फिचर

जनयुद्धका होल टाइमर, 'मन्त्री' आजका फुल टाइम कृषक

राजनीतिबाट विश्राम लिएर क्रान्तिको नयाँ बाटोमा

असार १५, २०७७

    काठमाडौं : तत्कालीन माओवादीले सुरु गरेको १० वर्षे जनयुद्धभर अग्रमोर्चाका कमाण्डर थिए, लोकेन्द्र विष्ट मगर। सशस्त्र युद्ध छाडेर माओवादी मूलधारको राजनीतिमा आयो। तर, पार्टीले आफ्नो धरातल र क्रान्तिलाई भुलेर गलत बाटोमा हिँडेको भन्दै जनयुद्धका धेरै योद्धाले एक एक गरी पार्टी छोडे।

    क्रान्तिको मोर्चा सम्हालेर हिँड्नेमध्येका तिनै कमान्डरमध्ये लोकेन्द्रले पनि पार्टी पतनको बिन्दुमा पुगेको भन्दै राजीनामा दिएर गाउँ फर्किए। सत्ता रसमा डुबेर आफ्नो मुद्‍दा र क्रान्तिमा सहयात्री कयौं योद्धालाई पार्टीले कौडीको भाउको महत्व नदिएको मगरको बुझाई छ।  

    पार्टीका लागि वर्षौँ पसिना बगाएका कारण लोकेन्द्रमा माओवादीप्रतिको प्रेम आज पनि उस्तै छ। जसले हिजो प्रति क्रान्ति हुनुहुँदैन भनेर  नेतृत्व गर्दै आयो। त्यही नेतृत्वको एक डफ्फा स्खलित भएको उनी ठहर्याउँछन्। उनीहरूसँग स्खलित हुन नसकेर आफू अलग्गिएको मगर बताउँछन्।

    'आफ्नो विचारबाट पर भागेको छैन। बरु जसले आफूलाई क्रान्तिकारीको नायक भन्थे,  उनीहरूले आफ्नो मुद्दा  स्थापित गर्न सकेनन्', उनले भने, 'आफ्नो वचन र नैतिकताबाट भागेका हुन्। म लगायत कयौं साथीहरू आज पनि जनयुद्धका क्रममा कायम नैतिकतामा अडिग छौं।'

    'हामीले आस्था र रास्ता भुलेका छैनौं। पार्टी छोडेर हिँड्नेहरू फिँजिएर एक्ला एक्ला भएका हौंला। डगमगाएका छैनौं,' उनले सुनाए। 

    कुनै बेला किसान, मजदुर महिला उत्पीडित तथा सीमान्तकृत अधिकार स्थापित हुनुपर्छ भन्दै होल टाइमर भएर युद्ध मोर्चामा होमिएका मगर अहिले आफैं फुल टाइम किसान भएका छन्। तत्कालीन नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री मगरको बुझाईमा राजनीति व्यवसाय हुँदै होइन, यो नाफाका लागि गरिँदैन, यो त सेवाका लागि गरिने हो।

    राजनीतिलाई समाजसेवा ठान्ने हो भने सक्रिय समय मात्रै राजनीति गर्ने भन्‍ने लाग्छ। क्रान्ति सही बाटोमा नगएपछि भ्रान्ति निम्तिने र यसले बदनाम हुने भएपछि आफूले त्यो बाटो त्यागेको उनले सुनाए। उनले राजनीतिबाट स्वैच्छिक अवकाश लिएको र सक्रिय राजनीतिको समयमा नै  उनले राजनीति छोड्नुको पाँच कारण पनि औंल्याएका छन्।

    पहिलो, अहिले राजनीति साह्रै फोहोरी भयो। घुस खोरीभ्रष्टाचारको नदीमा राजनीति डुबेको छ।

    दोस्रो, जनताले बुझ्ने हुनुपर्छ। तर, विडम्बना नेपालको राजनीति नेपाली जनताले बुझ्न नसक्ने गरेर जटिल बनाइयो। केही शासकले बुझ्ने, बाँकी सबै गुमराहमा राख्ने राजनीतिले गर्दा आफूलाई वितृष्णा लागेको उनी बताउँछन्। 

