थाहा संवाद

'नागरिक गैरजिम्मेवार बनेका कारण पनि नेपालमा कोरोना फैलँदैछ'

असार ८, २०७७

    काठमाडौं : नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार नाघिसकेको छ। बितेका चार महिनामा देशभित्र कोरोनाबाट २३ जनाले ज्यान गुमाएका छन्‌। लकडाउनको पूर्णपालना नगर्दा संक्रमितको संख्या बढिरहेको र अवस्था थप खराब हुन नदिन सर्वसाधारण सचेत हुनुपर्ने विज्ञ/विशेषज्ञहरूले बताइरहेका छन्‌।

    अनुसन्धानकर्ता तथा जनस्वास्थ्यविद् डा.समीरमणि दीक्षित पनि कोरोना रोकथाम र नियन्त्रणका लागि लगातार सरकारको ध्यानाकर्षण गराउने मध्येका एकजना हुन्‌। उनी पनि यो महामारीमा नागरिक स्तरबाट पर्याप्त जिम्मेवारीपन नदेखाइएको र लकडाउनको पालना नभएको महशुस गर्छन्‌। संक्रमण तीव्र गतिमा फैलिरहेका बेला यसबाट थप क्षति हुन नदिन सरकार र नागरिकले के गर्ने त? यसबारे अनुसन्धानकर्ता तथा जनस्वास्थ्यविद् डा. दीक्षितसँग थाहाखबरकर्मी राजु पौडेलले गरेको कुराकानी :

    नेपालमा समुदाय स्तरमै कोरोना महामारी फैलिसकेको हो?

    यतिखेर विज्ञहरूबाट आ-आफ्नै धारणा आइरहेको छ। हामीले अनुमानभन्दा पनि तथ्यमा टेकेर बोल्नुपर्छ। मलाई पनि कोरोना समुदायमा फैलिएको शंका लागेको छ। तर, तथ्यांक हेर्ने हो भने त्यसलाई पुष्टी गर्न सकिँदैन। अहिले भइरहेको परीक्षण दायरालाई मध्येनजर गर्ने हो भने हालसम्म यहाँ भेटिएका अधिकांश संक्रमितहरू भारतबाट आएको पाइएको छ।

    ती व्यक्तिहरूको नजिकमा रहेका अरुलाई पनि संक्रमण सरेको देखिन्छ। तर, एक-अर्को व्यक्तिबाट समुदायस्तरमै कोरोना फैलिरहेको विश्वसनीय आधार अहिलेसम्म भेटिएको छैन, अहिलेसम्मको अवस्था हेर्दा त्यो पुष्टि गर्न पनि सकिँदैन। तर समुदायस्तरमा महामारी फैलिरहेको शंका गर्ने आधार चाहिँ छन्‌। 

    त्यसरी शंका गर्ने आधार के-के हुन?

    कतिजना संक्रमितहरू आफू बसेको ठाउँबाट अन्यत्र नगएको भन्नेहरू पनि छन्। हेर्दै गयौं भने संक्रमित संख्या ८ हजार पुगिसक्दा सबै विदेशबाट मात्र आएकालाई परीक्षण गरेर पत्ता लागेको हो नि ! उनीहरू घर पुगेका छन्। परिवारसँग भौतिक सामिप्यता हुनै नै भयो।  सामान्य हिसाबले पनि एकजना संक्रमितबाट तीन जनासम्ममा संक्रमण फैलने भनिएको छ। अब यहाँनेर त्यही आधारमा हामी भन्न सक्छौं कि प्रवासबाट आएका संक्रमितका कारण समुदायस्तरमा कोरोना संक्रमण फैलियो। 

    सरकारले अहिलेसम्म व्यापकस्तरमा परीक्षण गर्न सकेको छैन। यसको उल्टो : भ्रष्टाचार चाहिँ व्यापक भइरहेको छ। र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरटिडी) मा मस्त देखिएको छ। बनाइएका क्वारेन्टाइनहरू रोग सार्ने नर्सरी जस्तो भएको छ। राज्यले विज्ञको सुझावलाई नै गम्भीर रुपमा लिइरहेको छैन। राजनीतिक धरातलभन्दा बाहिर निस्कनै सकेन।

