थाहा संवाद

‘कोरोनाको जोखिम बढ्दैछ, अब आफैँ सचेत हुनुपर्छ’

अहिलेसम्म समुदायमा संक्रमण फैलिएको छैन

साउन १७, २०७७

    काठमाडौं : सरकारले चार महिना लामो लकडाउन खोलेपछि दिनप्रतिदिन कोरोना संक्रमित बढ्दै गएका छन्। सरकारले नागरिकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जीवनयापन सहज बनाउँदै लैजान आग्रह गरिरहेको छ। उपत्यका र बाहिरका जिल्लामा संक्रमितको संख्या बढ्दै जाँदा कोरोना समुदायमै फैलिएको आशंका गरिएको छ। अर्कोतर्फ सरकारले परीक्षण दायरा पनि बढाउँदै लगेको छ। देशभर करिब २८ वटा पीसीआर ल्याबमा कोरोनाको नमुना जाँच भइरहेको छ। २४ घन्टायता सरकारले १० हजार भन्दा धेरै पीसीआर परीक्षण गरेको छ। यो एकै दिन गरिएको हालसम्मकै धेरै परीक्षण हो।

    तर, देशका तराई क्षेत्रसहित काठमाडौं उपत्यकामा पनि कोरोना पुन: फैलिन थालेको छ। मोरङ, पर्सा, धनुषा र बाँकेसहितका जिल्लामा कोरोना समुदायसम्म पुगेको अनुमान गरिएको छ। ती स्थानमा अहिले लकडाउन र निषेधाज्ञामा कडाई गरिँदैछ। गम्भीर लक्षणसहित भेटिएका बिरामीलाई अस्पतालका आइसीयु र भेन्टिलेटरसम्म पुर्‍याइएको छ। यस्तो अवस्थामा सरकारले पुन: लकडाउन कार्यान्वयन रणनीति बनाएका कुरा आइरहेका छन्। महामारीको लहर व्यापक फैलने जोखिम रहेका बेला यसलाई रोकथाम गर्न र नागरिकको ज्यान बचाउन सरकारको तयारी कस्तो छ त? के रणनीति बनाइरहेको छ? यसै सेरोफेरोमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह-प्रवक्ता डा. समिर कुमार अधिकारीसँग थाहाखबरकर्मी अतिन आचार्यले गरेको कुराकानी :

    लकडाउन खुलेपछि पर्साको वीरगन्जसहित केही स्थानमा कोरोना संक्रमण नियन्त्रणभन्दा बाहिर जाने देखिँदैछ, रोकथाम र नियन्त्रणतर्फ सरकारको के-कस्तो तयारी छ?

    वीरगञ्जमा देखिएको संक्रमण नियन्त्रण बाहिर गएजस्तो देखिँदैन। जोखिमपूर्ण छ, तर नियन्त्रणभन्दा बाहिर गइसकेको भनिहाल्नुपर्ने अवस्था छैन। सरकारका तर्फबाट नागरिकलाई गरिएको आग्रह कार्यान्वयन भए यसलाई सहजै नियन्त्रण गर्न सकिन्छ।

    पर्साको वीरगञ्जलगायत अन्य स्थानमा भारत र अन्य मुलुकबाट धैरै मानिस आएका छन्‌। छिमेकी मुलुकमा समुदायस्तरमा बढी संक्रमित छन्। सीमा बन्द गरेपनि आउने क्रम रोकिएको छैन।

    स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन भनिएको छ। संक्रमण हुनबाट सुरक्षित रहनको लागि मास्क, स्यानिटाइजर तथा सामाजिक दूरी काय गरिनुपर्छ। सरकारको तर्फबाट काम भइरहेको छ, अब नागरिक नै बढी जिम्मेवार हुनुपर्छ।

    संकट बढिरहेकै छ, थप स्वास्थ्य टोलीको माग भइरहेको छ, महामारी फैलिरहेका बेला नागरिक मात्रै सचेत बन्ने हो यार सरकारले पनि नियन्त्रणका लागि थप कदम चाल्नुपर्ने हो? 