    तेस्रो, नेपाली राजनीति र अपराध बीचको फरक भेट्टाउन सकिँदैन। यो इमान्दार राजनीतिककर्मीका लागि सह्य हुन सक्दैन।

    चौथो,  राजनीति आजीवन ठेक्का पट्टा र व्यवसाय भयो। यो गलत छ। यो आवधिक हुन्छ। राजनीतिलाई निःस्वार्थ र निशुल्क रुपमा समाजसेवाको रुपमा लिनुपर्छ।

    पाँचौ, अहिले क्रान्तिलाई मूलबाटोमा पुर्‍याउने तत्कालीन माओवादीको नेतृत्व चुकेको छ। यो नेतृत्वबाट क्रान्ति स्थापित हुन नसक्ने उनले ठोकुवा गरे।

    नेपाली राजनीतिमा २०३७ सालदेखि लागेको व्यक्ति र लामो जेल भोगेर नेतृत्वमा पुगेको व्यक्तिले राजनीति फोहोर भयो भनेर भाग्ने कि सम्हाल्न लाग्‍ने त?, उनी भन्छन्, 'म भागेको होइन। म क्रान्तिको नयाँ बाटोमा छु। क्रान्ति राजनीतिक मात्र हुँदैन। सांस्कृतिक, सामाजिक तथा आर्थिक क्रान्ति पनि हो। यिनै क्रान्तिमध्येको एक कृषि क्रान्ति पनि एक हो।'

    राजनीति छोडेर माटोलाई माया

    उनी राजनीति छोडेर कृषि कर्ममा लागेका छन्, माटोसँग माया गाँसेका छन्। एक पटक मन्त्रीसमेत बनिसकेका व्यक्ति एकैपटक माटोसँग मितेरी गाँसेर बिहान बेलुका कोदालो चलाउनु नेपालमा अरूका लागि चकित बनाउने विषय नै हो। 

    एकातिर कम्युनिष्ट नेता आफ्नो धरातल भुलेर पुँजीपति बनेका छन्, अर्कातिर कम्युनिष्ट नेता लोकेन्द्र विष्ट मगर किसान बनेका छन्। मगरको यो कर्म तिनै पुँजीपति कम्युनिष्टको गालामा थप्पड बराबर हो। यो आश्चर्यबीच उनलाई कृषिमा लाग्दा कुनै पीडा भएको छैन, पछुतो छैन।

    'क्रान्ति गन्तव्यमा पुगेन। एउटा योद्धाले क्रान्तिलाई गन्तव्यमा पुर्‍याउन पूर्व नै यात्रा छोड्दा चाहिँ पिडा हुने गरेको छ। क्रान्ति सफल नहुनुका आंशिक रुपमा मेरा पनि कमजोरी होलान् तर मूल नेतृत्वलाई सच्याउन सक्ने एक्लो हैसियत भने मसँग भएन', उनी पीडाबोधसहित सुस्ताउँदै भन्छन्, ' नेतृत्व विशेषगरी प्रचण्डजीले आफूलाई  र क्रान्तिलाई बिचल्ली पारेर हिँड्नु भयो। उहाँहरूको नैतिक पतनको गिरोहबाट म मुक्त भएँ। राजनीतिमा नैतिकता  गुमाउने कुनै काम गरिनँ। अहिले जनता र राष्ट्रलाई घाटा नहुने गरी क्रान्तिको सानो मोर्चामा भाग लिन पाउँदा प्रफुल्लित छु।' 

    माटोको माया र ड्रागन खेती

    नेपालमा ड्रागन भित्रिएको १९ वर्ष हुन लागेको छ। तर, यसको व्यवसायिक खेती भएको तीन/चार वर्ष हुन लागेको छ। अहिले यो देशभर विस्तार हुँदैछ। पूर्वमन्त्री मगरले १५ वर्षदेखि ड्रागनबारे अध्ययन गर्दै आएका थिए। एक पटक उनी चीन भ्रमणमा गएका थिए। त्यहाँ उनले यो फल चाखेका रहेछन्।