    सीमाबाट परीक्षण नै नगरी मानिसहरू आएका छन्‌, सरासर गाउँघर र परिवारको सम्पर्कमा पुगेका छन्‌, यस्तो अवस्थामा समाजमा कोरोना छिरेको छैन भन्ने पत्याउन एकदम गाह्रो हुन्छ। अर्को कुरा : परीक्षण समाजसम्म पुग्न पाएको छैन। समाजमा परीक्षण नगरेपछि संक्रमित भेटिँदैन। समुदायमै संक्रमित नभेटेसम्म अनुमानको भरमा त्यहाँ फैलिएको छ भन्न सकिँदैन।

    लकडाउन कार्यान्वयन गरियो, तर संक्रमित संख्या दिनानुदिन थपिइरहेको छ। यस्तो अवस्था निम्तनुमा सरकारको तदारुकता र लकडाउनको प्रभावकारिता नदेखिनु हो?

    सरकारको कामगराई त खत्तम देखिरहेको छु। अहिलेसम्म व्यापकस्तरमा परीक्षण गर्न सकेको छैन। यसको उल्टो : भ्रष्टाचार चाहिँ व्यापक भइरहेको छ। सरकार र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरटिडी) मा मस्त देखिएको छ। बनाइएका क्वारेन्टाइनहरू रोग सार्ने नर्सरी जस्तो भएको छ। राज्यले विज्ञको सुझावलाई नै गम्भीर रुपमा लिइरहेको छैन। राजनीतिक धरातलभन्दा बाहिर निस्कनै सकेन।

    सरकार सफल-असफल भयो भन्दा पनि यो संक्रमण रोकिनेवाला नै थिएन। क्षति कम गर्न पर्याप्त पूर्वतयारी हुनुपर्थ्यो र अहिले पनि आवश्यक स्वास्थ्य पूर्वाधारदेखि पूर्ण व्यवस्थापन जरुरी छ। न्युजिल्यान्डकै उदाहरण हेरौं : केही दिन नयाँ संक्रमित नभेटिएपछि कोरोनामुक्त भएको घोषणा गरियो। तर केही दिनपछि फेरि संक्रमितहरू फेला पर्न थाले। चीनमा पनि रोकियो भनिएकै हो, तर राजधानी बेइजिङमै केही दिनयता ठूलो संख्यामा संक्रमित भेटिइन थालेका छन्‌। 

    त्यसैले, सरकारले संक्रमण ठप्पै हुने गरी रोक्न सकेन भन्नु जायज होइन। यो संक्रमण रोकेर रोकिने वाला नै होइन। तर सरकारले रोकथामका लागि प्रभावकारी काम गरेको भए संक्रमण फैलावटलाई केही कम गर्न सकिन्थ्यो। यसबीचमा लकडाउन गरेर नियन्त्रणमा लिन खोजिएको पनि हो।

    तर नागरिकहरूले लकडाउनको पालना नै गरेनन्। यो संक्रमणमा नागरिकले पनि जिम्मेवारी लिनुपर्छ। लकडाउन पालना गरिदिएको भए आज संक्रमित संख्या ८ हजार पुग्ने थिएन। त्यसको आधाआधी अर्थात ४ हजारभन्दा पनि कम संक्रमित मात्र भेटिइन्थे भन्ने मेरो आंकलन हो। 

    भाइरसको प्रकृति र दैनन्दिन जीवनयापन नियाल्दा नागरिकबाट गल्ती भएकै भन्ने तपाईंको ठम्याई हो?

