर्दछ।

    अन्तस्करणबाट जागृत व्यक्ति विस्मृतिबाट स्मृति, अरूको आलोचनाबाट पनि स्वीकार्य बन्दै आफ्नै आत्मसमीक्षाका साथ कार्य गर्न उत्प्रेरित हुन्छ। आज हामीलाई यस्तै आत्मसमीक्षाका साथ काम गर्ने नेतृत्व आवश्यक होइन र?

    प्राथमिकतामा के पर्छ भनेर सन्तुलनसहित, सबैतिर मिलाएर काम गर्ने नेतृत्वको आवश्यकता महसुस भएको होइन र? जनभावना बुझ्ने अनि सबैको सहयोग लिने तर स्व-विवेकले सत्यपूर्ण काम गर्ने व्यक्तिको खाँचो महसुस भइरहेको होइन र?

    जसलाई मेहनत र मूल्यबिना नै केही मिलिरहेको छ र उसमा अहंकारको रूपमा 'त्यो त मैले नै पाउनुपर्ने थियो' भन्ने भावना पलाएको हुन्छ भने त्यस्तो व्यक्तिले अरूप्रति बफादार हुने सोचसम्म राख्दैन।

    एक थोपा कागतीको रसले एक बाल्टिन दूध फटाए जस्तै यस्ता विकृत केहीमात्र तत्व र व्यक्तिले पनि समाजमा अराजकता फैलाउन सहयोग गरिरहेका हुन्छन्।

    यस्ता व्यक्तिको मनोभावना नै नकारात्मक हुन्छ र केवल स्वार्थमा सीमित हुन्छन्, परमार्थ सोचेर कर्म त चेतना जागृत हुनुपर्दछ।

डा. नम्रता पाण्डे

लेखक, ध्यान प्रशिक्षक एवं स्वतन्त्र मनो-परामर्शदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]