समाज

खोइ वैकल्पिक शिक्षण ? विद्यालयसँगै स्थानीय तह पनि मौन

साउन १, २०७७

    पर्वत : कोरोना नियन्त्रणका लागि चैत ११ गतेबाट लकडाउन सुरु भयो। त्यसैको ५ दिनअघिबाट हुने भनिएको एसइई परीक्षा रोकिएको थियो। नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु हुनुपर्नेमा अहिलेसम्म पनि विद्यालय बन्द नै छन्। 

    लामो समयसम्म पनि विद्यालय खोल्ने अवस्था नरहेपछि शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्थानीय तहलाई वैकल्पिक माध्यमबाट भए पनि शिक्षणमा सहजीकरण गर्न भन्यो।सरकारले भनेको जस्तो वैकल्पिक तरिकाबाट शिक्षणमा सहजीकरण गर्न स्थानीय तह भने चुकेका छन्। 

    स्वास्थ्य सुरक्षाका सम्पूर्ण उपाय अपनाई आफ्नो सेवा क्षेत्र भित्रका विद्यार्थीको अभिलेखीकरण गर्ने तथा पाठ्यपुस्तक वितरण गर्ने, विद्यार्थीको अभिलेख तयार पार्दा रेडियो तथा एफएमको पहुँचमा भएको विद्यार्थीको समूह, टेलिभिजनको पहुँचमा रहेका विद्यार्थीको समूह, इन्टरनेट तथा अन्य सूचना सूचना प्रविधिका साधनको पहुँचमा भएका विद्यार्थीहरूको समूह, कम्प्युटर भएको तर अनलाइन कनेक्टिभिटी नभएका विद्यार्थीको समूह, सबै किसिमका प्रविधिका पहुँचबाहिर रहेका विद्यार्थीको समूहको आधारमा गर्ने भनी मन्त्रालयले तोकेको छ। 

    मन्त्रालयले भनेअनुसार वैकल्पिक माध्यमबाट शिक्षण गर्न उत्तम विकल्प इन्टरनेट भएको तर पहुँच सहज नभएका कारण समस्या भएको शिक्षकहरूले बताएका छन्। जिल्लाको फलेवास नगरपालिकास्थित मुडिकुवाको शारदा आधारभूत विद्यालयका शिक्षक इन्द्र सापकोटाले सबै विद्यार्थीसँग मोबाइल सेट नहुनु, अभिभावकसँग भएका सेट सामान्य खालका हुनु र इन्टरनेट महँगो हुनुले विद्यार्थीहरूलाई अनलाइनमार्फत कक्षा सञ्चालन गर्न नसकेको बताए। 

    ‘टोल टोलमा सानो सङ्ख्यामा विद्यार्थी जम्मा गरेर पढाउँदा पनि अभिभावकहरु नै जम्मा हुने कुरादेखि डराउनुहुन्छ। विद्यार्थीको घरमा नेटको सुविधा छैन।’ उनले भने, ‘स्थानीय तहबाट पनि शिक्षण सिकाइका लागि यसो गर्ने भन्ने कुनै निर्देशन आएको छैन। सबै कुरा अलमलमा नै छ।’ 

    जिल्लाको जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले पालिकाका केही विद्यार्थीका लागि पुस्तक वितरण गर्ने काम सकिएको भए पनि शिक्षण सिकाइका अन्य क्रियाकलाप भने नगरिएको बताए। 

    कुस्मा नगरपालिकाले ३ लाखको लगानीमा सदरमुकाममा रहेका ३ ओटा रेडियो मार्फत अङ्ग्रेजी, गणित र विज्ञान विषयको रेडियो शिक्षण कार्यक्रम सञ्चालन गरेको थियो। एसइई परीक्षाको तयारीमा रहेकालाई लक्ष्य गरी उक्त कार्यक्रम एक महिना सञ्चालन गरिएको भए पनि अन्य कक्षामा अध्ययनरत विद्यार्थीका लागि भने राष्ट्रिय स्तरमा टेलिभिजनहरूले जे जति कार्यक्रम चलाइरहेका छन् त्यति मात्रै हुन्। 

    कुस्मा नगरपालिकाले नयाँ आर्थिक वर्षका लागि प्रविधिमैत्री शिक्षणका लागि १ लाख रुपैयाँसमेत विनियोजन गरेको छ। महाशीला गाउँपालिकाले साउन ५ गतेबाट प्राथमिक तहका विद्यार्थीहरूलाई सम्बन्धित टोलका शिक्षकहरूले पढाउने र माथिल्लो कक्षाका विद्यार्थीका लागि जोर–बिजोर रोल नं. का आधारमा विद्यालयमा नै बोलाएर शिक्षण क्रियाकलाप सञ्चालन गर्ने योजना तयार पारेको प्रवक्ता जीवन विक्रम उचैले बताए। 

    ‘आधारभूत तहका विद्यार्थीलाई उनीहरूकै टोल टोलमा सानो–सानो सङ्ख्यामा जम्मा पारेर सामाजिक दूरी कायम गरेर शिक्षण गर्ने तयारी भइरहेको छ,’ उनले भने। सदरमुकाम वा सदरमुकाम नजिक इन्टरनेटको पहुँचमा रहेका विद्यालयका त्यो पनि प्रविधिमा केही दक्खल राख्ने शिक्षकहरूले अनलाइनमार्फत विद्यार्थीसँग जोडिएको भए पनि प्रविधि र नेटको पहुँच नभएका शिक्षकहरू भने चैतदेखि असारसम्म मौन रहे। 

    केही सामुदायिक र निजी विद्यालयले आफ्नै ढङ्गले विद्यार्थीलाई सम्पर्क गरेर अध्ययनमा सघाएको भए पनि स्थानीय तहले भने वैकल्पिक शिक्षणमा चासो नदिएको शिक्षकहरू बताउँछन्। शिक्षामा चासो राख्ने अभिभावकहरूले पनि स्थानीय तह आफैंमा अधिकार भएर पनि शिक्षाको अवस्थाबारे चिन्तित नरहेको बताउँछन्। ‘स्थानीय तहलाई त के गर्ने? के नगर्ने? भन्ने अधिकार छ नि। विद्यालयले पनि स्थानीय तहले के निर्देशन देला भनेर पर्खिरहेका जस्ता देखिन्छन्।’ 

    कुस्मा नगरपालिकाका अभिभावक कृष्णराज शर्माले भने, ‘स्थानीय तहलाई सडक र भवन बनाउने मात्रै चिन्ता छ। पढाइ खस्केको विषयमा चासो नै छैन। भत्केर जाने सडकको अलिकति पैसा विद्यालयमा दिए केही न केही त हुन्थ्यो होला नि?’

    जिल्लाका केही स्थानीय तहले वैकल्पिक शिक्षण सहजीकरणमा चासो दिएको भए पनि अधिकांश भने मौन छन्। विद्यालयहरूले पनि यसका लागि ठोस काम गर्न सकेका छैनन्। चैतदेखि बन्द गरिएका विद्यालयका ढोका बन्द अवस्थामै छन्। 
     


     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]