    हामी वीरगञ्जसँग सम्पर्कमा छौँ। जहाँ संक्रमित बढी छन् : त्यहाँको अवस्थालाई गम्भीरतापूर्वक नै लिनुपर्छ। पर्साको वीरगञ्जलगायत अन्य स्थानमा भारत र अन्य मुलुकबाट धैरै मानिस आएका छन्‌। छिमेकी मुलुकमा समुदायस्तरमा बढी संक्रमित छन्। सीमा बन्द गरेपनि आउने क्रम रोकिएको छैन।

    उहाँहरुको प्रत्यक्ष सम्बन्ध नेपालमा रहेकोले पनि बढी संक्रमण देखिएको हो। पछिल्लो समय वीरगञ्जमा संक्रमण फैलिरहेको देखिन्छ। रोकथाम र नियन्त्रणका लागि केन्द्रबाट स्वास्थ्य सामग्री पठाएका छौँ। स्वास्थ्यकर्मीको टोली पनि पठाउने तयारी छ। निजी अस्पताललाई पनि प्रयोगमा ल्याउन सरकारले तयारी गरिरहेको छ।

    कोरोनाको लक्षणसहितका संक्रमित देखिन थालेका छन्, संक्रमित संख्या बढ्दै गएकाले कतिपय बिरामीलाई आइसीयु र भेन्टिलेटरमा राख्‍न थालिएको छ, आइसीयु र भेन्टिलेटरको अवस्था कस्तो छ?

    सुरुको समयमा भन्दा अहिले आइसीयु र भेन्टिलेटरको संख्या बढाइएको छ। यो धेरै महंगो पर्ने भएकोले तत्काल व्यवस्थापन गर्न सकिने अवस्था छैन। तर, सरकारले संख्या बढाउन सक्दो प्रयास गरिरहेको छ। केही थपिएको पनि छ।

    विश्‍व स्वास्थ्य संगठनले पनि वितरण गरिरहेको छ। भेन्टिलेटरको संख्या बढाउने माग र कुरा उठ्नु स्वभाविक हो। व्यवहारिक रुपमा तत्काल असम्भव छ।

    काठमाडौं उपत्यका प्रवेश गर्ने नाका-नाकामा स्वाब संकलन गरी कोरोना परीक्षण हुन थालेको छ, यो कतिको प्रभावकारी हुँदैछ?

    सरकारको तर्फबाट बारम्बार नागरिकलाई कोरोनाको जोखिम भएकाले सर्तकता अपनाउन आग्रह गरिएको छ। अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन अनुरोध गरिरहेका छौं।

    बन्दाबन्दी खोलेपनि संक्रमण जोखिम नघटेको जानकारी दिएकै छौं। पाँच दिनदेखि नाकामा स्वाब संकलन र परीक्षण गरिएको छ। ८ हजारभन्दा धेरैमा संक्रमण भए/नभएको परीक्षण गरिएको छ।

    परीक्षण गरिएकाको सम्पर्क ठेगाना राखेका हुन्छौँ। रिजल्ट पोजेटिभ आउनासाथ फोन गरेर सर्तक रहन आग्रह गर्छौं। परीक्षण गरेका मानिसलाई जहाँसुकै सम्पर्कमा नजान अनुरोध गरिन्छ। परीक्षण गरेका मानिसले स्वेच्छाले नै घरको होम क्वारेन्टाइनमा बस्ने भनेकाले पनि त्यसरी बस्न अनुमति दिएका छौं। नाकामा ठूलो भवन बनाएर राख्न पाए हुन्थ्यो।

    उपत्यका छिर्ने सबै अतिआवश्यक कामले आएको भन्छन्। त्यहाँ राख्दा पनि उनीहरुको काममा बाधा पनि पर्ला। व्यवहारिक पक्षलाई पनि हेर्नुपर्छ।

    स्वाब संकलन गरी संक्रमितलाई घरमै पठाउँदा महामारी नियन्त्रण हुनुको सट्टा समुदायस्तरमा फैलने जोखिम बढ्यो नि!

    नाकामै मानिसलाई राख्न व्यवहारिक रुपमा सम्भव भएन। स्थानीय सरकारले क्वारेन्टाइनमा राख्दा पनि सर्वसाधारणले होम क्वारेन्टाइनमा बस्न पाए हुने चाहना गरेका थिए। क्वारेन्टाइनमा बस्दा पूरा गर्ने मापदण्डमा घरमा बस्दा पूरा गर्न सक्ने आवाज तथा जनगुनासो आएको हो। त्यसैको आधारमा होम क्वारेन्टाइनमा बस्न दिएका हौं। राज्यले जनतालाई पूर्ण विश्वास गरेकोले पनि यस्तो सुविधा दिइएको हो।

    विपद्‌का बेला नागरिक पनि उत्तिकै जिम्मेवार बन्न जरुरी छ। हरेक व्यक्ति कोभिडको संक्रमित हुन्‌ भन्ने ठानी सुरक्षित रहनुपर्छ। सबैलाई शंकाको घेरामा राखी अतिआवश्यक कामबाहेक बाहिर निस्कनु हुँदैन। निस्कँदा पनि सामाजिक दूरी कायम गर्नुपर्छ।

    परीक्षण रिपोर्ट आउनुअघि नै संक्रमित सबैतर्फ घुमिसकेको हुन्छ, परीक्षणको गरेको के अर्थ भयो ?

