समाज

मिर्गौला प्रत्यारोपण पछि मस्तिष्कमा दाग, ७५ लाख सकियो, खर्च अभावमा उचार भएन

साउन १, २०७७

    पर्वत : पर्वतको फलेवास नगरपालिका २ थापाठाना स्थायी घर भई कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा सानो किराना पसल चलाउँदै आएका ३७ वर्षीय गणेश श्रेष्ठकी श्रीमती गीता श्रेष्ठ  निवेदन लिएर सहकारी संस्थादेखि विद्यालय चाहारिरहेकी भेटिन्छन्।

    श्रीमानको उपचारमा लागि निकालेको ऋण तिर्न नसक्दा सहकारीमा ‘बाँचे कमाएर तिरौँला हजुर, यो बेलामा नपेल्नुहोस है’ भनी अनुनय गर्छिन्।  उनका आँखा जति बेलै रसाएका देखिन्छन्।

    कारण करिब ७५ लाख रुपैयाँ सक्दा पनि श्रीमानको मिर्गौला, पिसाब थैली र मस्तिष्कमा देखिएको रोग निको भएको छैन। भएभरको सम्पत्ति उपचारमा सकिँदा अबको उपचार कसरी गर्ने भन्ने चिन्तामा उनको परिवार र आफन्त परेका छन्।

    गणेशको स्वास्थ्यमा समस्या

    १२ वर्षअघि सामान्य ग्यास्ट्रिकको समस्या देखियो, एक हप्ताकै अवधिमा आँखामा पनि समस्या देखियो। उनी तत्कालै आँखा नदेख्ने र मान्छे नै चिन्न नसक्ने भएपछि पोखरामा रहेको आँखा अस्पतालमा पुगे। तर उनका आँखामा कुनै समस्या नदेखिएपछि काठमाण्डौको चाबहिलमा रहेको हस्पिटलमा पुगेर स्वास्थ्य परीक्षण गर्दा दुवै मिर्गौला खराब भएको थाहा भयो।

    चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने र नियमित डाइलासिस गर्नुपर्ने बताए तर त्यस बेला नेपालमा प्रत्यारोपण सेवा सञ्चालनमा थिएन। उपचारको खोजीमा गणेशलाई भारतको चण्डीगढमा रहेको पीजीआई हस्पिटलमा लगियो। 

    आफ्नै आमा भीमकुमारी श्रेष्ठले छोरालाई मिर्गौला दिएर जीवन रक्षा गरिन्। करिब १ वर्ष भारतमै रहेर उपचार गरेर उनी नेपाल फर्किए। तर बाँचुन्जेलसम्म औषधि नियमित रूपमा सेवन गरेमा मात्रै उनी बाँच्ने भनी डक्टरले सिफारिस गरेका थिए।

    तर १२ वर्षपछि गणेशमा नयाँ समस्या देखियो। २०७६ सालको जेठमा अचानक टाउको दुख्न थाल्यो। परीक्षणको लागि पोखराको मणिपाल शिक्षण अस्पतालमा १ महिनासम्म सघन उपचार कक्षमा राखेर उपचार भयो। लामो समय उपचार गराउँदा पनि न त स्वास्थ्यमा सुधार आयो न त रोग नै पत्ता लाग्यो। मणिपालाले उपचार सम्भव नभएको र लामो समय बचाउन नसिकिने बताएपछि घरमा लगेर आराम गराउन सल्लाह दियो।

    छिमेकी र आफन्त सबैले अब गणेश रहँदैनन् भन्ठाने। तर आमा र श्रीमतीको मन मानेन। उनीहरूले गणेशलाई १२ वर्ष अगाडि उपचार गरेको भारत चण्डीगढकै पि।जीआई अस्पतालमै लगे, त्यो बेलामा गणेशको अवस्था अचेत थियो।

    ‘सास रहुन्जेल आस लाग्ने’ भने झै गणेशलाई बचाउन ०७६ असारमा श्रीमतीले उनलाई भारत लगिन्। जाँच गर्दा टाउकोमा गम्भीर खालको सङ्क्रमण रहेको अस्पतालले बतायो। उनको मस्तिष्कमा दागहरू देखिएकाले मस्तिष्कमा हुने एलर्जीको कारण आफैलाई पिट्ने र आसपासमा रहेकालाई पनि पिट्ने गर्न थाले, अवस्था झन् झन् नाजुक भयो। 
    चिकित्सकीय भाषामा उनको रोगको उपचारलाई ‘क्रिप्टोकोकल मेनेन्जाइटीस विथ ग्राफ्ट डिसफङसन’ भनेर अस्पतालको कागजमा लेखिएको छ।