    कोरोना नियन्त्रणमा सरकार ७० प्रतिशत चुक्यो होला। तर, कोरोना फैलाउन नागरिकको हात ठूलो छ। उनीहरू पनि यसका भागिदार हुन्।

    सरकारले लकडाउन गर्दा नागरिकले पनि मान्नुपर्थ्यो। अहिले लकडाउन खुकुलो गर्दा एउटा सामान्य मास्क लगाउने र दुरी कायम त गर्न सकिन्छ नि! तर अहिले पनि देशभर मास्क लगाउनेको संख्या निकै कम छ। त्यसैले महामारी फैलनुमा हामी पनि दोषी हौं।

    तर यसमा सरकार नै बढी जिम्मेवार छ। ​पूर्वतयारीदेखि कार्यसम्पादनसम्ममा सरकारको फितलोपनले संक्रमण फैलन निकै मद्दत गरेको हो। ​

    संक्रमण थप फैलन नदिन सरकारले कस्तो कदम चाल्दा प्रभावकारी होला?

    अब 'कोरोना रोक्छु' भनेर रोक्न सक्दैनौं। किनभने ढिला भइसकेको छ। सकेसम्म बढी परीक्षण गरेर बिरामीलाई आइसोलेसनमा राख्ने नै हो।

    परीक्षणको नतिजा नेगेटिभ आएकालाई काममा फर्काउने हो। दुरी कायम गर्ने, मास्क, पञ्जा लगाउने र भीडभाड गर्न नदिनु नै अहिलेको अवस्थामा उचित हो। 

    हरेक दिन २०० देखि ६०० हाराहारीमा संक्रमित थपिएका छन्‌, नेपालमा भइरहेको परीक्षणमै गडबडी त होइन?

    परीक्षणमा गडबडी छ। परीक्षणको दायरा बढाउनुपर्छ। राज्यले निजीलाई दिन नसक्ने, आफूले परीक्षण गर्न पनि नसक्ने भइरहेको छ। अहिले ४० हजार स्वाब परीक्षण गर्न बाँकी नै छ भन्ने सुनिरहेको छु। त्यो स्वाब बिग्रेर पुरानो भए वास्तविक नतिजा आउँदैन। 

    स्वाब लिएको कति समयसम्म परीक्षण गर्नुपर्छ?

    ४ प्रतिशत सेल्सियस भन्दा कम तापक्रममा स्वाब राख्ने हो भने एक हप्तासम्म बिग्रने चान्स कम हुन्छ। नत्र भने बाहिरी तापक्रममा राख्ने हो भने बढीमा ४८ घण्टामा बिग्रिन्छ। स्वाबलाई जति सकिन्छ छिटो परीक्षण गरेर नतिजा निकाल्नुपर्छ।

    महामारीकै बीच सरकारका विरुद्ध सडक आन्दोलन पनि भयो, जोखिमका बेला यस्तो आन्दोलन उचित हो?

    राज्यले गरेको गल्तीमाथि आवाज उठाउनु स्वभाविक हो। आन्दोलन आफैँमा गलत नहोला। तर, युवाहरूमा जोश बढी नै भयो। जोशमा होस गुमेको छ।

    अनुशासनमा बसेर आन्दोलन गर्न सकिँदैन भने घरमा बस्नु नै उचित हो। देशभर आन्दोलनको लहर चलेको छ। देशभर संक्रमण फैलियो भने प्रदर्शनमा आएका युवाहरूले आफ्नो गल्ती स्विकार्नुपर्छ।

    सडक आन्दोलन अहिलेको अवस्थामा उचित थिएन। भीडभाड गर्नु नै गलत हो। आन्दोलनमा सामाजिक दुरी पनि कायम भएको देखिएन। 

    प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार, अदुवा र लसुन सेवनले रोगसँग लड्न प्रतिरोधी क्षमता बढ्नसक्छ भन्नुभएको छ। उहाँको तर्कलाई मान्छेहरूले मजाक मानिरहेका छन्। आखिर सत्य के हो?