    फल त चाखे तर नाम भने पत्ता लगाउन सकेनन्। नेताको हैसियतमा चीन घुम्न गएका उनले नेपाल फर्किएपछि त्यो फल चिने। र, अहिले त्यसैको खेतीमा जुटेका छन्। दाङमा दुईजना साथीसँग मिलेर उनले थालेको खेतीले रंग ल्याउन थालेको छ।

    १५ वर्षका लागि ६६ कठ्ठा जमिन भाडामा लिएर अहिले उनी माटोसँग मितेरी लाइरहेका छन्। उनले विरुवा लगाएको १४ महिना भयो। पहिलो सिजनको फल बजार पुगिसकेको छ। दोस्रो चरणको फल साउनसम्म टिपिसक्ने उनले बताए।  यो फल पोषणयुक्त भएकाले मानवका लागि अति उपयोगी मानिन्छ। साथै औषधिका लागि प्रयोग हुने उनैले सुनाए। 

    संसारभरिका उत्कृष्ट २० फलफूलमध्ये  ड्रागन फल एक मानिन्छ। यो हरेक मान्छेको रोजी र खोजीमा पर्छ। बेरोजगार युवाका लागि देशमै केही गर्न सकिने सन्देश दिन र कृषिमा नयाँ प्रयोग गर्न यो फलतिर आकर्षित भएको उनले सुनाए।  कुपोषित र कमजोर शारीरिक क्षमताका नेपालीहरूको जीवनमा टेवा  पुग्ला यत होमिएको उनले थपे। यसका साथै आर्थिक र सामाजिक  क्रान्तिको सानो अंशको रुपमा यसलाई प्रयोग गरेको विष्ट बताउँछन्। 

    हाल उनको फर्ममा पूरा समय काम गर्ने कर्मचारी छैनन्। चाहिएको बेला दैनिक ज्यालादारी कामदार बोलाउने गरिएको उनी बताउँछन्। धेरैजसो काम भने उनी आफैले गर्छन्। 'आफैं मालिक, आफैं मजदुर', उनले थपे, 'ड्रागन फल बिउभन्दा बिरुवा रोपेर हुर्काउनुपर्छ। यसलाई कलमी गरेर विरुवा उत्पादन हुने गर्छ।' 

    किसानलाई समस्या

    ड्रागन फलको विरुवाले राम्रो स्याहार पायो भने २५ वर्षसम्म फल दिने गर्छ। साधारणतया १० देखि १५ वर्षसम्म त यसले कृषकलाई आम्दानी दिइरहन्छ।

    उत्पादन भए पनि बजारको व्यवस्थापन नेपाली किसानका लागि प्रमुख टाउको दुखाई हो। नेपाली बजारमा अहिले पाइने ड्रागन फल विदेशबाट आयात हुने गरेको छ। नेपाली बजारमा १० प्रतिशत मात्रै यहाँको उत्पादनले धानेको छ। भियतनाम, मलेसिया र थाइल्याण्डबाट नेपाली बजारमा आउने गरेको छ। यसको मुख्य उत्पति क्षेत्र भने मेक्सिको हो। 

    किसानहरूले बोटबाट नै केजीको ७ सयदेखि एक हजारसम्म बिक्री गरेका छन्। यो तीन प्रजातिको हुने गर्छ। बाहिरी रातो भित्र सेतो, बाहिर रातो र भित्र पनि रातो, बाहिर पहेँलो र भित्र सेतो हुने गर्छ। 

    पूर्वमन्त्री विष्टको बारीमा यो सिजनमा ३ क्विन्टल ड्रागन फल उत्पादन भयो। यो फल दाङ आसपासमै बिक्री भयो। 'यसको माग उच्च  छ तर सीमित उत्पादन। त्यसले गर्दा बजारको मागलाई  धान्न सकिएन', उनले भने, 'दोस्रो लटमा ७ क्विन्टल उत्पादन हुनेमा आशावादी छु।' 