    ‘मलाई त सबैले पागल भयो भन्ठान्थे, मैले सबैलाई पिट्थेँ रे। उपचार गराउँदा नि हात र खुट्टा बाँधेर गराएका रे। पछि शरीरको शक्ति सकिएपछि हातखुट्टा फाल्न पनि सकेको थिइन रे।’ गणेश भने, ‘यत्तिको सुधार होला जस्तो पनि देखिँदैनथ्यो। अब मन खाने कसैले २/४ पैसा सहयोग गरेमा बाँच्छु भन्ने आसा जागेको छ। मलाई मर्न मन छैन, ६ वर्षकी मेरी छोरी के गर्लीरु मलाई सबैले बचाउनुहोस्।’

    पिजिआई मा भर्ना भएर २ महिना र चिकित्सकको निगरानीमा रहनको लागि १० महिना छोरी र श्रीमतीको साथमा गणेशले भारतमा बस्नुपर्‍यो। ०७६ फागुनमा १ महिनामा पुनः अस्पताल जाने गरी नेपाल फर्किए, तर कोरोनाको महामारीका कारण नेपाल आएपछि न त सवारी चले न त उपचारको लागि पैसा नै छ। 

    चिकित्सकले बोलाएको समय पनि ३ महिना बढी भइसकेको छ। अहिले मस्तिष्कको अवस्था के छ? भन्ने जाँच हुन पाएको छैन। अहिले सामान्य बोलचाल गर्ने भए पनि उनी राम्रोसँग बोल्न सक्दैनन्, शरीर फुलेको छ।

    पिसाब थैलीमा पनि समस्या देखिएका कारण शल्यक्रिया गर्नुपर्ने भएको छ। मस्तिष्कको उपचारलाई समेत खर्च नभएका उनमा पिसाब थैलीको उपचार त त्यसपछिको कुरा हो।

    उपचारमा सके ७५ लाख

    १२ वर्ष अगाडि मिर्गौला प्रत्यारोपण गर्दा झन्डै १५ लाख सकेका गणेशले पुर्ख्यौली सम्पत्तिको रूपमा रहेको जग्गा बेचेका थिए। १२ वर्षदेखि मासिक ३० हजार रुपैयाँ बराबरको औषधि सेवन गर्दै आएका छन्। उनले यो अवधिमा ४३ लाख २० हजार बराबरको औषधि खाएका छन्। एक डोज मात्रै औषधि सेवन गर्न त्रुटि भयो भने उनमा समस्या थप बल्झिन्छ।

    अहिले फेरि समस्या देखिएर मणिपालमा रहँदा करिब ४ लाख रुपैयाँ खर्च भएको श्रीमती गीताको भनाइ छ। यस्तै भारतमा उपचार गर्न दोस्रो पटक जाँदा ऋण काढेर १७ लाख खर्च गरेका छन्। 

    सामान्य किराना पसल सञ्चालन गर्दै आएका गणेशको उपचारमा लागेको खर्च सबै ऋणमा रहेको छ। लकडाउनका कारण गर्दै आएको पसल खुल्न पाएको छैन भने, एक वर्षसम्म पसल बन्द गर्नु पर्दा करिब ५ लाख रुपैयाँ बराबरको सामान म्याद सकिएर नष्ट भयो।

    छोरालाई मिर्गौला दिएपछि एउटा मिर्गौलाको भरमा बाँचिरहेकी आमा पनि उच्च रक्तचापबाट पीडित छन्। उनलाई नै मासिक ४ हजार बराबरको औषधि नियमित रूपमा खुवाउनुपर्ने बुहारी गीता 
    आफूलाई थिचेको ऋणको बोझले झन तनावमा छिन्। 

    परिवार पाल्ने कसरी?

    गणेशको परिवारमा श्रीमती, एक ६ वर्षीया छोरी र ६८ वर्षीया आमा रहेका छन्। बिहान बेलुकाको छाक कसरी टार्ने? भन्ने पीडामा रहेको परिवारले छोरीलाई कापी किताब किन्न समेत समस्या भोगिरहेको छ।

    ‘छोरी पढाइमा ध्यान दिन्छे टाँठी थिई, मेरो उपचार गर्दा मसँगै भारत बस्दा पढाई बिग्रियो।’ गणेशले गहभरि आँसु पार्दै भने, ‘मेरो कारण श्रीमती, आमा र छोरी सबैले दुःख पाएको हरेर बसेको छु। सास रहे त निको भएपछि कमाउन सकुँला तर छोरीलाई कापी किताब जुटाउन पनि समस्या हुँदा मुटुमा कोपेजस्तो हुन्छ मन अमिलो हुन्छ।’ 

संजय रेग्मी

रेग्मी थाहा खबरका पर्वत समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]