    यस्तो बेलामा परीक्षण गर्न जाने मानिस बढी सचेत हुनुपर्छ। आफैंमा संक्रमण आशंका गरेर परीक्षण गर्न गएपछि सजगता पनि आफैंले अपनाउने हो। नागरिक आफै संवेदनशील भएर समाज र अन्य नागरिकलाई सुरक्षित राख्‍नेतर्फ व्यवहार गर्नुपर्छ।

    राज्यले १४ दिनसम्म अनिवार्य क्वारेन्टाइनमा राखेको थियो। भाइरस संक्रमण भएपनि त्यो सक्रिय हुँदैन थियो र अन्यमा सर्न पाउँदैन थियो। अब संक्रमण नफैलाउने जिम्मा नागरिककै काँधमा आएको छ। 

    संक्रमितको संख्या बढ्दै गएको छ, विभिन्‍न ठाउँमा ठूलो संख्यामा संक्रमित भेटिएका छन्‌, कोरोना समुदायमा गएको भन्न मिल्छ?

    समुदायस्तरमा गयो भन्नलाई धेरै आधार हुन्छन्। केही आधारले समुदायमा गएको भनेर शंका गर्ने ठाउँ दिन्छन्। समुदायमा गएको भन्नलाई परीक्षण गरिएको दरको जोखिम मिल्नुपर्छ। त्यो अहिलेसम्म देखिएको छैन।

    यो संक्रामक रोग हो। अन्य रोगजस्तो यसलाई शुन्य बनाउन सकिँदैन र भन्न पनि मिल्दैन। आज छ, भोलि सक्यो भनेर अवस्था पनि छैन। एक समयमा उच्च बिन्दुमा पुग्छ फेरि घट्छ। अन्य देशको तुलनामा नेपालमा निको हुनेको संख्या बढी छ। बढी जनघनत्व भएको ठाउँमा संक्रमण बढदै गएको छ।

    ज्वरो, निमोनिया वा रुघा लागेर अस्पताल जानेको संख्या बढ्यो भने समुदायमा गयो भन्न मिल्छ। त्यो अवस्था पनि आएको छैन। अब जाने भनेको समुदायमा हो।

    कोरोनाको पूर्ण संख्याभन्दा सक्रिय संक्रमितको संख्या कम छ, सरकारले यसलाई कसरी विश्लेषण गरिरहेको छ?

    यो संक्रामक रोग हो। अन्य रोगजस्तो यसलाई शुन्य बनाउन सकिँदैन र भन्न पनि मिल्दैन। आज छ, भोलि सक्यो भनेर अवस्था पनि छैन। एक समयमा उच्च बिन्दुमा पुग्छ फेरि घट्छ। अन्य देशको तुलनामा नेपालमा निको हुनेको संख्या बढी छ। बढी जनघनत्व भएको ठाउँमा संक्रमण बढदै गएको छ।

    नियन्त्रणमा गयो भनेर कहिले भन्न मिल्दैन। जोखिम बढ्दै गएको छ। क्वारेन्टाइनमा बसेका मानिस भन्दा बाहिरका मानिसमा पनि पोजिटिभ देखिनु भनेको अलिक चिन्ताको विषय बनेको छ।

    लकडाउन खुलेपछि संक्रमितको संख्या बढ्दै गएको छ, पुनः लकडाउन गर्ने तयारी हो?

    राज्य निर्माण हुन धेरै संयन्त्रको जरुरी हुन्छ। सामाजिक,आर्थिक र जनजीविकाको अन्य पाटोलाई ध्यान दिई जनस्वास्थ्य र सामाजिक पाटोलाई जीवन्त राख्न लकडाउन खुला गरिएको हो। तर, जोखिम बढ्दै गएको छ। यसमा कसैले ढुक्क भएर बस्‍ने अवस्था छैन। कोरोना नियन्त्रण भयो भनेर लकडाउन खुला गरिएको होइन। जनस्वास्थ्यको जोखिम घटेको छैन, केही दिनदेखि बढ्दै गएको छ।

    नागरिकको जीवनलाई सहजता प्रदान गर्न र काम गरी खानेलाई काम गर्न दिनलाई पनि यस्तो गरिएको हो। यसमा सरकारले हतार गरेर लकडाउन खोल्यो भन्ने विषय अर्कै छ। किनभने त्यसमा नागरिकको पनि जीवन छ। अधिकांश नेपाली काम गरी खाने छन्‌, सधैँभरी लकडाउन गर्दा अझ गाह्रो होला भनेर खोलिएको हो।

अतिन आचार्य

आचार्य थाहाखबरका सामाजिक मामिला संवाददाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]