    कृषि क्रान्ति गर्न किसान चिन 

    नेपालमा कृषि क्रान्तिको नीतिगत अवधारणा पार्टी र सरकारले ल्याउने हो। नेपालको भू-संरक्षण र संरचना, भूमि अध्ययन गर्ने हो। भूमिको हदबन्दी बाँधेर भूमि  सुधार गर्ने हो। यसमा दुई कुरा छन्। एक वैज्ञानिक भूमिसुधार र अर्को क्रान्तिकारी भूमिसुधार। तर दुईतिहाइको सरकारले वैज्ञानिक अथवा प्रगतिशील भूमिसुधार पनि गर्न नसकिने अवस्था छ।

    विष्टको अनुभवले भन्छ, नेपालको भू-धरातललाई विश्लेषण गरेर हिमाल पहाड तराई र भित्री-मधेसलाई हेरेर यहाँ के-के उत्पादन हुन्छ भनेर वैज्ञानिक विधि अपनाउनु आवश्यक छ। सिँचाइ र बिउ बिजन व्यवस्थापन गर्न जरुरी छ। सबैभन्दा ठूलो कुरा त कृषिलाई यान्त्रीकरण नगरी विकास सम्भव छैन। तालिम प्रशिक्षणको कुरा हुनुपर्छ। नेपाली युवाहरूलाई विश्वमा कृषी क्रान्ति गरिरहेका देशमा उच्चतम भ्रमण गराउन जरुरी छ। सस्तो तथा बिनाधितो ऋण दिने व्यवस्था हुनुपर्छ।  ऋण दिएपश्चात् किसानलाई तिर्ने भरपर्दो मेकानिजम सरकारले निर्माण गर्न जरुरी छ। 

    जसले कहिल्यै माटो छुँदैन, उसले राज्यको अनुदान र ऋण पाइरहेको छ। नातावाद र कृपावादमा आधारमा सहुलियत दिने गरिएको छ। जसले फाइल र मन्त्रालयको कोठा कोठामा खेती गर्छन्, उनीहरूले मात्र अनुदान पाइरहेका छन्। यो अनुदानको रकम निषेध गरिनुपर्ने विष्ट बताउँछन्। नेपालमा परम्परागत खेतीका बिउ बिजनको संरक्षण गरिनुपर्छ भने विदेशबाट पनि उत्कृष्ट अन्न तरकारी र फलफूलको आयातित गरी नेपालमा गुणात्मक ढङ्गले बजारीकरण गर्न जरुरी छ। 

    ड्रागनको विरुवा बाँड्छौं

    मगरले  नेपालमा आएको पहिलो बिउ भियतनामबाट आएको बताउँछन्। सन् २००२ मे मा डा जगन्‍नाथ राईलाई उनको अमेरिकी साथीले उपहार दिएका थिए। त्यो भन्दा पहिलो राजा र राणाहरूले पनि नेपालमा ड्रागन फल भित्र्याएको पाइन्छ।

    रातो, सेतो र पहेँलो तिनै किसिमको फललाई नेपालमा विस्तार गर्ने उनले बताए। यो हावापानीको हिसाबले उष्णप्रदेशीय क्षेत्रमा यसको उत्पादन राम्रो मानिन्छ। आम किसानहरूले यो कृषि अपनाउने हो भने आफूहरूले विरुवा उपलब्ध गराउने, अनुभव बाँड्ने,  विधि सिकाउन पनि चाहेको पनि उनले बताए। 

    अहिले आफ्नो सम्पर्कबाट १५ हजार विरुवा कृषकहरुलाई उपलब्ध गराउन सक्ने उनी बताउँछन्। लगानी नभएकोले सीमित जग्गामा खुम्चनु परेकोमा उनलाई चित्त बुझेको छैन। निकट भविष्यमा २५ हजार बिघामा यो फल लगाउने योजना सुनाउँदा उनी खुसीले मुस्कुराए। 

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]