    विज्ञानले कोरोनासँग लड्न अदुवा,बेसार र लसुन राम्रो पनि छ भन्दैन। नराम्रो पनि भन्दैन। यो नयाँ भाइरसबारे पूर्ण विज्ञता हासिल गरेका मानिस कमै छन्‌। जब औषधी नै बनेको छैन भने प्रधानमन्त्रीले यसरी नबोलिदिए हुने भन्ने अनुरोध हो। जुन कुरा प्रमाणित गर्न तथ्यहरू छैन भने पदीय मर्यादामा बसेको व्यक्तिले लगातार यस्तो रटान लगाउनु उचित होइन। 

    कतिपय कोरोना लागेर निको भएका व्यक्तिले लसुन बेसार तातोपानी खाएको बताइरहेका छन्‌, के प्रधानमन्त्री सत्यको नजिक हुनुहुन्छ?

    यो रोग संसारमा ८५ प्रतिशत र नेपालमा ९८ प्रतिशत प्रतिरोधात्मक चिजले निको हुने हो। यसका लागि कुनै औषधी नै छैन।

    जो-जो निको भएर यी सब भनिरहनु भएको छ : उहाँहरूले आइसोलेसनमा बस्दा जुस, नुन, चना, भात, दाल, गोलभेँडाको अचार खानुभयो होला। ती सबै खाएर निको भएको हुँ भन्नुपर्‍यो। प्रतिरोधात्मक शक्ति बलियो बनाउन के-के चाहिन्छ भन्ने कुरा आजसम्म कहिँकतै पुष्टी भएको छैन।

    ४ महिनाभित्र नेपालमा २२ जना संक्रमितले ज्यान गुमाए, अन्य रोगबाट ज्यान गुमाउने संख्या पनि उच्च छ, कतै हामीले यो भाइरसलाई लिएर बढी नै त्रास त फैलाइरहेका त छैनौँ?

    दीर्घरोगी र ७० वर्ष उमेर काटेका केही व्यक्तिहरूमा यसको संक्रमण उच्च छ। यो भाइरस लागेका ९८ प्रतिशतलाई केही हुँदैन। बाँकी २ प्रतिशतका लागि केही जोखिम छ। यो रोगलाई जसरी भयावह भनेर चित्रण गरिएको छ : यो आफैँमा गलत छ। ​

    चार महिनामा क्षयरोगबाट दैनिक २ जनाको अनुपात हेर्ने हो भने २४० जनाको मृत्यु भइसकेको छ। क्यान्सरबाट पनि यो अवधिमा २०० जनाको मृत्यु भएको छ। लगभग एक हजार २०० जनाले आत्महत्या गरिसकेका छन्। मातृशिशु मृत्यु नै २०० हाराहारीमा पुगेको छ। यिनीहरूको तुलनामा कोरोना केही पनि होइन।  

    यहाँ कतिपय विज्ञले कोरोनाको स्थिति भयावह हुने बताइरहेका छन्‌, तपाईंले कसरी आंकलन गरिरहनुभएको छ?

    यहाँ केही कथित विज्ञहरू हुनुहुन्छ : जसले निरन्तर भयावह स्थिति आउँदैछ भनेर गलत कुरा सञ्चारमाध्यमबाट फैलाइ रहनुभएको छ। यो भयावह रोग हुँदै होइन। दीर्घकालिन रोग भएका व्यक्तिका लागि अलि बढी जोखिमपूर्ण हो।

    सामान्य अन्य व्यक्तिलाई केहीपनि हुँदैन। कतिलाई त लागेर निको पनि भइसकेको पनि हुनसक्छ। मान्छेलाई मानसिक त्रास दिने काम बन्द गरौं। अचेल कोरोना स्वासप्रश्वाससम्बन्धी भन्दा पनि मानसिक त्रासको रोग बन्न थालेको छ। 

    कोरोनाको बढ्दो संक्रमण घट्ने सम्भावना कतिको देख्नुहुन्छ?

    संसारभर हेर्ने हो भने चौथो महिना पश्चात् लगातार कोरोना संक्रमण घट्न थालेको छ। नेपालमा पनि यो चौथो महिनाको अवधि हो। यो अवधिमा संक्रमण उच्च हुन थाल्छ। अब साउनदेखि संक्रमण बिस्तारै घट्न थाल्नेछ।

राजु पौडेल

पत्रकार पौडेल थाहा खबरमा कार्यरत छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]